सरकारको आधिकारिक पत्र बिना बार्ता सम्भब छैन: बिप्लब नेता कार्की

प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ साधारण तारीखमा रिहा भएका छन् । काठमाडौं प्रहरीले टेकुपरिसरको हिरासतमा राखिएका उनी आज काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेशमा साधारण तारेखमा रिहा भएका हुन् ।

नुवाकोट जिल्ला प्रहरी कार्यालयमा आगजनी र संगठित अपराध कसुरमा बन्दी बनाइराखिएको बेला सर्वोच्च अदालतबाट भएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा जारी भएको रिटबाट साउन ७ गते रिहा भएलगत्तै पुनः गिरफ्तार भई महानगरीय प्रहरी काठमाडौं परिसरमा थुनामा राखिएका थिए । परिसरले उनीमाथि अभद्र व्यवहारको कसुरमाा मुद्दा चलाइएको थियो ।

सोही मुद्दामा आइतबार प्रमुख जिल्ला अधिकारीले नेता कार्कीलाई साधारण तारेखमा थुना मुक्त गर्न आदेश दिएपछि रिहा भएका हुन् । यसपटक उनीमाथि पुनः गिरफ्तारीको श्रृंखला दोहोरिएन । यद्यपि अन्यत्र भने गिरफ्तारी श्रृंखला सरकारले चलाइ नै राखेको छ ।
गत फागुन २८ मा सरकारले प्रतिबन्धको घोषणापछि गिरफ्तारमध्ये रिहा हुनेमा कार्की विप्लव नेकपाका उच्च नेता हुन् । यसअघि गत महिना असारमा सुनसरीबाट केन्द्रीय सदस्य चुणमणि वली ‘आदर्श’ र चन्द्रबहादुर खडका ‘असल’ थिए । नेता कार्कीलाई गत चैत १ गते ललितपुरको च्यासलबाट गिरफ्तार गरिएको थियो । गिरफ्तारपछि उनलाई काठमाडौंमा तीन पटक, नुवाकोट र संखुवासभामा गरी ठाउँमा घुमाएका थिए । उनी १ सय ४३ दिन हिरासत बसाईँपछि रिहा भएका हुन् । पाँच ठाउँमध्ये तीन ठाउँबाट साधारण तारेख र दुई वटामा बन्दीप्रत्यक्षीकरण रिटबाट छुटेका थिए ।

रिहाईलगत्तै संचारकर्मीसँग नेता कार्कीले विद्रोहीभन्दा सरकार बढी जिम्मेवार हुनुपर्ने र राजनीतिक सम्बोधन विषयबाहेक विप्लव नेतृत्वको नेकपासँग वार्ताको औचित्य र संभव नरहेको प्रतिक्रिया दिए । पार्टी वार्ता विरोधी नरहेको तर साँचो र जिम्मेवारीपूर्ण वार्ताका लागि सरकारले पार्टी महासचिवको नाममा औपचारिक रुपमा पत्र काट्न अनिवार्य रहेको उनले बताए ।

‘राजनीतिक रुपमा सम्बोधन गर्नुको साटो दमन गरेरै सिध्याउँछौं भनेर सरकारले लागेमा देश द्वन्द्वमा जाने खतरा छ’ उनले भने, ‘यसमा राज्य बढी जिम्मेवार हुनुपर्छ ।’ बन्दी बनाइएका पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई रिहा गर्न सरकारले ढिलाई गर्न नहुने र पार्टीलाई खुला राजनीतिक गतिविधि गर्ने वातावरण बनाउन पनि सरकारसँग उनले माग गरे ।