बुद्धचित्तको अवैध कारोवार, चार जना पक्राउ

प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

भक्तपुर : बुद्धचित्तको अवैध रुपमा कारोवारमा संलग्न चार जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट प्रहरीले बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको बुद्धचित्तसहित काठमाडौंका ४० वर्षीय शुक्र लामा, दोलखाका २१ वर्षीय रोशन कार्की, रामेछाप सुनापतीका २५ वर्षीय रुपेश लामा र सिन्धुली रानीबासका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

उनीहरुले बनेपाबाट ७ वटा बोरामा बुद्धचित्तको दाना ल्याएर काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । बुद्धचित्त दुर्लभ जडिबुटी भएको कारोबार गर्न बन्देज छ । पछिल्लो चरणमा काभ्रेमा बुद्धचित्तको उत्पादन र बिक्रीवितरण हुने क्रम बढेको र यससँगै लुटपाटका घटनासमेत वृद्धि हुँदै आएको छ । यसले सुरक्षा व्यवस्थालाई नै चुनौति दिएको बताइन्छ ।

यो जडिबुटी एक प्रकारको फल हो । यो दाना एक मुखीेदेखि १६ मुखीसम्म हुने गरिएको यसका कृषक बताउँछन् । पछिल्लो समयमा एकमुखी बराबर एक लाखरुपैयाँ सम्म व्यापार हुने गरिएको बताइन्छ । बुद्धिष्ट धर्मालम्वीहरुले यसलाई मालाको रुपमा प्रयोग गर्ने गरिन्छ ।

पछिल्लो समयमा यसको मुख्य चाइना भएको र कानूनी रुपमा बन्देज लगाएकोले अवैध कारोबारमा वृद्धि भएको मानिन्छ । केही वर्षपहिले पनि प्रतिबन्धित रक्तचन्दनको अवैध ओसारपसारले सुरक्षा प्रबन्धलाई नै चुनौति दिएको थियो ।