रियलका सेबायोस आर्सनलमा अनुबन्ध

प्रकाशित मिति : शुक्रबार, साउन १०, २०७६

इङ्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर डानी सेबायोसलाई क्लबमा अनुबन्ध गरेको छ ।

मिडफिल्डर आरोन राम्से इटालियन क्लब युभेन्ट्स गएपछि मिडफिल्डरको अभावमा रहेको आर्सनलले सेबायोसलाई अनुबन्ध गरेको हो ।

२२ बर्षीय सेबायोसले गत सिजन रियलका लागि २३ खेल खेल्दै तीन गोल गरेका थिए । उनले रियलबाट कूल ३५ खेल खेल्दै पाँच गोल गरेका छन् ।

आर्सनलले सेबायोसलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।

सेबायोसलाई सन् २०१७ मा रियलले ६ वर्षका लागि अनुबन्धन गरेको थियो । सेबायोस प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा त्यति नपरेका कारण रियलले उनलाई तत्काल नबेचेर लोनमा आर्सनल पठाएको हो ।