दोलखामा पहिरो खस्दा १० घर पुरियाे, दुईजना बेपत्ता

बाढी पहिरो
प्रकाशित मिति : शनिबार, साउन १८, २०७६

काठमाडौँ ः  दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा पहिरो खस्दा १० घर पुरिएका छन् । घटनामा दुई जना सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

पहिरोले १० घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको र ११ घरमा बस्न नमिल्ने गरी क्षति पुर्‍याएको रिजालले बताए ।

शुक्रबार राति पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका थिए । तर भाग्ने क्रममा दुई जना भने सम्पर्कबिहिन भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्।

बेपत्ता हुनेमा ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का रहेका छन् । खत्री पहिरोबाट बच्न भाग्ने क्रममा र खड्का पहिरोले पुर्न थालेको बस निकाल्ने क्रममा बेपत्ता भएको प्रजिअ रिजालले बताए ।

उनीहरुको खोजी भइरहेको छ । अहिले घटनास्थलमा स्थानीय प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारका लागि खटिएका छन् । घटनास्थल सदरमुकामबाट अढाई घण्टा मोटरबाटो र त्यसपछि अझै अढाई घण्टाको पैदल दूरीमा पर्छ ।

‘हामी उद्धार र राहतका सामग्री लिएर घटनास्थल जाँदैछौँ’, प्रजिअ रिजालले भने ।