बामदेवलाई आयो प्रस्ताव, के गर्छिन बिद्या ?

प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमलाई काँस्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव आएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बन्न गौतमलाई प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ । ओलीको प्रस्तावलाई गौतमले अस्वीकार गरेका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटारमा बोलाएर काँस्कीबाट उम्मेदवार बन्न आग्रह गरेको जनाइएको छ ।नागरिक दैनिकका अनुसार गौतमले प्रधानमन्त्री ओलीको आग्रहलाई अस्वीकार गर्दै काँस्की क्षेत्र नं. २ मा स्व. रविन्द्र अधिकारीकी पत्नी विद्या अधिकारीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले गौतमलाई उपनिर्वाचनका क्रममा काँस्की क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने कुनैपनि निर्णय नभएको बताए ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । यसअघि नेता गौतमले विभिन्न क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा चलेको थियो । काँस्की क्षेत्र नं. २ बाट पनि उम्मेदवार बन्ने चर्चा थियो । तर, विरोध भएपछि गौतम ब्याक भएका थिए ।

जीवराज मदन भण्डारीको पनि नेता : वामदेव

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले जीवराज आश्रित मदन भण्डारीको पनि नेता भएको दाबी गरेका छन् । आश्रितको ७५ जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् ।

उनले भने,‘पार्टीले जीवराज आश्रितलाई कुसल संगठकका रुपमा मात्र चित्रण गर्यो, उहाँ त मदन भण्डारीको पनि नेता हुनुहुन्थ्यो ।’ आफूहरुले मदन भण्डारीलाई जननेताका रुपमा चित्रण गरेको तर जीवराज आश्रितलाई कुसल संगठक भनेर मात्रै चित्रण गरेको सुनाए । उनले भने,‘यसमा मलाई चित्त बुझेको छैन । एउटा जननेता हुन अर्को संगठक मात्र ?,

कांग्रेस-नेकपाले चुनावमा विदेशीको पैसा लिन्छन्

राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप लगाएका छन् । पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दे अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् ।

थापाले गम्भिर आरोप लगाउँदै भने,”आफूलाई प्रमुख भन्ने ठूला पार्टी आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन्। जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमानपूर्वक काम गर्न सक्दैन।” कांग्रेस र कम्युनिष्टले बोकेको विचार र हिँडेको बाटो नै गलत भएकोले त्यसको विकल्पमा आफ्नो पार्टी खडा भएको उनको भनाई छ ।

उनले प्रमुख दलहरुले मुलुकलाई तेह्र वर्षदेखि गलत बाटोमा हिँडाएको आरोप लगाए । उनले सर्वत्र मौलाउदै गईरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिए।