भारतीय दूतावासको पत्र प्रधानमन्त्रीलाई नदिइएकै हो : बलदेव

तरकारी बिषादी प्रकरण
प्रकाशित मिति : आइतवार, साउन १९, २०७६

काठमाडाैं ः गएको असार तेस्रो हप्तातिर नेपाली बजार तरकारीमा विषादी परीक्षण विषयले निकै ततायो । नेपाली बजारमा छाइरहेको भारतीय लगायत तेस्रो मुलुकमाट आयात तरकारीमा विषादी परिक्षण नगर्न भारतले पत्र नै लेखेर दिएको दबाबबारे क्रमशः रहस्य खुल्दै गएका छन् ।

पहिले निर्णय भएपनि तत्कालका लागि सरकारले नै विषादी परीक्षण रोक्न निर्णय गरेको बताएर प्रधानमन्त्रीले परीक्षण रोक्न भारतको कुनै किसिमको मौखिक र लिखित दबाब नरहेको स्पष्टिकरण समेत दिएका थिए । भारतीय दूतावासमाफर्त पत्र काटेर रोक्न सरकारलाई दबाब दिएको प्रसंगमा प्रधानमन्त्री पत्रकारविरुद्ध निकै कढ्किए पनि ।

तर आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले विषादी रोक्न भारतले नेपालस्थित दूतावासमार्फत लिखित रुपमा पत्र काटेर दबाब दिएको खुलासा गरेका छन् । सो पत्र आफूले प्रधानमन्त्रीलाई समयमै उप्लब्ध नगराएको रहस्य समेत खोलेका छन् । त्यसमा आफूले गल्ती गरेको पनि स्वीकारे ।

मन्त्री खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई समयमा जानकारी नदिनु गल्ती भएको स्वीकार गरेका छन् । विषादी परीक्षणबारे भारतले केही नभनेको भनी प्रधानमन्त्रीले प्रतिक्रिया दिएको दुई दिनपछिमात्र प्रधानमन्त्रीको हातमा पत्र पुगेको समितिसमक्ष जवाफमा खनालको स्वीकारोक्ति थियो ।

‘प्रधानमन्त्रीज्यूले २१ गते पत्र आएको छैन भनेर बोल्नुभयो । २३ गतेमात्र त्यो पत्र उहाँको हातमा पारियो । हाम्रो गल्ती त्यहीनेर भएको हो । यसमा मेरो मन्त्रालयको कमजोरी रहन गयो’ उनले समिति बैठकमा जवाफ दिँदै भने ।

असारको तेस्रो सातामा भारत तथा तेस्रो मुलुकबाट आयात भएका तरकारी र फलफूल विषादी परीक्षण गरेरमात्र नेपाल भित्र्याउन दिने सरकारले नीति लिएकोमा काठमाडौंस्थित भारतीय दूतावासले पत्र लेखी विषादी परीक्षण रोक्न माग गर्दै दबाब दिएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले भने भारतबाट कुनैकिसिमको दबाब नआएको प्रष्टिकरण दिएका थिए । आइतबार समिति बैठकमा सांसदहरुले भारतीय दूतावाको पत्रबारे प्रश्न सोधेपछि मन्त्री खनालले उक्त रहस्य खोलेका हुन् ।

पत्रबारे जानकरी भएपछि प्रम ओलीले परीक्षण मेशिन पर्याप्त नभएका कारण परीक्षण कार्य तत्काल पूर्ण नहुने बताउँदै आएका छन् । अहिले विषादी परीक्षणको काम कहाँ कहाँ र कसरी भइरहेका छन् भन्नेबारे मन्त्री खनालले ठोस जवाफ नदिएको समितिका एक सदस्यले बताए ।