मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट

प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ ।

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए । बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो ।

गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको जंगलमा बम विष्फोट भएको जानकारी दिए। ‘अहिले प्रहरीले बम विष्फोट भएको स्थलको अनुगमन गरिरहेको छ’ उनले बताए ।