नक्कली मार्कसिट बाँडदा समेत कुलपति मौन बस्नु रहस्यमय

प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

देशकै पुरानो विश्वविद्यालयले विद्यार्थीलाई अंक थपेर नक्कली मार्कसिट बाँडदा समेत कुलपति प्रधानमन्त्री केपी ओली मौन बस्नु रहस्यमय भएको विश्लेषकले बताएका छन् ।

शैक्षिक एजेण्डासहित साउन ३ गतेदेखि सडक संघर्षमा रहेको नेपाल विदार्थी संघले आयोजना गरेको ‘अन्तरक्रिया तथा शैक्षिक बहस’ विषयक कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले नीजि क्षेत्रबाट संचालित कलेजहरुमाथि निगरानी र नियमन गर्न नसकेका कारण मनपरी ढंगले विद्यार्थी र अभिभावकबाट चर्को मात्रामा शुल्क असुलिरहेको बताएका छन् । निजी कलेजहरुमा पनि राजनीतिकरण भएकोले सरकारले नियमन गर्न नचाहेको उनको आरोप छ ।

 

कक्षा ११ र १२ संचालन गरिरहेका राजधानीका सरकार समर्थक कलेज संचालकहरुले सरकारकै आडमा मनपरी शुल्क लिइरहेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । डा. महतले विद्यार्थीको संख्या (परिमाण)मा नभई शिक्षाई गुणस्तरमा ध्यान दिनुपर्ने धारण राखे । चर्को शुल्कका कारण विद्यार्थी र अभिभावक नीजि कलेजको चरम शोषणमा परेको उनले बताए । देश विकास असल शिक्षाकाे जगमा मात्र संभव हुने बताउँदै अहिलेकै अवस्था रहे नेपालको शैक्षिक सर्टिफिकेट विदेशमा इज्जत पाउन कठिन हुने भन्दै बेलैमा सचेत हुनुपर्ने बताए । यसलाई रोक्न सरकारलाई दबाब दिन नेविसंघले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन निर्देशन समेत दिए ।

कार्यक्रममा अर्का वक्ता विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले कम्युनिस्ट सरकार र विश्वविद्यालयका कुलपति कम्युनिस्ट नेता रहेको बेला घुस खुवाएर विद्यार्थीले धेरै अ‌ङ्क प्राप्त गरेकाे नक्कली सर्टिफिकेट लिएको घटना भएको देख्दा लज्जाबोध भएको बताए ।

 

केही हप्तापहिले मात्र देशकै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिविवि)बाट आफूले प्राप्त गरेको ६ प्राप्तांकलाई अगाडिपट्टि ९ थपेर ६९ पुर्याएको र तिनले राष्ट्रपतिबाट गोल्ड मेडल (तक्मा) प्राप्त गरेको घटनाबाट चकित भएको प्राडा केसीले यो कस्तो सरकार र राज्य हो ? भन्ने प्रश्न गरे ।
‘सरकार कम्युनिस्टकै छ, सरकारका प्रमुख प्रधानमन्त्री केपी ओली त्रिविविका कुलपति समेत छन्’ केसीले अगाडि भने ‘त्यही त्रिविविबाट घुसको भरमा ह््वात्तै बढाएर नक्कली मार्कसिट वितरण गर्छ, त्यति हुँदा समेत कुलपति चुँइक्क बोल्दैनन् । यो स्थिति के हो ?’
कम्तीमा प्रधानमन्त्री ओलीले ‘मैले यस्ताे खबर सुनेँ, यो के हो भनेर त्रिविविका कर्मचारीलाई बोलाएर सोध्नु पर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे । यही अवस्था रहेमा कुनैपनि निकायबाट वितरण गरिने मार्कसिटको विश्वस्नीयता नहुने उनको धारणा थियो ।

 

कक्षा ११–१२ र सीटीइभीटीका नर्सिङ, इन्जिनियरिङ कोर्स लिएर चलाइरहेका निजी कलेजहरुले विद्यार्थीसँग मनपरी तरिकाले शुल्क लिरहेको भन्दै मापदण्ड बनाउनुपर्ने, छात्रवृत्ति वितरण र नियमन पारदर्शी हुनुपर्नेलगायत माग राखेर नेविसंघ आन्दोलनरत छ ।
शिक्षाविद विद्यानाथ कोइरालाले नीजि कलेजहरु धेरै मात्रामा सरकार पक्षधरहरुले चलाएका र मनपरी रुपले शुल्क वृद्धि गराएपनि उनीहरुलाई कसैले छुन नसकिने तर्क गरे । ६० प्रतिशत निजी शिक्षण संस्थाहरु पूर्वएमाले समर्थकहरुले चलाइरहेको उनको छ । शिक्षा र स्वास्थ्य सरकारले मात्र संचालन नगरेसम्म शुल्क, पोशाक, कपिकिताबमा चरम व्यापार नरोकिने उनको भनाई थियो ।

कार्यक्रममा नेताहरु डा. चन्द्र भण्डारी, गुरुराज घिमिरे, गोविन्द पाेखरेल लगायतले निजी शिक्षण संस्थाहरुले मनपरी रुपमा बढाएको शुल्क तत्काल रोक्नुपर्ने बताए । कार्यक्रममा प्रतिमा गौतम, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, विद्यार्थी नेता मनहरि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।