प्रदेश सरकारले गर्यो केन्द्र सरकारविरुद्व सर्वोच्चमा मुद्दा दायर

प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६

काठमाडाैं ः संविधानले दिएको अधिकार खाेसेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वाेच्चमा बिहिबार मुद्दा दायर भएको हो ।

संविधानले राष्ट्रिय वनको संरक्षण र ब्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएपनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई संघीय (केन्द्र) सरकारले अधिकार मिचेर कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा ल्याउन खोजेको मन्त्रालयको दाबी छ ।
‘प्रदेशको अधिकारलाई संघीय सरकारले पुनः हड्पन खोजेको छ’ प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भने, ‘प्रदेशभित्रको वनलाई कम्पनीमा रुपान्तरण गरी संघीय सरकारले आफ्नो मातहत ल्याउन खोजेकाले रिट दायर गरिएको छ ।’

मुद्दमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको छ । पक्षले मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेश समेत माग गरिएको छ । मुद्दामा प्रदेशका मुख्य न्यायाधिवक्ताले शुक्रबार बहस गर्ने भएका छन् ।

देश संघीयतामा गएको करिब दुई वर्षमा प्रदेश सरकार र संघीय सरकारबिच टक्कर शुरु भएको छ ।