दमौलीमा सञ्चालित उत्तर कोरियाली लगानीमा सञ्चालित ने–काेर्‍याे अस्पताल बन्द

प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

नेपाल मेडिकल काउन्सिलबाट प्राप्त इजाजत नवीकरण नभएपछि तनहुँको दमौलीमा उत्तर कोरियाली लगानीमा सञ्चालित ने–काेर्‍याे अस्पताल बन्द भएको छ ।
आठजनामध्ये सबै चिकित्सकको इजाजत अवधि सकिएकाले सेवा बन्द गर्नका लागि भन्दै नेपाल मेडिकल काउन्सिलले पत्र लेखेपछि अस्पतालको सेवा बन्द भएको अस्पतालमा कार्यरत कर्मचारीहरुले बताए ।

व्यवस्थापनले पनि चिकित्सकको म्याद थपको प्रक्रियामा रहेको स्वीकार गरे पनि त्यही कारण अस्पताल बन्द भने नभएको जिकिर गरेको छ । तीन साताअघि तनहुँ प्रशासनले गरेको अनुगमनका क्रममा अस्पतालका आठमध्ये चार चिकित्सक म्याद सकिएको एक महिना बित्दा पनि अस्पतालमै देखिएका थिए । बाँकी चार समेत म्याद सकिन एक महिना बाँकी रहँदा अस्पतालमै कार्यरत थिए ।

तर पहिलेका चारसँगै बाँकी चिकित्सकको समेत इजाजत अवधि सकिएपछि सोमबार अस्पतालमा ताला लागेको छ । उत्तर कोरियाली दुतावासको प्रत्यक्ष निगरानीमा सञ्चालित अस्पतालमा यस अघि पनि अनुगमनका बेला आवश्यक मापदण्ड नपुगेको सरकारी अधिकारीहरुले बताउने गरेका थिए ।

तर बिरामी जाँच गर्न अनिवार्य रुपमा चाहिने नेपाल मेडिकल काउन्सिलको इजाजतको अवधि सकिएपछि पनि चिकित्सक कार्यरत रहेको देखिएपछि अस्पताल व्यवस्थापनले उनीहरु नवीकरणका लागि प्रक्रियामा रहेको जवाफ दिएको थियो ।

प्रशासनले अनुगमन र कडाई थालेपछि अस्पताल व्यवस्थापनले नवीकरणको प्रक्रिया थालेको थियो । तर मेडिकल काउन्सिलमा नवीकरणको प्रक्रियामै रहँदा बाँकी चारको पनि म्याद सकिएपछि व्यवस्थापनले अस्पतालमा ताला लगाएको छ ।

समस्या समाधान भएपछि ‘आफैँ बोलाउँछौँ’ भनेर भनेको बताए । अस्पतालले कर्मचारीहरुको बक्यौता तलब भुक्तानी गरेर उनीहरुलाई बिदा गरेको ती कर्मचारीले बताए । अस्पताल सोमबार बिहानैबाट बन्द छ । त्यहाँ कार्यरत चिकित्सक र म्यानेजरहरु आइतबार राति नै काठमाडौँ गएको बुझिएको छ ।

तर अस्पतालका म्यानेजर बताउने उत्तर कोरियाली नागरिक मिस्टर सङले भने अस्पताल बन्द भैनसकेको बरु आन्तरिक कारण केही दिन सेवा रोकिएको जिकिर गरे । अस्पतालमा कार्यरत आठ चिकित्सकमध्ये ४ जना बिजनेश भिषामा कार्यरत छन् । बाँकी भने ननटुरिस्ट भिषामा रहेकाले श्रम स्विकृती लिएर कार्यरत छन् ।