वहुविवाहका अभियुक्त शिल्पा र छविलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी

प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

बहुविवाहको अभियोग खेपिरहेका चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालत काठमाडौंले बुधबार पूर्जी जारी गरेको छ ।

उनीहरुविरुद्ध कानूनविपरीत बहुविवाह गरेको जनाउँदै ओझाकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही अनुरुप अदालतमा मुद्दा दर्ता भएपछि खोजेर पक्रन अदालतले पक्राउ पूर्जी जारीको आदेश दिएको हो । अदालतबाट आदेशै नलिई प्रहरीबाटै ‘जरुरी पूर्जी’ जारी गरेर तत्काल पक्रउ गरेर त्यसको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सकिन्थ्यो, तर त्यो बाटो रोजेनन् । अभियुक्त तत्कालिक अवस्थामा फरार हुने वा उम्कन सक्ने अवस्थामा जरुरी पूर्जीको बाटो लिने गर्ने गरिएको बताइन्छ ।

अदालतबाट पुर्जी जारीसँगै छबि र शिल्पाालाई नियन्त्रणमा लिई अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तीन वर्षदेखि अभियुक्तका बिचमा अस्वभाविक निकट सम्बन्ध रहेको चर्चावीच केही महिनाअघि मात्र विवाह भएको सार्वजनिक भएको थियो ।

यसैबीच दुई हप्ताअघि शिल्पाले श्रीमान् छबिले आफूमाथि ‘घरेलु हिसा’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि मात्र उनीहरुबीच औपचारिक रुपमा विवाह भएको पुष्टि बाहिर आयो । दुई जनाबीच प्रहरीमा भएको छलफलमा छबिले गल्ती महसुस गरेपछि उजुरीलाई त्यही अन्त्य गरिएको थियो । शिल्पा भने छबिको जीवनमा कान्छी (चौथो) श्रीमती थिइन् ।

तर त्यसको हप्ता दिन बित्न नपाउँदै ओझाकी जेठी श्रीमती हेमा ओझाले आफूलाई थाहै नदिई छबिले शिल्पासँग विवाह गरेको पाइएको र यसबाट आफू अन्याय परेको भन्दै न्यायको मागसहित आइतबार प्रहरीमा दुवै जनामाथि कानूनबमोजिम कारवाहीको लागि निवेदन दर्ता गरेकी थिइन् । निवेदनमा शिल्पालाई ‘सौता’को रुपमा चित्रित गर्दै कारवाहीको माग गरेकी छन् ।

सोही निवेदनको आधारमा प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारीको आदेश प्राप्त गरेको हो । अब प्रहरीले दुवैजनालाई जुनसुकै बेला र जहाँबाट पक्राउ गर्न सक्छ ।

छबिले शिल्पासँग विहे गर्नूपूर्व हेमा (जेठी श्रीमती)सँग सम्बन्ध विच्छेद गरेको हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । बिना सहमति र कानूनी रुपमा सम्बन्ध विच्छेद नगरेको अवस्था अर्को विहे गरेमा बहुविवाहको मुद्दा चल्ने कानूनी व्यवस्था छ । छबि र शिल्पामाथि लागेको बहुविवाहको अभियोग पुष्टि भएमा जरिवाना वा जेल सजायँ वा दुवै हुने कानूनी व्यवस्था छ । उनीहरु दुई जनाबीच विवाह भएको विषय केही समय अघिमात्र दर्ता गराएका थिए । सोही आधारमा टेकेर शिल्पाले छबिलाई श्रीमानको दर्जामा उनीविरुद्ध ‘घरेलु हिंसा’को उजुरी गरेकी थिइन् ।

योसँगै यी दुई जनाबीचको सम्बन्ध र घटनाले नयाँ मोड लिन पुगेको छ ।