नेकपालाई धुम्बराहीको कार्यालय तत्काल हटाउन विश्वप्रकाशको चेतावनी

प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६

नेपाली कांग्रेसले सत्तारुढ नेकपालाई काठमाडौंको धुम्बराहीस्थित सरकारी जग्गामा राखिएको कार्यालय तत्काल हटाउन माग गरेको छ ।

बिहिबार केन्द्रीय कार्यालय ललितपुरको सनेपास्थि वीपीनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यालय चलाइरहेको भन्दै उनले आपत्ति जनाए । तुरुन्त हटाउन पनि चेतावनी दिए ।

‘सरकारको जग्गामा नेकपाले पार्टीको कार्यालय राख्न पाइँदैन, तत्काल खाली गराएर नैतिकता देखाउन सक्नुपर्छ’ उनले भने ‘नेकपाले सरकारी जग्गामा कार्यालय राखे लज्जित तुल्यायो, यसमा माफी माग्नुपर्छ ।’

धुम्बराहीमा रहेको नेकपाको कार्यालय पूर्वएमालेको हो । तत्कालीन प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग एकतापछि एमालेको धुम्बराहीमा रहेको केन्द्रीय कार्यालय र कोटेश्वरस्थित पेरिस डाँडामा रहेको माकेको केन्द्रीय कार्यालय दुवै संचालनमा छन् । एकतापछि बनेको नेकपाको बैठक धेरैजसो धुम्बराहीमा बस्ने गर्दै आएको छ ।

तर केहीदिन अघिमात्र धुम्बराही कार्यालय रहेको जग्गा पासाङ ल्हामू फाउण्डेसनको नाममा रहेको संचारमाध्यमबाट खुलस्त भएपछि सर्वत्र विरोध हुँदै आएको छ । सोही विषयलाई लिएर आज संसदको प्रमुख प्रतिपक्ष दल समेत रहेको कांग्रेसले पत्रकार सम्मेलन गरेरै नेकपा घोर अनैतिक बनेको भन्दै धज्जी उडाएको हो ।

‘यो गम्भीर गल्तीप्रति सत्तारुढ नेकपा क्षमायाचना गर्दै तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित हुनबाट जोगाउनेछ भन्ने विश्वास लिएका छौं’ प्रवक्ता शर्माले भने । उनले सत्तारुढ नेकपामा राज्यको जेपनि खाइदिने प्रवृत्ति देखिएको जनाउँदै धुम्बराहीको सरकारी जग्गामा राखिएको कार्यालय तुरुन्त हटाउन माग गरे ।

उनले गोंगबु बसपार्क प्रकरणमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुन्धानकाा लागि अख्तियार दुरुपयोग आयोगसँग आग्रह गरेका छन् । ‘जाइकासँगको सहमतिभन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनी जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ । कांग्रेस यससम्बन्धी तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञिप्तमा उल्लेख छ ।

नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा व्यक्त कांग्रेसप्रतिको दृष्टिकोणबारे पनि कडा आपत्ति जनाए । ’दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टिउपर दृष्टिकोण व्यक्त गर्न मिल्छ, दृष्टिदोषमाथि केवल दया मात्र’ प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ । कांग्रेस सधैं लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रताको पक्षमा नेतृत्व्दायी भूमिका निर्वाह गर्दै आइरहेको र यसमा तलमाथि नहुने पनि प्रष्ट पारे ।

नेकपाले सरकारी जग्गामा कार्यालय राखेको विषय सडकदेखि सदनसम्म उठेको छ । संसदमा कांग्रेसको संसदीय दलका सचेतक पुष्पा भुसालले मंगलबारको प्रतिनिधिसभाको बैठक नेकपाले सरकारी जग्गामा कार्यालय राखेर ‘सरकारी जग्गा भोकाधिकार सम्बन्धी नियम’को ठाडो उल्लंघन गरेको भन्दै तत्काल हटाउन माग गरेकी थिइन् ।

सरकारी जग्गा हडपेर पार्टी कार्यालय राखेकाे भन्दै सडकबाट पनि विराेधका स्वर बढ्दै गइरहेका छन् ।