विश्वकप दोस्रो चरणको छनोट : नेपाल सीधै दोस्रो चरणमा

प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

कतारमा आयोजना हुने २२ औं संस्करणको विश्वकपका लागि एसिया क्षेत्रको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालसँगै समूह ‘बी’ मा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । बुधबार सार्वजनिक ड्र अनुसार दोस्रो चरणको छनोट सेप्टेम्बर ५ बाट २०२० जुन ९ सम्म हुनेछ । नेपालले ४ खेल अवे र ४ खेल घरेलु मैदानमा खेल्नेछ ।

दोस्रो चरणको छनोटमा एसियाका ४० टोलीले आफ्नो समूहमा रहेका टोलीसँग होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन् । एसियाका ४० टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । जहाँ प्रत्येक समूहमा समान ५ टोलीको सहभागिता रहनेछ ।

दोस्रो चरणको छनोटबाट ८ समूहका समूहविजेता र ४ उत्कृष्ट उपविजेता टोली गरी कुल १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउनुका साथै सोझै एसिया कपमा समेत प्रवेश पाउनेछन् । त्यस्तै समूहचरणमा प्रतिस्पर्धा गरेका मध्ये १२ टोलीबाहेकका उत्कृष्ट २४ मा पर्ने टोलीहरू भने चीनमा हुने एसियन कपको छनोट खेल्नेछन् । फिफा वरीयताको आधारमा मलेसियाभन्दा एक स्थान माथि अर्थात् नेपाल एफसी वरीयताको शीर्ष ३४ भित्र रहेकाले नेपालले सीधै दोस्रो चरणमा खेल्ने मौका पाएको हो ।

सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले एफसीको वरीयतामा शीर्ष ३४ भित्र अटाउँदा पहिलो पटक सीधै दोस्रो चरण खेल्ने पाएको हो । नेपालले यसअघि सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो । २०११ मा भएको पहिलो चरणको छनोट खेलमा नेपालले जुन २९ मा टिमोर लेस्टे लाई पहिलो लेगमा २–१ ले र दोस्रो लेगमा ५–० ले पराजित गर्दा दोस्रो चरण प्रवेश गरेको थियो । दोस्रो चरणको खेलमा भने नेपालले जोर्डनलाई समग्रमा १०–१ को नतिजा सुम्पिएको थियो ।

नागरिक दैनिकबाट