सागर केरुङ निर्देशित फिल्म “के” हङ्कङमा प्रदर्शन हुँदै

प्रकाशित मिति : आइतवार, असार २९, २०७६

लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म, आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६ मा उत्कृष्ट अवार्ड जितेको फिल्म “के” हङ्कङमा प्रदर्शन हुँदैछ ।  यही १४ जुलाई अर्थात आइतबार हङकङको जोर्डनस्थित याउ मा तेई कम्युनिटी हालमा ‘केः’को विशेष प्रदर्शन हुन लागेको हो ।

फिल्म प्रदर्शनका लागि उक्त फिल्मकी अभिनेत्री बबिता फोम्बो, याक्थुङ हाक्पारे पालम सयङकी अध्यक्ष रुपा आङबुहाङलगायतका टोली हङकङ पुगिसकेका छन् । हालै काठमाडौंमा सम्पन्न ‘आदिवासी जनजाती फिल्म फेस्टिवल-२०७६’ ‘उत्कृष्ट फिल्म’को अवार्ड पाएको यस फिल्मलाई फोम्बो परिवार हङकङले त्यहाँ प्रदर्शन गर्न लागेको हो ।

सागर केरुङ निर्देशित फिल्म ‘केः’मा लिम्बू समुदायको सांस्कृति बाजा ‘केः’ अर्थात च्याबु्रङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ । निर्देशक केरुङकै लेखक रहेको यो फिल्म याक्थुङ फिल्मस प्रा.लि.को लागि टाइसन केरुङले निर्माण गरेका हुन् । फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ । फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।