२९ तले भ्यु टावरका ठेकेदार भेटवालसहित ४ जनाविरुद्ध हुन्डी कारोबारको मुद्दा

प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६

काठमाडौं :  पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ बनाउने ठेक्का पाएका मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

गैरकानुनी रूपमा हुन्डी कारोबार गरेको अभियोगमा राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटवाल र निशा गुरुङ विरुद्ध राजश्व अनुसन्धान विभाग हरिहरभवनले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

विदेशी विनिमय ऐनअनुसार कारबाही हुनुपर्ने भन्दै विभागले उनीहरूसँग ४ करोड ६० लाख रुपैयाँका दरले बिगो अनि त्यसको ३ गुणा सजाय र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ ।

भेटवाल पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरको निर्माणको ठेक्का पाएको कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका संचालक हुन् । अमिताभ मल्टी प्रपोज प्रालिकी सञ्चालकसमेत रहेकी निशाले सिंगापुरमा रहेका आफन्त, साथीहरू र अन्य व्यक्तिसँग काठमाडौं भ्यु टावरमा लगानी गर्ने भनी रकम संकलन गरी राष्ट्र बैंकको अनुमतिबिना गैरकानुनी रूपमा हुन्डीबाट नेपाल भित्र्याएको विभागको आरोप छ ।

राजकुमार विष्ट र उनका भाइ शिव विष्टको सहयोगमा भेटवालसँग मिलेमतो गरी रकम प्रयोग गरिएको विभागको अनुसन्धानबाट खुलेको छ । उनीहरुको सहयोगमा साढे ४ करोड बढी रकम ल्याई विभिन्न व्यक्तिहरुलाई वितरण गरेको विभागले जनाएको छ ।

करिब ६ वर्षअघि ०७२ कात्तिकमा तीन वर्षभित्र टावर बनाउने सम्झौताअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन र्गनुभएको थियो ।

उक्त सम्झौताअनुसार टावर बनाउने निर्धारित समयसीमा ०७५ असारमा नै सकिएको थियो । तर अहिलेसम्म टावरको पाइल हाल्नेबाहेक अन्य काम हुन सकेको छैन । विभिन्न कानुनी अड्चन देखाउँदै निर्माण जिम्मा पाएको बिकोई बिल्डर्सले ढिलाइगरिरहेको छ ।

यो टावरमा पाँच सय वटा पसलहरू सञ्चालन हुने र त्यसबाट २५ सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गर्ने बताइएको छ । सबैभन्दा माथिल्लो तलामा राउन्ड टावर निर्माण गरिनेछ । त्यहाँबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिनेछ ।

दुई तलामा भूमिगत पार्किङ रहने टावरको सबैभन्दा तल्लो तलामा बसपार्क रहनेछ । त्यहाँ सात वटा लेनमा ठूला बसहरू राउन्ड लगाउँदै बाहिर निस्कने गरी डिजाइन तयार पारिएको छ । एकैपटक दुई सय वटा गाडीलाई सात वटा लेनबाट परिचालन गर्न सकिनेछ ।