प्रचण्ड–बाबुराममाथि ‘हेग’ प्रसंगः पूर्वबाल जनसेनाको टोलीद्वारा अष्ट्रेलियाली राजदूतसँग भेटघाट

प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

थुप्रै बालबालिकालाई तत्कालीन नेकपा (माओवादी) नेतृत्व प्रचण्डको निर्देशनमा बाल उमेरमै सशस्त्र संघर्ष (जनयुद्ध)का हिँडाएर अन्तर्राष्ट्रिय फौजदारी कानूनको गम्भीर उल्लंघन गरेको भन्दै दोषीलाई दण्ड–सजाँयका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा उभ्याउने चेतावनी दिँदै आइरहेको पूर्वबाल जनसेनाको टोलीले सोमबार नेपालस्थित अष्ट्रेलियाली राजदूतसँग भेटवार्ता गरेको छ ।

दश सदस्यीय टोलीले राजदूतावास महाराजगन्ज पुगेर राजदूत पिटर बडसँग भेटवार्ता गरेको हो । टोली नेता पूर्वबाल जनसेनाका इन्चार्ज लेनिन विष्टको नेतृत्वमा दूतावास पुगेको थियो । भेटवार्ता सकारात्मक भएको टोली प्रमुख ष्टिले जानकारी दिए । ‘हामीले आफूहरुमाथि जनयुद्धमा परेको अन्यायबारे सरसर्ती राख्यौं, यसमा राजदूत पिटर बड (Petter Budd) ले विषयलाई गम्भीर रुपमा लिएको जवाफ दिनुभयो’ विष्टले अनलाइनपाना डटकमसँग भने ।

करिब दुई घण्टा चलेको छलफलमा युद्ध अपराधसम्बन्धी मुद्दा विश्वकै लागि गम्भीर भएको र भविष्यमा पनि यसलाई दोहोरिन नदिन सबै पक्षले सक्दो सहयोग पुर्याउनुपर्ने धारणा राजदूत पिटरले राखेको जनाइएको छ । बडले आफ्नो तर्फबाट पूर्वबाल जनसेनाले उठाएको विषय निराकरण गर्न सक्दो सहयोग गर्ने वचन दिएको टोली सदस्यले बताए ।

झण्डै महिना दिनअघि बडले पत्रकारहरुसँगको कुराकानीमा द्वन्द्वसँग जोडिएका पूर्वबाल जनसैनिकको मुद्दालाई समयमै नटुंग्याए आरोपित नेपाली नेपालीहरु विदेशी भूमिमा जुनसुकै बेला पक्राउ पर्न सक्ने बताएका थिए ।

गत शुक्रबार मात्र सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले संसदमा विशेष समय लिएर बोल्दै तत्कालीन माओवादी र सरकारबीचको द्वन्द्वका महत्वपूर्ण विषय सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन हुन नसक्दा पीडितहरुले न्याय पाउन नसकिरहेको र हेगको विषयले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश पाउने खतरा बढेको भन्दै तत्काल आयोग गठन गर्न सरकारसँग माग गरेका थिए ।

जनयुद्धमा ४ हजार ८ जना बालबालिका प्रयोग गरिएको र शान्ति प्रक्रियापछि अलपत्र अवस्थामा छाडिएको तथ्यांक टोलीसँग छ । उनीहरुले प्रभावित सबै बालसैनिकलाई अधिकारसहित न्याय दिनुपर्ने, अन्यथा तत्कालीन नेतृत्व प्रचण्ड र अर्का नेता बाबुराम भट्टराईलगायत दोषी नेताहरुलाई दण्डसजायँका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा उभ्याउने चेतावनी दिँदै आइरहेका छन् ।
यसैविषयलाई लिएर टोलीले सरकारका मन्त्री, पूर्वसेनापति लगायत व्यक्तिहरुसँग भेटघाट र छलफल गरिसकेको छ ।