समायोजन भई गएका कर्मचारीको बढ्यो तलब

प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

सरकारले प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका कर्मचारीको नयाँ तलबमान तोकेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान अनुसार कर्मचारीको तलब सूची सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७५०७६ का लागि तोकिएको तलबमानअनुसार समायोजनमा गएका कर्मचारीले हाजिर भएको मितिदेखि नयाँ पारिश्रमिक पाउँछन् ।

अर्थ मन्त्रालयका शाखा अधिकृत सुवोध खतिवडाका अनुसार सहायक चौथोको तलब बढेर २९ हजार पाँच सय ६० पुगेको छ। ग्रेड संख्या र ग्रेड दरका आधारमा पारिश्रमिक तय भएको हो । १० ग्रेड संख्या र ७३९ ग्रेड दर भएका कर्मचारीको तलब २९ हजार पाँच सय ६० पुगेको छ।
ग्रेड संख्या ५ र ग्रेड दर एक हजार चार सय २९ भएका अधिकृत ११ औं तलब ५० हजार २५ रुपैयाँ पुगेको छ। यसअघि उनीहरूको तलब ४२ हजार ८ सय ८० थियो ।

श्रेणीविहीन कर्मचारीमध्ये प्रथम स्तरका कार्यालय सहयोगीको तलब १७ हजार तीन सय १२ पुगेको छ। दुई ग्रेड र पाँच सय ४१ ग्रेड संख्या भएका यी कर्मचारीको तलब बढ्नु अघि १६ हजार दुई सय ३० थियो।