राष्ट्रपति“ट्रम्पमाथि महाअभियोग लगाइनुपर्छ ।” : महिला सांसद

प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका छन् ।  विभिन्न राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने अमेरिकी महिला सांसदहरूलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई आफ्नो घर फर्किनसक्ने भनी ट्वीटरमार्फत आलोचना गरेका थिए ।

राष्ट्रपति ट्रम्पको भनाई अमेरिकी संसद कङ्ग्रेस मा प्रतिनिधित्व गर्ने सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले र इल्हान ओमरलाई सङ्केत गरी आएको सञ्चारमाध्यमहरूले लेखेका छन् । ट्वीटमा ती सांसदको नाम भने उल्लेख गरिएको छैन ।

कोर्टेज, तलाइब, प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् भने सांसद ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेका थिए । राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए । प्रगतिशील धार लिवरल डेमोक्रेट्सका ती चार महिला सांसदसँग सभामुख पेलोसीको सीमासुरक्षासम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको र यसलाई सञ्चारमाध्यममा व्यापकता पाएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् ।

यस सन्दर्भलाई लिएर सोमबार अमेरिकी डेमोक्रेट्स पार्टीका नेताहरू, बेलायती प्रधानमन्त्री टरिजा मेलगायतले अमेरिकी राष्ट्रपतिको सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । यसैबीच अमेरिकी कङ्ग्रेसका सभामुख पेलोसीले ट्वीटबाटै ट्रम्पको धारणा भेदभावपूर्ण भएको टिप्पणी गरेका छन् । उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै ट्रम्पको भनाईलाई खण्डन गरेका हुन् ।

संसद्मा मिशिगनको प्रतिनिधित्व गर्ने तलाइब, नेता बर्नी स्यान्डर्सलगयतले ट्रम्प जातिवादी भएको आरोप लगाएका छन् । “न्याय र सबैको सम्मानका लागि हामी सबै सँगै उभिनुपर्छ,” स्यान्डर्सले लेखेका छन् । त्यस्तै, तलाइबले भनेकी छन् , “ट्रम्पमाथि महाअभियोग नै लगाइनुपर्छ ।”

अमेरिकी नेताहरूको भनाइप्रति सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले ट्वीटरबाटै डेमोक्रेट्स नेताहरूले मातृभूमिबारे नराम्रो कुरा गर्ने समूह वा व्यक्तिलाई समर्थन गर्नु दुःखद भएको टिप्पणी गरेका छन् ।