सर्वाधिक चासो, कुमार पौडेल हत्या-काण्डबारे गम्भीर खुलासा

प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

विप्लव नेकपाको सर्लाही ईन्चार्ज कुमार पौडेलको प्रहरीले गोली हानी हत्या गरेपछि सडकदेखि सदनसम्म चलेको बहसले अझै अवतरण पाउन सकेको छैन । हत्याकाण्डबारे बिचबिचमा विभिन्न समाचारहरु आउने क्रम जारी नै छ । सर्वाधिक चासोको विषय बनेको छ ।

यसमाथि मानवअधिकार क्षेत्रमा काम गर्ने मानव अधिकार संगठनहरुले अध्ययनपछिका प्रतिवेदनहरु पनि सार्वजनिक हुने क्रम जारी छ । तर राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन भने सार्वजनिक भएको छैन । पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि सार्वजनिक गरिने आयोग स्रोतको भनाई छ ।

यसैबीच पौडेल हत्याकाण्डबारे थप केही प्रसंग प्राप्त भएको छ । पौडेलको हत्या गएको असार ५ गते सर्लाहीको लखनदेही खोला नजिक कच्ची सडकमा गरिएको थियो । हत्यापछि सोही दिन शवलाई जिल्ला सरकारी अस्पताल मलंगवा पुर्याइयो । घटनाको समाचारले देशै तताएको अवस्था थियो । त्यसको भोलिपल्ट शव राखिएको जिल्ला अस्पताल मलंगवामा घरपरिवारका सदस्यहरु पुगे । उनीहरुले शव देखेपछि पौडेलको मृत्यु भीडन्तबाट नभई निसशस्त्र रुपमा नियन्त्रणमा लिएपछि बाँधेर गोली हानेर भएको निस्कर्ष निकाले । संचारमाध्यमसँग त्यो बेलादेखि अहिलेसम्म ‘नियन्त्रणपछि हत्या’ भनिरहेका छन् । यो कुरा पौडेल पत्नी धनकुमारीले काठमाडौंमा आएर पत्रकार सम्मेलन गरेरै भनिन् ।

यसलाई थप पुष्टि गर्न बल पुग्ने गरी इन्सेक, एडभोकेसी फोरम नेपाललगायतले हत्याकाण्डस्थलको विस्तृत अध्ययनपछि तयार पारेको प्रारम्भिक प्रतिवेदन आयो । प्रतिवेदनले ‘भीडन्तबाट पौडेलको मृत्यु भएको मान्न सकिने आधार, प्रमाण नभेटिएको’ उल्लेख गरेको छ । अध्ययनको नेतृत्व ईन्सेकले गरेको थियो ।

यसैबीच अध्ययनमा संलग्न एकजना प्रतिनिधिका अनुसार पौडेलको पोष्टमार्टम त्यही सरकारी अस्पताल मलंगवामा गरियो । घटनाको प्रकृतिबारे आइरहेको समाचारहरु सुनेर ६ गते कार्यालय समयमा इन्सेकको २ नम्बर प्रदेश संयोजकसहितको टोली शव राखिएको ठाउँ (अस्पताल) पुग्यो । टोली परिचय दिई शव भएको ठाउँसम्म पुगेको र स्थितिबारे बुझ्दा त्यहाँका रहेका एकजना चिकित्सकले शव देखाउँदै ‘उहाँ को हो ? के हो ?’ भनेर प्रश्न गरेको संयोजक राजु पासवानले बताए । जवाफमा आफूले हिजो सर्लाहीकाे लखनदेहीमा मारिएको भनेर समाचारहरुमा आइरहेको विप्लवका कार्यकर्ता उहाँ नै हो भन्याैं’ उनले बताए ।

त्यसपछि चिकित्सकले ‘ए हो र ! उहाँ डन हो ?’ भनी प्रश्न गरेको पासवानले सम्झन्छन् । पासवान टोलीले किन, त्यस्तो के पाउनुभो डाक्साब ?’ भनेर प्रतिप्रश्न गर्दा मण्डल थरका ती चिकित्सकले ‘मृतकको शरीरमा धेरै कुटपिट भएको देखिएकोले सोधेको’ भन्ने प्रतिक्रिया दिएको संयोजक पासवानले  बताए । ‘सरकारले भनेजस्तो कुमार पौडेलको भीडन्तमा मृत्यु भएको हो भने पोष्टमार्ट रिपोर्ट सार्वजनिक गर्न किन ढिलाई ?’ उनले प्रश्न गरे । पोष्टमार्टम रिपोर्ट अस्पतालबाट जिल्ला प्रहरीमा पुगिसकेको बुझिएको पनि उनले बताए ।

पोष्टमार्टम रिपोर्ट अहिलेसम्म सार्वजनिक गरेको छैन । स्रोतका अनुसार पोष्टमार्ट सोही विषयलाई लिएर मृतक पौडेलका भाई हरिकृष्णले दाजुलाई नक्कली भीडन्तको नाममा राज्यले नियन्त्रणमा लिई गैरन्यायिक हत्या गरेको बताए । पौडेलको हात ३÷४ ठाउँमा भाँचिएको, दाँत झारिएको, शरीरमा गहिरो चोट भेटिएको परिवारले बताउँदै आएको छ । घटनाको सत्यतथ्य लुकाउन सक्ने आशंका मृतक परिवारको छ । तर पोष्टमार्टम रिपोर्ट राष्ट्रिय मानवअधिकार आयोगमा पुगिसकेको स्रोतले जनायो ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संलग्न जुनसुकै भएपनि कुमार पौडेलको मृत्यु प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानी हत्या गरेको भन्दै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गर्यो । र, २६ दिनसम्म संसद बैठक अवरोध गरेको थियो । तर संसदीय समिति गठन नै नभई माग फिर्ता लिए ।

उता विप्लव नेतृत्वको नेकपाले पार्टीका जिल्ला नेता पौडेललाई सादा पोशाकका प्रहरीले निशस्त्र अवस्थामा गिरफ्तार गरेर नाम सोधी गोली हानेर गैरन्यायिक हत्या गरेको भन्दै निष्पक्ष छानबिन गर्न सघाउन मानअधिकार, संचारमाध्यम र अधिकारकर्मीसँग माग गर्दै आइरहेको छ । ‘क्रान्तिकै मैदानबाट बदला लिने’ चेतावनी दिँदै आएको छ ।