आत्महत्या गर्न वाद्य बनाएको आरोपमा शिक्षक पक्राउ

प्रकाशित मिति : बुधबार, साउन १५, २०७६

कंचनपुर : मानसिक यातना दिएर विद्यार्थीलाई आत्महत्या गर्न वाद्य बनाएको आरोप लागेका कंचनपुरका एक शिक्षकलाई पक्राउ गरिएको छ । मृतक विद्यार्थीका बुवाले दिएको किटानी जाहेरीको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएपसी गणेशबहादुर बमले बताए ।

उनलाई सोमबार बेलुका पक्राउ गरिएको उनले बताए । शनिवार कंचनपुरको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय सुरज लेखेकले भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको आफ्नै घरको कोठामा झुन्डियर आत्महत्या गरेका थिए ।

उनले आत्महत्या गर्नुअघि हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर सुसाईट नोटमा उल्लेख गरेका थिए । आत्महत्या गरेका विद्यार्थी सुरजका बुवा गणेश दत्त लेखकले आफ्नो छोरालाई शिक्षकले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक हरिलाल जोशीका विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक समेत रहेका लेखकले शिक्षक जोशीले शुक्रबार बिहान विद्यालय समयमा साथीसँग चुरोट खाइरहेको थाहा पाएपछि सुरज सहित दुई विद्यार्थीलाई विद्यालयमै बोलाएर कुटपिट गर्नुका साथै मानसिक यातना दिएको विद्यार्थीका बुबा गणेश लेखकले बताए ।

मानसिक यातना हुने गरी माफी सहितको लिखत गरी औँठा छाप लगाइएकोले उसलाई बढी मानसिक यातना पुगेको उनले बुझाई छ । शिक्षक जोशीलाई लिटिल बुद्ध एकेडेमीले आइतबार सेवाबाट हटाएको थियो ।

प्रिन्सिपल श्यामसिंह मौनीले विद्यार्थीले गरेको सुसाइट नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई सेवाबाट हटाएको बताए । पछिल्लो समयमा विद्यालयमा शिक्षकबाट विद्यार्थी कुटिन थालेपछि विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् ।