फेरी लोक सेवा अगाडि प्रदर्शन, के हुन्छ भोलीको परिक्षा ?

प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

आज फेरी स्थानीय तह विज्ञापन परीक्षाको अघिल्लो दिन लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गरिएको छ । आदीवासी जनजाती महासंघ लगायतका विभिन्न संघ सस्थाले आयोग कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । ‘आरक्षण बचाउ आन्दोलन’ को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेपछि केहीबेर सवारी आवागमनसमेत प्रभावित भएको थियो । प्रदर्शनले तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ ।

लोक सेवा आयोगले गत असारमा स्थानीय तहका विभिन्न पदमा ९ हजार १ सय ३१ कर्मचारीको लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातीहरुले खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले विज्ञापनलाई यही वैधानिकता दिने निर्णय गरेपछि अब परीक्षामा कुनै बाधा नहुने भएको हो।

स्थानीय तह अन्तर्गत खोलिएको विज्ञापनको भोलि शुक्रबार पहिलो चरणको परीक्षा हुँदैछ ।