कथा : चोर

 प्रकाश आङदेम्बे प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

 

 

 “तेनेहाङको पसल चोरले फोरेछ नि”
“त्यती दह्रो सटर कसरी फुटाएछ हँ”
“केही नराख्ने भो चोर डाकाहरुले ”

यस्तै–यस्तै वाक्यहरु ओकल्दै सयौं मान्छेहरु विर्तामोड चोकमा ओहोर दोहोर गरिरहेका छन् । म यतिबेला छेवैको गार्डेन फोटो स्टूडियोमा विशाल सोल्टीसँग चिया पिउँदै छु । समय बिहानको साढे सात बजेको छ । रातभर आँधी, हुरी, चट्याङ सहितको बर्षा बर्षिएर भर्खर रोकिएको छ । आकास भने कालो मडारिएकै छ । गड्याङगुडुङ आवाज वेलावेला आइरहेको छ ।
“यस्तो कर्फ्र्यू लागेको समय, त्यसमाथि आँधीहुरी चलेको बेला पनि कत्रो हिम्मत गर्न सकेको हँ” ल्याबमा लानको निम्ती फोटोहरु सिडीमा कपी गर्दै विशाल सोल्टीले भने ।
“……” म सुन्छु मात्र ।
“ओ विशाल दाजु ! हेर्न नजाने ?” छेउकै मोटे पसलेले भन्यो ।
“जाने नि ।” विशाल सोल्टी भन्यो ।
सटर हाफ तानेर हामी मान्छे भेलिए तर्फ लाग्छौँ । तेनेहाङको दोकान वरिपरी मान्छेहरु तीन चार सयको सङ्ख्यामा भेला भएका थिए । हामी पनि थपियौं ।
“हेर्नुहोस् न सटर कति मजाले काटेको छ” सटर काटेको देखाउँदै एक जनाले भन्यो ।
“यो पेसेवर चोर नै हुनुपर्छ !” अर्कोले थप्यो ।
“चोर मात्र हैन यस्तो चोकमा बिगार गर्ने त डाकाहरु नै हुनुपर्छ ।” थप शङ्का गर्दै अर्कोले भन्यो ।
“कुरा बुझ्दा त आफन्त या नजिकै को मान्छेको काम जस्तो लाग्छ ।” चोर औंला र बुढी औलाले जुँगा सम्याउँदै चिउरामिलको साहूले थप्यो ।
“के–के हराएछ त साहुजी ?” भीडबाट सवालहरु उठे ।

तेनेहाङले शुरुमा पैसा राख्ने गल्ला हेर्यो । अलिक महङगो सामानको -याक हेर्यो । यता उता सबै सबै दु्रत गतिमा नियाल्यो । सबै समानहरु सही सलामत देख्दै गएपछि मन पनि हलुका हुँदै गयो । हलुका मन बोकेको आँखा फेरि चामलको बोरा भएको ठाउँमा अडियो र भन्यो
“पन्द्र केजीको चामलको एउटा बोरा मात्र छैन”

तेनेहाङको कुरा सुन्ने बितिक्कै धेरैजसो मान्छेहरु गललल हाँसे । कतिलाई त विश्वास नै लागेन र भन्दै थिए
“अलि राम्ररी हेर्नुहोस् न ।”
“गल्लामा पैसा २५,०००।– थियो त्यो पनि जस्ताको त्यस्तै छ । अरु सामान पनि जस्ताको त्यस्तै, जहाँका त्यहीँ छन्” अरु नहराएको प्रमाणित गर्दै तेनेहाङ भन्छ ।
“यो सटर चामल मात्र चोर्नेले फोर्दैन” कपाल फुलेको चिमोरिया बाजेले पावरवाला चस्मा नाकको डाँडीबाट औंलाले मास्तिर सार्दै शङ्का ओकल्यो ।


“यदी ठूलो चोर भए त पैसा पनि लानु पर्ने” अर्को एकजनाले अड्को थप्यो ।
“मलाई के लाग्छ भने यी चोरहरु निकैजना थिए । समान, पैसा सबै लिएर जाने योजना थियो होला तर एकबोरा चामल निकाली सक्दा नसक्दा प्रहरीहरु हिँडेको देखे र टाप कसे होलान् नत्र त…” शङ्कामाथि शङ्का मुछेर आफ्नो तर्क राखे लिम्बू बाजेले ।
“जसले जे भने पनि चामल मात्रै चोर्नका लागि चाहिँ यो सटर फोरेको हैन” सामान्य कुरा नभएको सोच्तै विशाल सोल्टीले भने ।
“मलाई लाग्छ अब कस्तो प्रतिक्रिया हुन्छ भनेर आरिसेहरुले पनि गरेका हुन सक्छन्” थप एक अर्ध उमेरको व्यक्तिले चुरोट तान्दै भने ।
“नदेखेको चोर बाउ बराबर” मैले पनि उपस्थित जनाएँ ।
शङ्का उपशङ्का र मुखामुखको मेला लाग्यो त्यहाँ । प्रत्येक व्यापारीहरु आफ्नो पसल नखोली त्यही घटना हेर्न आएका थिए पहिला । अनुमान, शङ्काले आकाश छुन लागेको थियो ।
चोर…
डाका…
सत्रु…
आरिसे आफन्त…

को हुनसक्छ यो घटनाको जिम्मेवार ?
हेर्न आउनेपिच्छे नै अलग–अलग धारणा उब्जन्थ्यो । उपस्थित कसैको पनि एउटै अनुमान मिलेन ।
“कसले चामल मात्र चोर्छ र ?” यही सवाल बोकेर प्रत्येकको शरिरवाट निस्केको स्वास हावा हुँदै वातावरणमा तरङगियो । वातावरण आफैमा जासुसीको जालो जस्तो भयो ।
मुख लेप्य्राउँदै, हातको पन्जा बटार्दै केही पसलेहरु आफ्नो पसल खोल्नतिर लागे । तेनेहाङ सानो कपडाले पसलको धुलो टक्टकाउन थाल्यो । चार, पाँच जनाको झुन्डहरु आठ दश वटा भएर पनि गफिन थाले । भीडले छेऊको राजवंसीको चियापसल व्यस्त बन्यो । दिनभरीलाई ल्याएको दुध अघि सक्कियो । कालो चिया मात्र दिदैं थियो । आकाश पानी चुहिएलाको अवस्थामा छ ।

यत्तिकैमा एक व्यक्ती खल्च्याङ्ग–खल्च्याङ्ग गर्दै लठ्टी टेकेर खालीखुट्टा आइपुग्यो । के–के जातिको दागै–दाग लागेको पूरानो सेन्डुभेस्ट लगाएको छ । दाहिने काँधमा सेन्डु बटारिएको छ । रगतविनाको सुेकेको अनुहार छाला नहुँदो हो त अस्थिपन्जर नै हुन्थ्यो । सायद ऐना हेर्दो हो त उ आफै आफ्नो अनुहारसँग तर्सिन्थ्यो । कुपोषण र रोगले बृद्द देखिन्छ तर उमेर ४५ बर्षको मात्र रहेछ । घुडाँमुनी थोत्रो कपडाले कसेर बाँधेको छ । बाँधेको छेऊवाट पिप र रगत निस्किरहेको देखिन्छ । हामी सबैको ध्यान उसले खिच्यो ।
ऊ डरले कापिरहेको छ ।
उसको अनुहारमा ग्लानी छ ।
भय छ ।
“यो पसलको साहु जी को परिलिनु भो” सवैलाई हेर्दै सोध्यो ।
फेरि सबैले मुखामुख गर्यौं । विसाल जी ले मुख चुच्चो पारेर तेनेहाङतिर मुन्टो वर्टानु भो । तेनेहाङले असमञ्जसमा हो भन्यो ।
तेनेहाङको अगाडि शिर झुकाउँदै भन्यो ।
“हजुर ! चोर हमी हुँ ।”
हामी सबै छक्क पर्यौं । एकले अर्कालाई, अर्काले अर्कालाई हेर्न थाल्यौँ । पहिलो पटक चोरले चोर हुँ भनेर कवुल गरेको सुनियो । सायद सवैलाई त्यस्तै भएको हुँदो हो । केहीले झोक्किएर उसको कठालो समाते । उसले तेनेहाङको खुट्टा खुट्टा समात्यो । उसको दयनीय अवस्था देखेर सबैले उसको कुरा सुन्न चाहे । कठालो समात्नेले पनि छोडिदिए ।
“हो के ?”
विश्वास नलागेर तेनेहाङले सोध्यो ।
“हो हजुर हमी हुँ ।” रुँदै भन्यो ।
“किन ? यस्तो गरेको ?” मोटे पसलेले भन्यो ।

उसले दाइने हातको पाखुरामा आँखाको आँसु पुछ्दै आफ्नो कहानी सुरु गर्यो ।
“मेरो अपना नाम छैना । जसको जे पसन्द आउँछ वही नाम से पुकार्छ । म एउटा गरीब मान्छे छु हजुर । मा–बाप म सानो हुँदा मरिगयो रे । मैलाई त पता नही । कित्नाले थारु भन्छन्, कित्नाले मेचे । खास हमी के हो ? पता छैना । घरवर केही छैना । धेरै साल चकचकी गाउँमा हली गरिलिएँ । त्यहाँवाट पनि निकाली लियो । त्यसपछि यहाँ आएर ज्याला, मजुदरी, रिक्सा चलाउने काम गरिलियो । अदुवा नदीके सामनेको सुकुम्वासीमा सुँगुर चराउनु काम पायो । उसी वक्त डोमकी छोरीसँग मुलाकात भयो । हमी बिहे गरिलियो । विहेपछि उसने वहुत दुःख पायो । छोरा–छोरी सपको भगवानले लगिदियो । अभि फिर बुढी दुइज्युकी थियो । टि.वि. बिरामी पनि छ उसकोसंग । अस्पताल लानेको लागि हमीसंग पैसा पासमे नही थियो । म ठेला ठेल्ने काम गर्दै थियो । अचानक लडेर घुँडामा (घुडाँ देखाउदै) चोट लागिगयो । हप्ता दिनको वाद घरमा सबैकुरा सकिलियो । खानुको लागि कोठामा कुछभि नइ थियो । जान–पहिचानकोलाई सहयोग भने । अपना अवस्था देखेर कसैले हेल्प गरिलिएन । इतना चामलसम्म (मुठ्ठी देखाउँदै) पाइन, इतना ठूलो सहरमा । बिरामीके बाद भोकै पानी पिएर बसेँ । दूईज्यूकी श्रीमतीको पनि पानी नै दियो । के गर्ने, खाने कुरा कहाँ से दिऊँ” ।
उसको आँसुको थोपा तेनेहाङको जुत्तामा तप्किरहेको थियो । धुलोले धुमिल जुत्तामा आँसुको थोप्ला सानो ताल जस्तो लाग्थ्यो । उसले भक्कानिदैं भनिरह्यो “हमी आफु मात्रै भए ठिक थियो । पिडा सहलिन्थो हुजुर तर मधरातमा आँधी, हुरी, चटङ्ग परेको बेला स्वास्नी सुत्केरी भइगयो । “भोक लाग्यो” भन्दै फटक–फटक गर्दै बेहोस भइगयो । फिर होसमा आउँदा “भात” भन्दै फेरि बेहोस भइलिन्थ्थो । उसले लडका–लडकी, जिन्दा या मुर्दा के जन्माइलियो पता पनि लिइन त्यो बेला । यो संसारमा आजतक मलाई उसिले मात्र अच्छा साथ दियो । मेरो सबकुछ बस वही थियो । मेरो आँखके सामने भुखले फटक–फटक गरिलिएको मैले हेर्न सकिन । उसके वाद जो होगा–होगा भनेर घरसे बाहर आएँ । बजार सब सुनसान । कहीँ कहीँ पुलिसवाला ग्रुपग्रुप मे थियो । पुलिसको आँखसे बचके यहाँ आयो । फस्ट मे यहीँ को सटरको चाबी हेरेँ । तक्दीर ! सटरको चाबी एकगोटा मात्र बन्द पायो । अर्कोको घर से ल्याएको ह्याप्सोले काँट्यो । सटर खुल्यो । हमी भित्र पस्यो । मेरो ध्यान सिर्फ चामल पे थियो । १५ केजीको एक बोरा चामल निकाल्कर लगेँ । लाइफमे फस्ट टाइम चोरी भयो हजुर । रहर से होइना मजबुरी से । खुदसँग बहुत घिन छ हजुर ।”

यति भनि सक्दा–नसक्दा ऊ भूईँमा घोप्टिसकेको थियो । तेनेहाङ उसैलाई नियालिरहेछ । उसको निरिह अनुहारमा भयङकर ग्लानिको भाव झल्किरहेको थियो । घोप्टिदाँ धुलो, चायाँ र लट्टा देखियो उसको कपालमा । छ्यासमिसे दाह्री, जुँगा पनि वेसम्भार छन् । पानीको खडेरी लागेको मान्छेको आँखावाट कति साह्रो आँसुको झर्ना बगेको । अनवरत झर्ना बगाउँदै हातले भुँई पिटेर अझ साह्रो डाँको छाड्दै भन्यो ।
”मलाई यो पापको सजाय मिलिगयो भगवानसे ।”
”उसको यो वाक्य सुनेर पुनः एकपटक सबैले मुखामुख गर्यौँ । उसको कुराले भेला भएका कतिको मनको बाँध छचल्किएर आँखावाट हामफाल्न लागेको देखिन्थ्यो ।
”दिँदैन भो नरोऊ । बाध्यताले त चोरी गरेको हौ नि” सबैले सान्तवना दियौँ ।
”मिलिगयो हजुर” अझै थप्यो ।
”यहाँसे चामल लिएर घर पुग्दा दुई घण्टा से ज्यादा टाइम गइलियो । म पुग्दा श्रीमतीे जिन्दा भेटेन हुजुर । उन्हीको जिउले थिचेर बच्चा पनि मरिगयो ।”
उसको विलाप र आँसुमा कुनै छलकपट थिएन । इमान्दार आँसुको पिडा नियाल्न साच्चै गाह्रो हुने रै‘छ । हामी धेरैलाई गाह्रो भयो । उसले अझै थप्यो
“हमी पापी हुँ हुजर । जिसको लागि चोरी गर्नु आएँ उसिको जिन्दा राख्न सकिन । अब यो पापीको जे सजाय दिनुहुन्छ दिनु हुजुर ।”

दुःखद
पिडादायी
हृदयविदारक

उसको कहानीले माहोल स्तव्ध बन्यो । कयौंको आँखा रसायो । कयौंको मन भत्कियो । सबैको सल्लाह अनुसार मानवीय नाता र इमान्दारिताको कदर गर्दै स्वेच्छाले रकम उठाएर उसलाई सहयोग गर्ने सल्लाह भो । ता कि उसले श्रीमती र बच्चाको सतगद गर्न सहज होस् । उपचार गर्न मद्दत मिलोस । विसाल सोल्टी र मैले पनि सके जति रकम दियौं ।

ठिक यहिवेला झरी दर्कियो ।

सायद आकाश पनि रोएको हुनुपर्छ ।