विप्लव नेकपाका काठमाडौंका सेक्रेटरी भृकुटी गिरफ्तार

प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६

विप्लव नेतृत्वको नेकपाका काठमाडौंका सेक्रेटरी धिरेन्द्र उपाध्याय ‘भृकुटी’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनलाई आज दिउँसो बुढानिलकण्ठबाट गिरफ्तार गरेको हो । गिरफ्तार गरेको कुरा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले जनाएको छ । भृकुटी महिला संघ (क्रान्तिकारी)का केन्द्रीय महासचिव समेत हुन् ।

यस अलवा उनी पार्टीको उपत्यका विशेष ब्यूरो अन्तर्गत काठमाडौं जिल्लाका सेक्रेटरी पनि रहेका छन् । केही समयदेखि नै उनलाई प्रहरीले खोजी गरेको समाचार आइरहेकै बेला काठमाडौंबाटै गिरफ्तार परेकी हुन् ।

नेकपाका उपत्यका विशेष ब्यूरोका ईन्चार्ज समेत रहेका पार्टीका केन्द्रीय सदस्य माइला लामा ‘प्रज्वल’लाई यही साउन ४ गते गिरफ्तार गरी हाल पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा बन्दी छन् ।

माइलालगायत नेताहरुको गिरफ्तारीको विरोध र रिहाईको माग गर्दै विप्लव नेकपाले भोलि १५ गते वाग्मती, नारायणका सबै जिल्ला र जनकपुरका रामेछाप र दोलखा जिल्लामा बन्दको घोषणा गरेको छ ।

बन्दको पूर्वसन्ध्यामा वाग्मती क्षेत्रभित्रको काठमाडौं जिल्ला सेक्रेटरी गिरफ्प्तार परेका हुन् । तर यसबारे प्रहरीले अाैपचािरक रुपमा जानकारी दिएकाे छैन ।

सेक्रेटरी भृकुटीको गिरफ्तारपछि विप्लवलाई थप झटका पुगेको सुरक्षा निकायको विश्वास छ । पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको घोषणापछि यतामात्र प्रहरीले करिब ६ सयको संख्यामा गिरफ्तार गरिएको प्रहरीको दाबी गर्दै आएको छ ।