प्रचण्ड परिवारको विदेशी बैंकमा पैसा भएको प्रमाणित गर्न सचिवालयको चुनौती

प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

काठमाडाैं : प्रचण्डपुत्र प्रकाश दाहालको नाममा विदेशको कुनै बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले चुनौती दिएको छ । प्रचण्ड केही दिन पहिले सपरिवार दुबई भ्रमणमा गएका थिए । उक्त भ्रमण हुँदैगर्दा प्रकाशको नाममा विदेशी बैंकमा पैसा रहेको भन्दै प्रचार गरिएको थियो । प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको हो ।

एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले प्रकाशको नाममा विदेशी बैंकमा पैसा रहेको प्रमाणित गर्न चुनौती दिए । ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौं,’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तनविरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोलकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपंक्ति एवम् जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’

साथै विज्ञप्तिमा यस्ता झुटा प्रचार गर्ने तत्वलाई आवश्यक कारबाही गर्न सम्बन्धित सरकारी निकायलाई अनुरोध पनि गरिएको छ । ‘यतिबेला जनक्रान्तिका उपलब्धिविरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध प्रहार गर्ने दुस्प्रयास भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रमक कुप्रचारमा लागेका छन् ।’

उक्त प्रचारको सचिवायले भत्र्सना पनि गरेको छ । ‘कमरेड प्रचण्डको दुबई भ्रमणको विषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत् छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भर्सना र खण्डन गर्दछ ।’