मेरो साहित्यिक गुरु राजेन्द्र परदेशी : धर्मेन्द्र नेम्बाङ 

साहित्य / धर्मेन्द्र नेम्बाङ  प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

धर्मेन्द्र नेम्बाङ 
काठमाण्डौमा भर्खरै मेरो कविता पुस्तक ‘मैले बोल्दा देशको नक्शा हल्लिन्छको सार्बजनिकिकरण सकिएको थियो । युद्ध साहित्यकार मित्र काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’ कथा पुस्तक अल्लि अघि पढिसके पनि ह्याङ ओभरले दिमाग हल्लाउन छोडेको थिएन । सोही तापक्रममा ताल्छिखेलको कुखुरी काँ रेष्टुरेन्टमा कवि प्रकाश गुरागाईको ‘खुट्टामा श्रीपेच’ कविता पुस्तक पढदै थिए । साथमा थियो कवि बच्चु हिमांशु । भाई गौरब नेम्बाङ (छोरा राजेन्द्र परदेशी) आइपुगेर ‘निकै अबेला भयो, अब पनि नआए त नपर्खिने है दाजु’ भनेर लागेपछि आत्तिएर काका विषयक सम्झनाको लेख तयार पारे । पहिलादेखि भन्दै आएको सम्पादनमा काम गर्दै रहेका कवि प्रेम ओझा, भाई एन.बी.अन्जान थाकेर गौरव भाईको सहारा लिएको होला जस्तो लाग्यो ।

साहित्यमा राजेन्द्र परदेशी, नागरिकतामा राजेन्द्र नेम्बाङ (२०१५/११/२७, २०६७/०६/०८) ११ भाइ मध्ये अन्तरे, मेरो काका अन्तरे) स्कुलमा अन्तरे सर । उहाँको यति विविध विषयको समग्र कुरा ल्याउन कठिन हुन्छ । धेरै पाटाहरू छन् उहाँको । यहि मौकामा पारिवारिक पृष्ठभूमिमा छिरेको छु । धेरै ठुलो जन्जालमा । यो कुराहरू लेखिहाल्ने समय भयो कि छैन मलाई थाहा छैन । तर परदेशी विषयक स्मृति ग्रन्थमा म आफुपनि छुट्टिनु हुन्न । उहाँ मैले आदर गरेको अभिभावक हो लाग्दा लाग्दै पनि लेखनको चाँजोपाँजो मिल्न निकै कुर्नु पर्‍यो ।

तपाइहरूलाई थाहै होला । जनसंख्याको दृष्टिकोणले मेरो बाजे नरबीर नेम्बाङ ( वि.स.१९८०–२०६३, नागरिकतामा नयेन्द्रराज चिरपरिचित नाउँ नरबीर भएकोले मैले यहाँ नरबीर चलाएको छु)को परिवार सम्भवत पुर्व लिम्बूवानतिरकै ठूलो परिवार होला । बाजेको जायजन्म भएको ७ श्रीमती (बोजु)हरू बाट छोरा एघार (११) छोरी एघार(११) गरी बाइस (२२)जना शकुशल र जम्मा थियो तीस(३०)जनाको परिवार ।

बाजेहरु क्रमश: नरबहादुर-खडगबहादुर-नरबीर नेम्बाङ

मैले यहाँ कुरा गर्न लागेको मेरो सुबाजे सुब्बा मनप्रसाद (हर्कबोली) नेम्बाङ(वि.स.१९३२–१९९६)को नाति, बाजे नरबीर(नयेन्द्रराज)को पाँचौ छोरा साविक पौवासारताप वडा नं. ३ हालको फाल्गुनन्द गापा ३ पौवा गाउँ निवासी मेरो काका स्व. राजेन्द्र नेम्बाङको हो । नेपाली साहित्यमा कविता, नाटक, निवन्ध, राजनीतिक लेख लेख्नु भएका ‘उहाँको भोक लागेपछि रुखपनि हिड्छ’ कविता संग्रह प्रकाशित छ । मुलत उहाँले माक्र्सवादलाई नेपाली भुमीको एक असल प्रयोक्ता भएर जीवन समर्पण गर्नु भयो भन्ने कुरामा दुइमत छैन ।

उहाँ गुरु अथवा अन्तरे सर
मैले प्राथमिक कक्षा पौवा सारताप १ स्थित पदम कन्या प्राविमा पढेको हुँ । सो स्कुल नरबीर बाजेले नै स्थापित गर्नु भएको हो । उसो त तीनै बाजेहरू (४ जनामा जेठा बाजेको बाल्यकालमै मृत्यु भएको) माइला नरबहादुर (वि.स.१९६९–२०२३), साइला खड्गबहादुर (डबल सुब्बा (वि.स.१९७१–२०३८), नरबीर नेम्बाङले पौवा सारतापकै वडा न: ६ स्थित सारताप डाँडामा वि.सं. २००६ सालमा मिडिल मनरत्न विद्यालय शुरु गरेका थिए । राणा कालिन समयमा मनरत्न मिडिल स्कुल भनेर जुजु बाजेको नाउँमा स्थापित पछि पञ्चायतमा श्री सारताप माविमा परिणत भयो ।

मैले पदम कन्या प्राविमा कखरा सिके । सोही स्कुलमा पढाउनु हुन्थ्यो राजेन्द्र काका । उहाँलाई गाउँघरमा सबैले अन्तरे सर भन्थे । हामी पनि अन्तरे सर नै पुकाथ्र्यौ । उहाँ मेरो प्राथमिक कक्षाको बैधानिक गुरु नै हुनु भयो । उहाँले हामीलाई अंग्रेजी र नेपाली पढाउनु हुन्थ्यो । सोही स्कुलमा अन्य सर र गुरुआमाहरू माइली तुम्मा(बडी) चन्द्रकला थाङदेन नेम्बाङ (स्वर्गीय अमर नेम्बाङ लिम्बूको श्रीमती),करुणा राई नेम्बाङ (स्व. राजेन्द्र नेम्बाङको कान्छी श्रीमती), आनन्द नेम्बाङ, सनकुमारी नेम्बाङ(लखन्तरी या सातौ फूपू),लीलाप्रसाद फुयल (उहाँले पछि श्री सारताप माविमा पनि पढाउनु भयो मलाई), पूर्णविक्रम नेम्बाङ (पूर्ण सर) हुनुहुन्थ्यो । अथवा उहाँहरूले हामीलाई पढाउनु भयो । त्यसमध्ये पूर्ण सर र राजेन्द्र सर भौतिक रूपमा हुनुहुन्न । तर अन्तरे सरको त्यो झ्वाँकी, हक्कि स्वभाव सबै माझ स्थापित थियो छ । विद्यार्थी हामी सर देख्नासाथ थुरथुर हुन्थ्यौ । उहाँले सोध्नु भएको प्रश्नको जवाफ दिन नसक्दा सजायको भागिदार भइन्थ्यो । म चाही अलि कम नै सजायको भागिदार भए होला किन भने स्वर काप्तै भएपनि उत्तर दिन्थे । रोल नम्बर १ ल्याएर आउथें । अरु सर गुरुमाहरू सरल स्वभावको हुनुहुन्थ्यो ।

काकाले भन्नु भयो, फेलसिङ तेरो नाम
कक्षा ५ को रिजल्ट आउने दिन सुन्नलाई म बडो हर्षका साथ स्कुलमा हिडे । ढिलो नहोस् भनेर घरबाट उकालोको चोरबाटो हिडे । सानो परिक्षामा धेरै नम्बर आउँदा गमक्क फुले जस्तो फुल्नु थियो मलाई । स्कुलमा पुग्दा कसै आइपुगेका थिएनन् । रिजल्ट त ढिलो गरि सुनाउने रहेछ । अन्तरे सर ढिलो गरि आइपुग्नु भयो । सदा अन्तरी गुरुमा पनि संगै आउनु हुन्थ्यो त्यो दिन देखिन । उहाँ कार्यलयभित्र छिरेकोले म पनि खुट्टा बजार्दै छिरे । उहाँले मलाई सरासर भन्नु भयो कि ‘आजदेखि तेरो नाम फेलसिङ । कमसेकम पास त गर्नु पर्छ नि । जिल्ला स्तरीय कहाँ कहाँ पुगेर कपि काटिन्छ अलि राम्रो गर्नु पर्दैन । घर जा ।’

काका कडा मिजासको मात्रै हैन कि केटाकेटीहरूसँग अधिक जिस्कनु हुन्थ्यो । हामी उहाँको जिस्कने बानीसँग पनि अभ्यस्त भैसकेका थियौ । एकचोटि हाजिरी जवाफ प्रतियोगिता सिदिएपछि उहाँले ‘अहँ हुदैन तेसरी मेरो प्रश्न छ’ भन्नु भयो । उहाँको ‘अहँ’ र ‘हुदैन’ भन्ने चाहि थेगो थियो । उहाँले कालो डटपेन देखाएर भन्नु भयो कि यो डटले रातो लेख्छ कि लेख्दैन । हामीले लेख्दैन भन्यौ । उहाँले कस्तो लेख्छ त । हामीले कालो भन्यौ । उहाँले रातो शब्द लेखेर देखाउनु भयो र भन्नु भयो कि लेख्यो त । मैले हतार उत्तर गरे । डटले लेखेको कालो हो । रातो शब्द तपाइले लेख्नु भएको हो । हामीले लेख्छ भनेको भए तपाईले एसो कोरेर कहाँ छ कालो भन्नु हुन्थ्यो । एति सुनेर अन्तरे सर हाँस्नु भयो । उहाँ एस्तो कुराहरूमा मजाक गर्न बडो माहिर हुनुहुन्थ्यो ।

अन्तरे सरले घर जा भनेको पनि सुन्दैनस् । आज रिजल्ट पनि हुदैन भोलि मात्रै । घर जा भन्नु भयो । उहाँले मेरो हुटहुटी बुझेर खेल्नु भएको थियो । म पनि अलि कुइनेटोमा बसेर रिजल्टको बेला मात्रै निस्कौ भनेको नथामेर अघि कार्यलय भित्रै छिरिसकेछु । ६ कक्षामा जान सिलाएको लुगा र टि बुट भन्थे उबेला काँटेवाल जुत्ता लगाएर ढल्केको देखेपछि एकछिन्मा करुणा काकी पनि आइपुग्नु भयो । र यो फेलसिङ किन दौडिराखेको भन्नु भयो । आजभोलि सम्झिन्छु घरैमा उहाँहरूले मेरो विषयक नाम जुराइसक्नु भएको रहेछ ।

म कुदेर घर आए फेल हुन्छु भन्दा पनि रिजल्ट सुन्ने हुटहुटी थाम्न नसकेर । बस्तुभाऊ पनि चराउन लानु नै थियो । बस्तु खोलेर चराउन लागे । भरे घरमा आइपुग्दा थाहा भयो सरले आफै रिजल्ट पेपर लिएर साथमा रु १० पनि छोडिदिनु भएछ । दश रूपेचाही होलफस्ट भएकोमा रे । भोलिपल्ट घरैमा भेटेर सोध्नु भयो कतिको छिटो दौडिस् त चक्लेट खानु । दश रूपेले कति चक्लेट आयो । आज म सम्झिन्छु काकाले जिस्काउनु भएको रहेछ ।

हुन त काकाको जिस्क्याई पनि रमाइलै हुन्थ्यो । स्कुलको बालदिवसमा, रिजल्ट हुँदा यस्तै स्कुलको के के पर्वहरूमा मिठाइ चक्लेट सारै ल्याउनु हुन्थ्यो । प्याकेटको प्याकेट । तर बाँडीदिनु हुन्न थियो । ल जम्मा हौ भन्यो अनि माथि छरिदिनु हुन्थ्यो । हामी माथिबाट थाप्ने र भुइमा झरेको टिप्नु र खोसाखोस गर्नुमा हैरान हुन्थ्यौ । उहाँ हेरेर मज्जा लिनु हुन्थ्यो ।

राजनीतिमा पारिवारिक संलग्नता
हुन त हाम्रो परिवार पहिलादेखि नै राजनीतिक परिवार थियो । जुनसुकै चुनावले पनि पारिवारिक सौहाद्र्रतामा खलबल गरिहाल्थ्यो । तर पनि वि.सं. २०४६ सालको परिवर्तनपछि भने बढो ठूलो दरार ल्यायो ।

राजनीतिक परिवारको हकमा त कृष्णविक्रम नेम्बाङ (११ भाइ मध्ये साइला, मेरो बुवा) स्वयंले पञ्चायत घोषणा हुनसाथ दार्जिलिङको अध्ययनलाई छोडेर नेपाल आइकन भुविक्रम नेम्बाङ(मेरो साइला बाजे खडगबहादुर नेम्बाङ डबल सुब्बाको छोरा साइँला)सँग वि.सं. २०१७ सालमा पाँचथर सिलौटिबाट क्रान्तिको शुरुआत गरे । सिलौटी क्रान्ति परिचालन कमिटिको नाउँमा गठन गर्दै शुरु भएको उक्त क्रान्ति पञ्चायत विरुद्धको देशको नै प्रथम क्रान्ति थियो । ०१७ साल पौष १ गते घटित राजा महेन्द्रको ‘कु’ को विरुद्धमा फाल्गुनमा कृष्णविक्रमको कमाण्डमा सुखेपोखरी स्थित प्रहरीमाथिको आक्रमण हतियार सहित कब्जा भएको थियो । त्यसको भोलि पल्ट नै तत्कालिन व्यवस्थाले आर्मी परिचालन गरेको थियो । यो घटना राजा महेन्द्रको संसदको विघटन काँग्रेस पार्टी माथिको प्रतिबन्ध, जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतलाई थुन्ने कामको विरुद्धमा थियो । सो समयमा पञ्चायती व्यवस्थाको सुत्रधार भैसकेको थिएन । पञ्चायती संविधान बनिसकेको थिएन । त्यसकारण उक्त सिलौटी परिचालन कमिटिले सन्चालन गरेको उक्त क्रान्ति सोझै राजा महेन्द्र र राजतन्त्रको विरुद्धमा गणतन्त्रको पक्षमा थियो भन्ने मेरो ठहर छ ।

उक्त समयमा काँग्रेस पार्टी त पटना सम्मेलन मार्फत सत्याग्रहको पर्चा छर्ने कामहरू मात्रै गरिरहेका थिए । पार्टी २०१८ कार्तिकदेखि क्रान्तिको घोषणा गरे त्यो बेलामा सिलौटी क्रान्ति परिचालन समितिका नेता कृष्णविक्रम २०१८ को जेठमा पक्राउ परेर धनकुटा जेलमा परिसकेका थिए । कृष्णविक्रम जेल चलान भएपछि स्थगन जस्तो देखिएको, तीब्र सैनिक ज्यादतिका बीच स्थगन जस्तो देखिएको उक्त पार्टीले घोषणा गरेपछि भुविक्रम नेम्बाङको कमाण्डरशिपमा चलेको थियो । उहाँले ठुलाठुला सफल आक्रमणहरू गर्नु भयो ।

सिलौटी क्रान्तिको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो दिव्यविक्रम नेम्बाङ (११ भाईमध्ये जेठा लेखकको जेठा तुम्बा) । दिव्यविक्रमको तत्कालिन पार्टी कार्यबाहक सभापति सुवर्ण समसेरसंग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध थियो । उहाँले नै दार्जिलिङ बसेर सिलौटी क्रान्तिदेखिकै सुचना आदानप्रदान गर्नका साथै पार्टी समर्थनको काम गर्नु भएको थियो ।

वि.सं. २०२० सालमा धनकुटा जेलबाट छुटेर केही समय नजरबन्द, केही समय तारेखमा त्यसपछि भुमिगत जीवन विताउदै आएका कृष्णविक्रम र नरेन्द्र विक्रम नेम्बाङ (मेरो माइला बाजे नरबहादुर नेम्बाङका माइला छोरा, पछि कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्री भए) विपी कोइराला २०२५ सालमा जेलबाट छुटेपछि उहाँलाई भेटेर क्रान्तिको तयारी गर्न बनारसतर्फ लागे । त्यसबेला भुविक्रम नेम्बाङ भारत बतासीमा बसेर क्रान्तिको तयारी गरिरहेका थिए । बिपी कोइरालाको अदालतको बयान नामक पुस्तक अनुसार उक्त क्रान्ति भुविक्रमको घर बतासीमा मिटिङ बसेर बनारसबाट बिपीले र बतासीबाट भुविक्रम (भवानीविक्रम उल्लेख छ उक्त पुस्तकमा) कमाण्ड गर्ने पारित गरिएको थियो । ०२८ सालको क्रान्तिको नामाकरण गरिएपनि उक्त क्रान्ति सफल हुन सकेन । ओखलढुंगा काण्ड असफल भएपछि, झापा धुलावारी स्थित हातहतियार पक्राउ परेपछि सो क्रान्ति एक्सनको चरणमा पुग्न सकेन । फलतः उहाँहरू फेरि भूमिगत हुन कर लाग्यो । ०३३ को राष्ट्रिय मेलमिलापको आसपासमा फर्कनुभयो । तर बिपीको निर्देशनमा भुविक्रम, गिरिजाप्रसाद कोइराला लगायतका क्रान्तिकारीहरू भने ०३६ को जनमत संग्रहको केही दिन अघि मात्रै नेपाल प्रवेश गर्नु भयो । सो जनमत संग्रहको प्रचारप्रसार सभा यासोकमा काँग्रेस सभामाथि पञ्चायत पक्षबाट आक्रमण भयो । प्रतिकारमा एकजनाको ज्यान गयो भने दुवै पक्षको केही घाइते भए । सोहि काण्डमा उहाँलाई ज्यान मुद्दा लाग्यो । र, तत्कालै भूमिगत हुनु पर्‍यो ।

०४६ सालको संयुक्त शान्तिपूर्ण जनआन्दोलन शुरु भयो त्यसपछि । वामपन्थीको तर्फबाट प्रमिला नेम्बाङ (मेरो काइँली फूपू, श्री सारताप माविमा हामीलाई पढाउनु हुन्थ्यो) उहाँ र राजेन्द्र परदेशी सामेल हुनु भयो । राजेन्द्र काका, प्रमिला फूपू, उर्मिला नेम्बाङ (मेरो जन्तरी फूपू, हाल ताप्लेजुङ साविक सिनाम हाल श्रीजंगा गापा १ का निर्वाचित वडा अध्यक्ष, तथा सभासद भुपेन्द्र थेबेको श्रीमती) ०३६ साल आसपासदेखि नै कम्युनिष्ट पार्टीमा सदस्यता लिई भूमिगत रूपमा सक्रिय हुनुहुन्थ्यो । सावित्रा, शारदाको भुमिगत नाउँले प्रमिला फूपू पार्टी काम गर्नुहुन्थ्यो । कृष्णविक्रमले ‘०४६ सालको जनआन्दोलन एक संस्मरण’ भन्ने संस्मरण पुस्तकमा उक्त आन्दोलनको संस्मरण गरेका छन् भने प्रमिला नेम्बाङमार्फत ०४६ सालको जनआन्दोलन लागि गर्नु भएको योगदानको बारेमा उहाँबाटै मौखिक रूपमा सुनेको हुँ । लिम्बूवान स्वायत्त आन्दोलनका पुराना नेता साबिक इम्बुङ हालको फाल्गुनन्द ३ निवासी साइनोमा बाजे बीर नेम्बाङको आत्मजीवनी पुस्तक लिम्बूवान भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म (निम्बल पब्लिकेशन्स, काठमाण्डौ, सन् २०१८) मा उहाँले प्रमिला, शुसिला, उर्मिला नेम्बाङहरू पञ्चायतकालिन समयमा लिम्बू भाषाको पठनपाठनको भाषिक आन्दोलनमा सक्रिय हुनुहन्थ्यो । पञ्चायतले पटकपटक उहाँहरूलाई धरपकड गरेको तारेखमा रिहा गरेको उहाँले उल्लेख गर्नु भएको छ ।

प्रमिला र राजेन्द्र कम्युनिष्ट राजनीतिमा निकै दुख गरेका व्यक्तिहरू हुन । उहाँहरूको संघर्षलाई त्यहाँस्थित कम्युनिष्टहरूले अद्यापि सहजै श्रद्धा गर्छन् । ०७० को संविधान सभा सदस्य बनेका हाल नेकपाका केन्द्रीय सदस्य साविक इम्बुङ हाल फाल्गुनन्द २ निवासी अइन्द्रसुन्दर नेम्बाङ आफ्नो राजनीतिक गुरु नै प्रमिला नेम्बाङ भएको बताउँछन् । उनको भनाइ के छ भने त्यो बेलामा काँग्रेसको जगजगी भएको ठाउँमा त्यही घर भित्रको राजेन्द्र, प्रमिला वामपन्थी संगठनमा नभएको भए हालको फाल्गुनन्द क्षेत्रमा संगठन सम्भव थिएन । यो कुरोमा केही सत्यता छ भन्ने मलाई पनि लाग्छ ।
यसरी पञ्चायत विरोधी गतिविधिमा संलग्न परिवार कृष्णविक्रमको नेतृत्वमा दाजुभाईहरू काँग्रेसमा होमिएका थिए । भने प्रमिला, राजेन्द्रको नेतृत्वमा कम्युनिष्टमा होमिए । तर पञ्चायत समाप्त भने साझा उदेश्य थियो ।

बाजे नरबीर नेम्बाङ निकै लामो समयको प्रधानपञ्च हुनुहुन्थ्यो । महेन्द्रविक्रम नेम्बाङ (सुब्बा नरबहादुर नेम्बाङको छोरा जेठा, पुर्वमन्त्री नरेन्द्रविक्रम नेम्बाङको जेठा दाजु) पनि निकै लामो समय प्रधानपञ्च हुनुभयो । त्यसपछि लगातार मृत्युपर्यन्त अमर नेम्बाङ लिम्बू (११ भाई मध्ये माइला, मेरो माइला तुम्बा) प्रधानपञ्च, गाविस अध्यक्ष, गापा अध्यक्ष हुनुभयो । उहाँले पञ्चायत, बहुदल काल र गणतन्त्र सबै कालको अविच्छिन्न नेतृत्व गर्नु भयो । नेपाली साहित्यमा पनि काम गर्नु भएका उहाँलाई नेपाली लिम्बू समुदायको पहिलो र पाँचथर जिल्लाकै पहिलो मास्टर्स डिग्री उपाधि हासिल गर्ने ब्यक्तिको रूपमा चिनिन्छ ।

०४६ पछिको कित्ताकाट 
वि. सं. २०४६ सालमा बहुदलिय प्रजातन्त्रको स्थापना भएपछि भने परिवारमा पुरापुर कित्ता काटाकाट भयो । काका राजेन्द्र नेम्बाङ आक्रमक रूपमा कम्युनिष्ट संगठन निर्माणमा लाग्नु भयो । गाउँघर पुरापुर कम्युनिष्टमय बनाउँनतिर लाग्नु भयो साथमा हुनुहुन्थ्यो प्रमिला फूपू अनि राजेश नेम्बाङ काका (आठौ काका) । शुशिला नेम्बाङ (अन्तरी फूपू, ठूलो कान्छी पनि भन्छन्, हाल इलाम नगरपालिकाको उपमेयर) इलाममै रहनुहुन्थ्यो । उहाँ गाउँघरमा उति सक्रिय हुनु भएन ।
काँग्रेसको लागि निकै चुनौतिपूर्ण भयो त्यो समय । हाम्रा तीन बाजेका परिवारहरू प्राय काँग्रेस नै थिए । तर दुई बाजेका शाखा सन्तान झापा धुलावारी र खुदनावारीमा थिए । उहाँहरूको लागि गाउँ बिरानो भइसकेको थियो । उहाँहरूले उता नै एवं रितको योगदान गरिरहनु भएको थियो । तर पञ्चायतमा नै अमर नेम्बाङ लिम्बूले काँग्रेसको तर्फबाट प्रधानपञ्च जितिरहेको ठाउँ, गंगाप्रसाद, भक्तबहादुर, मणिप्रसाद, प्रेमबहादुर नेम्बाङहरूको गाउँठाउँ । ०१७ सालको जनक्रान्ति धानेको सयौ क्रान्तिकारीहरूको ठाउँ, पार्टी सम्बद्ध धेरै बिशिष्ट व्यक्तिहरू बसेको ठाउँ, धेरै शहिद (बलबहादुर (हुक्के) तामाङ, हर्कप्रसाद नेम्बाङ, डाकमान तामाङ) घाइतेहरू, जेलनेल (दधिराम घिमीरे, गौरी बास्तोला, चन्द्रबहादुर नेम्बाङ), बेपत्ता काण्ड (धिरेन्द्र चेम्जोङ, पासाङ तामाङ) भएको ठाउँ, एक प्रकारले काँग्रेसको बिर्ता र विरासत बोकेको ठाउँ नै धरमराउला जस्तो भयो । सो बेला कृष्णविक्रम काँग्रेस र वाम मोर्चाको संयुक्त विजयी सभाहरूमा सम्बोधन गरिरहनु हुन्थ्यो र गाउँघर भने सकसपूर्ण भइरहेको थियो ।

त्यो बेला प्रविण (मेरो जेठा दाजु, पछि संघीय समाजवादी पार्टीको उमेद्धार भए), मुनिन्द्र (छोरा अमर नेम्बाङ लिम्बू, हाल अमेरिका), टंकबिक्रम नेम्बाङ (पछि संगठनकाे सिलसिलामा सडक एक्सिडेन्टमा मृत्यु भएकाे) लीला, कपिल नेम्बाङ, पदम, कमल, बैजे तामाङहरूले पार्टीको पुराना संयन्त्र खोज्दै एकिकृत गर्नै काम गरे । बिनिता नेम्बाङ (मेरो जेठी दिदी, हाल युके) गुम्बाडाँडामाको पञ्चामृत प्राविमा पढाउनु हुन्थ्यो । उहाँले घरैमा प्रौढ शिक्षा सन्चालन गरेर गाउँघरको महिलाहरूलाई राजनीतिक चेतनाका साथ एकिकृत गर्नु भयो । रच्चु नेम्बाङ (मेरो माइली दिदी हाल युके) भाषण गर्न गाउँगाउँ जानुहुन्थ्यो । गाउँ टोलमा साँझ साँस्कृतिक कार्यक्रमहरू गरेर रुङ्ने काम हुन्थ्यो । उता इम्बुङबाट मलिसा याक्थुङबा, लक्ष्मण नेम्बाङ, टेकराज फुयल, पुष्प चापागाईहरू बाराम्बार सम्पर्कमा थिए । यसरी नै घरमा जिल्लाभरिकै सम्पर्कमा आइरहन्थे । बुवा कृष्णविक्रमलाई नहुँदा आमा नै खबर सुचनाको केन्द्र हुनुहुन्थ्यो ।

त्यो बेला एउटा काँग्रेस पार्टीको अर्को टोेल एमालेको भन्ने हुन्थ्यो । एमाले टोल र काँग्रेस टोलबीच पानी बाराबारको स्थिति हुन्थ्यो । त्यस्तो समयमा राजेन्द्र काकासँग मेरो पनि दुरी बढ्यो । काकाले घरघरमा एमालेको झण्डा गाढ्नु हुन्थ्यो । ती झण्डाहरू गाउलेहरूले मेरो घरमा ल्याइदिन्थे । कतिले भोट दिन्छौ तर झण्डा भइराखोस् भन्थे । काकाले कतिपय काँग्रेसको झण्डाहरू उखेलेर मिल्काउनु हुन्थ्यो । तिनीहरूसँग झगडा गर्नुहुन्थ्यो । उहाँको जब्बर चल्थ्यो । अनि नारा जुलुसहरू गर्नु हुन्थ्यो । फलना सामन्ती मुर्दावाद, गरिव गरिब एक हौ भन्दै घर घेर्ने काम हुन्थ्यो । फलत त्यो गाउँघरकै धनिमा उहाँ नै पर्नुहुन्थ्यो होला । उहाँको बैभव सम्पन्नता आफनै किसिमको थियो ।

त्यो बेला सबै ठाउँमा काँग्रेस र एमालेको सम्बन्ध यस्तै हुन्थ्यो सम्भवतः । त्यहीबेला हो काँग्रेस र एमालेले जरासम्म संगठन गरेको । संगठन जरासम्म पुगेको हुनाले नै माओवादीको दश बर्षे हिंसात्मक क्रान्तिमा समेत सो संगठनलाई उखेल्न सकेन ।

राजेन्द्र काकासँग छिटै सम्बन्ध राम्रो भयो । २०६४ को संविधान सभाको चुनावमा काठमाण्डौबाट गाउँमा पुग्दा तल मेरो घरमा तलाचावी झुण्डिएको थियो । अर्थात त्यहाँ कोही पनि थिएन । अमर नेम्बाङ सपरिवार अमेरिकामा हुनुहुन्थ्यो । मैले झोला सहज राजेन्द्र काकाकोमा बिसाए । काठमाण्डौबाट पार्टी नेता तथा साथीहरू टेकेन्द्र काम्बाङ र धनराज तुम्बापो पनि आएका थिए । त्यही पाहुना लागियो । म आफ्नै पाराले दिउसोभरि घुमेर आउथें । काका त अलि रेष्टमा हुनुहुन्थ्यो त्यसबेला । करुणा काकीलाई पठाउनु हुन्थ्यो घुम्न । अनि म गाउँघरमा भन्थे, एमालेको खाएर काँग्रेसको संगठन गर्नु परेको छ । साथीभाइहरू हाँस्थे ।

काका छिटै आग्रह पुर्वाग्रह दुराग्रहबाट माथि उठिसक्नु भएको थियो । जीवनको अन्तिम समयतिर जागिरको स्वेच्छिक अवकाश लिदा पनि काँग्रेस पार्टीका संगठक विङकल चेम्जोङलाई उहाँको ठाउँमा नियुक्ति दिनु भयो । बुढा आफै घरमा गएर ‘लु छोरा लामो समय छिमेकी भएर बाबु बाजेको पालदेखि संगै बसियो । अब तिमी युवाहरूको पालो हो । मेरो जागिर आजदेखि सम्हाल । बिस्तारै म नियुक्तिको प्रकृया मिलाउछु भनेर ताला चाबी जिम्मा दिनु भयो रे ।’ बिङकलले बेलिबिस्तार सुनायो । चेम्जोङ भाइ त त्यो बेलाको बडो कुशल संगठक थिए । सानैमा त्यो गाउँघरको बुडापाका जस्तो भएर सम्हालेका थिए । त्यो बेला आत्मविक्रम नेम्बाङ (मेरो भाई कान्छा), विङकल, महेन्द्रबिक्रम नेम्बाङ (वियोगी काइँला), उपेन्द्र नेम्बाङ जुनियर, शुखबीर नेम्बाङ, धनसिङ नेम्बाङको टिम न थियो । अरु बुडापाकाहरू त माओवादी आन्दोलनले लाखापाखा लगाइसकेका थिए । तीनै युवाहरूले पौवा गाउँलाई छहारी दिएका थिए । अरु युवाहरूलाई जोडेका थिए । जस्तो सुकै आपतको सामना गरेका थिए । संगठन बचाएका थिए । यसबीचमा उहाँको यो नियुक्तिले स्कुल र विद्यार्थीहरूको भविष्य राम्रो होस् भन्ने चिन्ता उहाँमा थियो भन्ने पनि बुझिन्छ ।
यसरी सैद्धान्तिक दरारले बनेको व्यक्तिगत कटुता पनि छिटै मेटिएर पारिवारिक सौहाद्र्रतामा परिणत भएको थियो । राजेन्द्र काका त्यसवेला सम्म निकै पिउनुहुन्थ्यो । धेरै पिउने उहाँको स्वभाव बनेको थियो ।

जति पिउँदापनि उहाँले एमाले पार्टीको संगठनिक काम छोडनु भएको थिएन । उहाँले जिल्लाको खास तहहरूमा काम गर्नु भयो जस्तो मलाई लाग्दैन । तर स्वतस्फुर्त रूपमा स्वेच्छिक चाहले अथवा माक्र्सवादि सैद्धान्तिक मोहले काम गर्नु भएको थियो । घरमै पार्टी कार्यलय राखेर काम गर्नुहुन्थ्यो । त्यही कार्यलयमा गाउँघरका कार्यकर्ताहरूलाई मिटिङ, भाषण प्राक्टिस, पुस्तक अध्ययन गराउनु हुन्थ्यो । उहाँको ज्यादै ठूलो लाइब्रेरी थियो । ज्यादै महत्व राख्ने पुस्तकहरू पढन पाइन्थ्यो । हामीलाई लाग्थ्यो उहाँसँग विस्वका सवै पुस्तकहरू छन् । पछि माओवादीले बाजेको घर लुट्ने बेलामा काकाको सो पुस्तकालयबाट धेरै पुस्तकहरू लगेर जलाए भन्ने सुनियो ।

काकाले मलाई एक दिन सोही कार्यालय हलमा सुताउनु भएको थियो । साँझपख माक्र्स, लेनिनको फोटोलाई देखाउँदै तेरो निन्द्रा बिग्रिन्छ होला नि भनेर हाँस्नु भयो । बिहान पनि सोध्नु भयो, सपना कस्तो देखिस् । मैले हाँस्दै भने, लेनिनले माक्र्सतिर फर्केर भन्दै थियो कस्तो ज्याद्रो लिम्बू । सुनेर काका खसखस हाँस्नु भयो । उहाँ ठट्यौलीमा बढो माहिर हुनुहुन्थ्यो । पिस मास्टर ।

उहाँ मेरो साहित्यिक गुरु
मलाई के सम्म थाहा छ भने सानैमा एकदिन खुत्रुकखुत्रुक अन्तरे बाबैकोमा छिरे । डर लाग्दै छिरेको थिए । भर्खरै एसएलसी दिएको उद्दामता थियो ममा । ०४६ को रौनकता सेलाएको थिएन । मनमा संकोच थियो । तल मेरो घरमा काँग्रेसको झण्डा जतिबेला पनि गाडिएकै हुने । माथि राजेन्द्र काकाको घरमा एमालेको झण्डा जतिबेला पनि गाडिएकै हुने । यो विम्बले पनि भयको काम गरेको थियो । बुढोले गाली पो गर्छ कि । कुकुर लगाएर पो खेदाउँछ कि । हकार्छ पो कि । नानाथरी भट्याउँछ पो कि सोच्तै आँगनमा छिरे । राजेन्द्र बाबै देखिएनन् आँगनमा । किचनभित्र आदि टाउको छिराए । बुढो त भित्र जगमा पिपा लगाएर आधी टाउको छिराएर तोङबा नारिरहेको रहेछ । म अनुमति भन्दा अघि भित्र छिरे । मुडा तानेर छेउमा बसे ।

बुढोले अनौठो ट्रिट गर्नु भयो । म बसिसकेपछि हत्तपत्त बाहिर निस्किनु भयो । मलाई अलि डर लाग्यो । कतै उहाँ भाटा खोज्न त बाहिरिनु भएको त हैन । आज भाटा खाने भइएछ सोच्तै टाप ठोक्नु पर्ला कि भनेर मुडाबाट नै तन्केर बाहिर हेरे । काका आँगनमा रेडियोलाई दम दिइरहनु भएको रहेछ । उहाँको टस बल्ने खासावाले रेडियोलाई दमाइको हाते कल जस्तै ढाँडमा घुमाउनु पर्ने रहेछ । म कुटै नखानेमा ढुक्क भएर बसेकै ठाउँमा तानिए । भित्र आइपुगेर ‘समाचार सुन’ भन्नु भयो । उहाँले गाली गरेको स्वरमा हकार्नु भयो कि ‘कहाँ लखरलखर हिडिरा’को । पढ्ने बेलामा । यो बेला तिमीहरूको पढ्ने बेला हो । तिमीहरूको उमेरमा म घर निदालभरि अंग्रेजी लेखेर पढ्थें ।’ उहाँको लामो अर्तिले मलाई विझेन । किनभने म त फुक्काफाल भएर हिडिरहेको थिए । तर कुटाई नखानेमा चाही ढुक्क भए ।
त्यसपछि बुढाले उठाएर लाइब्रेरीमा लानुभयो । पुस्तकहरूको बारेमा बताउनु भयो । उहाँसँग छालाले मोहोरेको पुराना पुस्तकहरू पनि थिए । अनि उहाँले केही थान पुस्तकहरू थमाएर होमवर्क दिनु भयो कि यो पुस्तकहरू एकसातामा पढि सकेर आउनु । त्यसबेला मैले आन्तोन चेखबको नेपालीमा अनुवाद कथा संग्रह, वैरागी काइँलाका कविताहरू साझा प्रकाशन २०३१ र अर्को थियो जनमञ्च मासिकले संकलन गरेको हाजिरी जवाफको प्रश्नोत्तर जस्तो । उहाँले ‘पढि सकेर आउनु’ भन्नेमा चेखव र काइँलाको पुस्तकलाई संकेत गर्नु भएको थियो । यो पुस्तकको छलफल सकेर अरु पुस्तक दिने बाचा गर्नु भएको थियो ।

मैले सो पुस्तकहरू कनीकुथी पढ्ने त प्रयास गरे । छिचोल्न सकिनँ । गाइबस्तु चराउन जाँदा होस् या घरमा बस्ता होस् अलिअलि चलाउने प्रयत्न गरे तर सकिनँ । ती पुस्तकहरू आज पनि राम्ररी चलाउन नसकिने नै छन् । उ बेला के सम्भव हुनु । चेखवका पात्रहरूको त नामै उच्चारण गर्न गाह्रो । रुसी पात्रहरू । सामान्य कविताको भेऊ नपाएकोले बैरागी काइँलाको कविताको भेउ कहाँ पाउनु । आजभोलि सम्झिदा कमलमणि दिक्षितले लेखेको भूमिका पो काइँलाले कविता भनेर पढिबसेछु । त्यसबेला भूमिका के हो । भन्ने के थाहा हुनु । यसरी पुस्तक छिचोल्न नसकेपछि म राजेन्द्र काकाकोमा गइनँ । अरु पुस्तक पनि ल्याइनँ । मेरो मनमा दोषी करार भयो । बाटोमा देख्ता पनि तर्किन थाले । र, काठमाण्डौमा कलेज पढ्न हानिए ।

पछि गाउँमा पुग्दा पर्देशीको पुस्तकहरू गाउँभरि छरिएको देख्थे । उहाँ पनि अलि बुढो हुनु भए झै लाग्थ्यो । गाउँका लाठेहरू साँझतिर पर्देशीकोमा भेलिदा रहेछन् । उहाँको जाँडरक्सी प्रतिको मोह पनि निकै बढेको रहेछ । जोक्स भन्ने क्रमको अझै बृदि भएको रहेछ । सबैको अभिभावक जस्तो बन्नु भएको रहेछ । गाउँकै अभिभावक बन्नु भएको थियो । त्यहीबेला म काकालाई मैले खेलेका पुस्तकहरू पठाइरहन्थे । उहाँले भाइहरूले प्रतिक्रिया माग्दा भन्नु हुन्थ्यो रे, तिमीहरूको गुरु आएपछि कुरो गर्छु ।
आजभोलि म सम्झिन्छु कि त्यो बेला एउटा आशा भरोशाका साथ साहित्यमा पुस्तकहरू दिएर अध्ययन लेखनतर्फ तान्नु भएको रहेछ । उहाँले म प्रति सपना देख्नु भएको रहेछ । अध्ययन गरोस । पढोस । बढोस लेखोस् भन्ने कत्रो चाह राख्नु भएको रहेछ । एउटा अबोध दिमागमा उहाँले त्यसदिन रोपिदिनु भएको विचारको बोटले झाँगिएर आज आकार पाउँदा म लेखक भए कि या म साहित्य कर्ममा संलग्न हुन ती दिन नै जिम्मेवार छ कि जस्तो सधैँ लागिरहन्छ । उहाँको त्यो ट्रिटमेन्ट मस्तिस्कको एक कुनामा, शाखामा गएर विकसित भइबसेछ र कुनै समयमा चालक प्रतिशतमा आइपुगेछ । ड्राइभिङ सिटमा बसेर हाँक्न थालेछ जस्तो लाग्छ । कवि मनको सिरिन्ज त्यही दिन लिइएछ । त्यस कारण सधै म भन्ने गर्छु मेरो साहित्यमा प्रेरणाको स्रोत राजेन्द्र परदेशी नै हुन । अथवा साहित्य कर्मको गुरु । सर्वप्रथम साहित्यको दिक्षण उहाँबाट नै लिएको हुँ । मेरो मनले तेसै भन्छ ।

म योजनाबद्ध कवि बन्न हिंडेको हैन । तर आज कवि बन्न पाएकोमा ठिक लाग्छ । किनभने कवि शब्दलाई म श्रद्धा गर्छु । हजारौ हजारको भीडले देख्न नसकेको चीज एक जना कविले सोही स्थलबाट देख्न सक्छ । हजारौको भीडले हिडन नसकेको बाटो एकजना कविले पहिल्याएर हिड्न सक्छ । सिर्जनाको त्यो ठूलो संसारमा कवि घुम्न सक्छ । जसको कविताले बैज्ञानिक अनुसन्धानको ढोका खुल्न सक्छ । विद्धानको सोच्ने तरिकामा हेरफेर गर्न सक्छ । राजनेतालाई मानवीयकरण गराउन सक्छ । विचारको खेल खेल्नेहरूलाई दिलमा पुरयाउन सक्छ । यस सम्बद्ध जीवन राजेन्द्र परदेशीकै देन हो जस्तो लाग्छ मलाई ।

यसरी योजनाविना नै कवितामा एक्कासी आइपुगे । सिद्धान्त, दर्शन, विचारका कुरा दुइ हरफ छन् दुनियाँमा । तर कविता, सिर्जना असिमित, अपरिमित, असंख्य छन् । र, हाल भुतपुर्व भइसकेको बोध छ ।

त्यसदिन राजेन्द्र परदेशी बाबै नभेटी राजेन्द्र नेम्बाङ बाबै भेटिएको भए म कवि बन्दिन थिएँ कि ! कवि बन्न सकिन्छ । हामीले नै लेख्ने हो भन्ने धारणा मेरो दिमागमा तिखो गरि गाडिएको दिन त्यही दिन रहेछ । जसको प्रस्फुटनको लागि लामो समयको अभ्यास लाग्यो ।

घर नछोडने परदेशी
साहित्यकार राजेन्द्र परदेशीको कविता संग्रह “समयको समाधिमा बसेर, भोक लागेपछि रुख पनि हिड्छ ।” लगायत फुटकर कविताहरू, निबन्ध, समालोचना प्रकाशित छन् । उहाँ माक्र्सवादलाई केन्द्रमा राखेर लेख्ने कवि हुन् । भोक लागेपछि रुख पनि हिड्छ तत्कालिन पञ्चायती व्यवस्था विरुद्धको विद्रोहको कविता हो । उक्त संग्रहमा धेरै कविताहरू भोक सम्बन्धमा छ । भोक नै शीर्षकका धेरै कविताहरू छन् । उहाँले लेखको आधार नै भोकलाई बनाउनु भए झै लाग्छ । भोकले प्रत्येक मान्छेसँग सम्बन्ध राख्छ । यो आधारभूत आवश्यकताले तल्लो वर्गलाई ज्यादा पिरोल्छ । भोकलाई उहाँले मानविकिकरण, व्यक्तिकरण, समयकरण, विषयकरण गर्नुभएको छ । भोकलाई नै बिम्ब, प्रतिक बनाउनु भएको छ । उदाहरणको लागि केही छोटा कविताहरू

अन्धकार थुन्ने भण्डारभित्र
देश भक्तिका नाराहरू लेखेको छु ।
व्यर्थमा हामी बल गर्छौ
भोक भित्र मैलै
लाखौ सुनौला सम्भावनाहरू देखेको छु ।
 (भोक र संभावना)

कहिल्यै नसुतेजस्तो
तिम्रो आँखा
कहिल्यै नबोले जस्तो
तिम्रो जिब्रो
कहिल्यै आराम नगरे जस्तो
तिम्रो शरिर
कहिल्यै भेट नभए जस्तो
तिमी मान्छे विष्ण नबिन
भोक लाग्छ लाग्दैन ? 
(भोक र बिष्णु नबिन)

इतिहासको कैदबाट
युग उम्केर आयो
अब जुन बस्तु पनि बोल्न
बोल्न सक्छन् ।
 (समयलाई भोक लागेपछि)

साहित्यमा राजेन्द्र परदेशीलाई घर नछोडने आरोप लागेको थियो । हुन पनि इलाम क्याम्पसमा पढे बाहेक घर छोडनु भएन भन्ने आरोप छ । आरोप भनेको उहाँको नाम नै व्यंग्य जस्तो थियो आम मान्छेको लागि । किनभने परदेशीले घर छोडेको कसैले देखेनन । या पर्देश नजाने मान्छेमा उहाँ पर्नुहुन्थ्यो । तर नाउँ भने परदेशी थियो । त्यसकारण गाउँलेहरू उहाँलाई घर नछोडने परदेशी भने गिज्याउने गर्थे ।

एक मिस्त्री
राजेन्द्र परदेशी काठ मिस्त्रीको काम ज्यादै जाँगर चलाएर गर्नु हुन्थ्यो । घरमा एकछिन् नबसी काठको सानुतिनु टाकटाकटुकटुक गरिरहनुहुन्थ्यो । मानौ जीवन सुन्दर सिर्जना हो भनेर घरको साजसज्जावटहरूमा देखाउन चाहानुहुन्थ्यो उहाँ । काव्यिक महलहरूलाई त्यहाँ उजागर गर्न चाहानुहुन्थ्यो । उहाँ जीवनको सिर्जनात्मक सार्थकता त्यहाँपनि खोज्नु हुन्थ्यो होला । उहाँले यति काम गर्नुहुँदा आँगनमा भने रेडियो घन्किरहेको हुन्थ्यो ।

पिस मास्टर
परदेशी काका अरुको चरित्र चित्रणमा खप्पिस हुनुहुन्थ्यो । राम्रा राम्रा चुट्किला बनाएर हँसाउनुहुन्थ्यो । त्यहाँपनि उहाँको सिर्जनात्मकता झल्किन्थ्यो । उहाँ कवि देबेन्द्र शक्तेन उहाँको कक्षा साथी माथिको पिस बेलाबेलामा सुनाउनुहुन्थ्यो ।

उहाँ भन्नुहुन्थ्यो, हामी इलाम क्याम्पस पढन जाँदा माइमेला भर्न गएका थियौ । त्यसबेला एकजना आर्मीको लेप्टिनेन्टले बजारमा दादागिरि देखायो । र हाम्रो पनि धकेलाधकेल शुरु भयो । त्यसपछि लामै लडाइ चल्यो । पिटापिट चल्यो । तेसैबेला बजारले छुटाएछ । लडाई सकेपछि आफुसँगै आएको देवेन्द्रलाई खोज्दा पनि भेटेनछ । अब रक्सी खाएर फर्किनु प¥यो भनेर होटलमा खाँदै गर्दा खुट्टामा कन्याएछ । एसो फर्केर कुनामा हेरेको त शक्तेन पो । थुन्सेमाथि डोको खोप्ट्याएको घोप्टयाएर थुनिएर बसेको । थट के गरेको विजेता जस्तै काकाले हकार्नु भएछ । अनि शक्तेनले लुक्नु परेको रहस्य खोल्दै भनेछ, काक्का त्यो त गोयो होला । बाक्सोटले दुइचोटि हानेको ऐयाउ ऐयाउ गर्दै थियो । काकाले हो तेरै बाक्सोटले गोयो भन्दै दुवै इलाम बजारतिर हानिएछ ।

जाँडरक्सी अत्यधिक सेवन
राजेन्द्र परदेशी काकाको अर्को विशेषता भनेको जाँड रक्सी अत्यधिक सेवन गर्नु हुन्थ्यो । जहिले पनि झुल देखिनु हुन्थ्यो । अन्तिममा डाक्टरले नलिनु भन्ने मौसममा पनि उहाँले लिनु भयो र ५२ बर्षको उमेरमै २२ जना दाजुभाई दिदिबहिनी मध्ये पहिलो नम्बरमा संसारिक लीलाबाट बिदा लिनु भयो । दुई श्रीमतीहरू शकुन्तला वनेम नेम्बाङ, करुणा राई नेम्बाङ छोराहरू दर्शन, गौरव छोरी शिखा लगायत हामी सबैबाट विदा लिनु भयो । २०६७ को असोज ८ गते काठमाण्डौको बाटोमा हिडदै गर्दा मैले यो खबर भाई किरण नेम्बाङको फोनबाट चाल पाए । आफ्ना अभिभावक, गुरु, प्रेरणा र उर्जाको स्रोत मैले त्येसैदिन गुमाए ।

साहित्यमा पारिवारिक योगदान
एउटा ठूलो परिवार भएको नाताले पनि नरबीर नेम्बाङको परिवारमा धेरै कुराहरू अनौठा हुनसक्छन् । कतिका लागि अपत्यारिलो पनि लाग्न सक्छ । यी कुराहरू अर्को आर्टिकलको लागि थाँति राख्दै अहिलेलाई नरबीर नेम्बाङको पाँच भाई छोराहरूले नेपाली साहित्यमा योगदान गरेका छन् । यो विश्व साहित्यकै लागि अनौठो घटना र नेपाली साहित्यको लागि दुर्लभ घटना हुनसक्छ भन्ने लाग्छ । यदा कदा युकेका तीन दिदी बहिनीहरू चार्लाेटी ब्रन्टी, इमिली ब्रन्टी, एन्ने ब्रन्टीहरूको चर्चा गर्ने गरिन्छ । उनीहरूलाई ब्रन्टी सिस्टर्स नामले अंग्रेजी साहित्यमा पुकारिन्छ । तर पाँच जना दाजुभाईले लेखेको घटना भने एउटा गर्व लाग्दो कुरा हो । दिव्यविक्रम नेम्बाङले तत्कालिन दार्जिलिङको दिपक पत्रिकामा थुप्रै कविताहरू प्रकाशित गरेका छन् । उहाँ निबन्धहरू काठमाण्डौबाट प्रकाशित हुने रूपरेखा साहित्य पत्रिकामा प्रकाशित छन् । यसको बिस्तृत खोजतलासका साथ पुस्तक ल्याउने काम सम्पन्न हुदैछ । अमर नेम्बाङ लिम्बूका अमेरिका भ्रमणका संझनाहरू यात्रा निबन्ध पुस्तक, सम्झनाका तरेलीहरू निबन्ध पुस्तक, एकसाँझको अवसान कविता पुस्तक प्रकाशित छन् । कृष्णविक्रम नेम्बाङको सत्र सालको क्रान्तिको सम्झना (२०७१)आक्षेप र पाठक प्रतिक्रिया (२०७२)डायरीमा बेलायत (२०७०)स्मृतिमा बीपी आन्दोलन २०७३)२०४६ सालको जनआन्दोलन एक संस्मरणप्रकाशित छन् । नारायण प्रसाद नेम्बाङ (विरही काइँला)का अनुसन्धान कविता गरि एक दर्जन भन्दा बेशी पुस्तक प्रकाशित छन् । राजेन्द्र परदेशीको कविता संग्रह प्रकाशित छ भने धेरै अप्रकाशित लेख रचनाहरू प्रकाशन हुने क्रममा छन् ।

उहाँहरू राजनीति साहित्य दुवैमा जीवन समर्पण गरेका ब्यक्तित्वहरू हुनुहुन्छ । हुन त नरबीर नेम्बाङ स्वयं कानुनका ठूला ज्ञाता थिए । उहाँ आफै वादी प्रतिवादी लेख्नुहुन्थ्यो । साइला बाजे खड्गबहादुर नेम्बाङलाई लिम्बू भाषाका पहिलो आधुनिक कविको रूपमा लिइन्छ । उहाँको वि. सं. २०१२ सालमा मिकहन साम्लो नामक लिम्बू भाषाको कविता प्रकाशित छ । मेरो साइला बाजेको छोरा काइँला हुन देशको प्रशिद्ध कवि एवं पूर्व कुलपति बैरागी काइँला (तिलबिक्रम नेम्बाङ) । योगदानका हिसाबले नेपाली साहित्यको लागि अमेरिकन कवि वाल्ट व्हिटमन, युकेका कवि जोन मिल्टन, इटालिका कवि दाँते जस्तै एक कोशेढुंगाको रूपमा उहाँलाई लिइन्छ ।

मलाई लाग्छ नेपाली साहित्य र राजनीतिक योगदानको यो परिवारिक पाटोलाई कुनै अनुसन्धानको विषय हुनसक्छ । यो विश्व साहित्यको लागि विरलै घटने घटना हुनसक्छ । नेपाली साहित्यको त एक अनौठो संयोग ।