उपत्यकामा १७ ठाउँबाट मसाल जुलुस निकालिदै

प्रकाशित मिति : आइतवार, असार २९, २०७६

काठमाडौं । साउन २ र १० गते नेपाल बन्द गर्ने घोषणा सहित लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको आरक्षण बचाऔ आन्दोलनले आज आइतबार काठमाडौं उपत्यकामा १७ ठाउँभन्दा बढी स्थानबाट एकसाथ मसाल जुलुस निकाल्ने तयारी गरेको छ ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, महिला तथा अपाङ्गता भएका नागरिकहरुले संयुक्त आन्दोलनअनुरुप मसाल जुलुस निकाल्दैछन् भने यही असार ३१ गते माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्ने र साउन २ र १० गते नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

मसाज लुलुस साँझ साढे ५ बजे निकालिने छ । प्रहरीले हस्तक्षेप गर्न सक्ने भएपछि उनीहरुले अलग–अलग स्थानबाट एकैसाथ मसाल जुलुस निकाल्ने तयारी गरेका हुन् ।

लोकसेवाको विज्ञापन संविधान, समानुपातिक समावेशी विपरीत रहेको भन्दै विज्ञापन रद्द गरी सच्याएर पुनः विज्ञापन गर्नुपर्ने उनीहरुको माग छ । लोकसेवा आयोगले गत जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि एकैचोटि ९ हजार भन्दाबढी कर्मचारीको विज्ञापन निकालेको थियो ।

सो लगत्तै उत्पीडित समुदायका संस्थाहरुले आन्दोलन थालेका हुन् । ‘असंवैधानिक विज्ञापन’ भन्दै उक्त विज्ञापन रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिए पनि सर्वोच्चले विज्ञापन रोक्न नहुने निर्णय गरेको थियो ।

सोपछि विज्ञापन अघि बढाउन सरकारलाई बाटो खुला त भएको छ । तर सरकारले हालसम्म प्रक्रिया अगाडि बढाएको छैन ।
यसबिचमा आरक्षण बचाऔ आन्दोलनले प्रमुख राजनीतिक दलका नेता र सरोकारवालाहरुसँग भेटेर ज्ञापन–पत्र बुझाउने, माइतीघर मण्डलामा धर्ना दिने, सडक प्रदर्शन गर्ने लगायतका आन्दोलन गरिसकेको छ ।