जेठानको हत्या गरे ज्वाइँले

प्रकाशित मिति : बुधबार, साउन १५, २०७६

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन् । खेतमा पानी लगाउने विषयमा झगडा हुँदा मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपकुमार बस्नेतले जानकारी दिए ।

जेठानको हत्या गरेपछि कुमाल आफैँ प्रहरी चौकीमा गएर आफूले हत्या गरेको जानकारी गराएका थिए । पानीको विवादका क्रममा झडप हुँदा हत्या भएको भनिए पनि हत्याको कारण अरु नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।