आत्महत्याबारे फरेन्सिक विज्ञ के भन्छन् ?

प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

काठमाडाैंः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विभाग प्रमुख डा. तुलसी कँडेल हत्या वा आत्महत्या भन्ने विषय पोष्टमार्टम रिपोर्टले मात्रै निर्क्यौल गर्न नसक्ने बताउँछन् ।

‘दुर्घटनामा छतमा खसाइएको र आफैं हामफालेको मानिसको मृत्युको कारण एउटै हुन सक्छ’, कँडेलले भने, ‘झुण्डिएको घटनामा विभिन्न पक्षमा ध्यान दिनुपर्छ ।’

कँडेलका अनुसार मृत्यु स्वाभाविक, भवितव्य, आत्महत्या, हत्या वा के हो ? त्यो जान्न ‘म्यानर अफ डेथ’ पहिचान गर्ने गरिन्छ । तर, एक रिपोर्टका अनुसार नेपालमा हुने एक सय पोष्टमार्टम मध्ये १५ वटामा मृत्युको कारण खुल्दैन । शरीरभित्र र बाहिर चोटपटक नभएको अधिकांश घटना झुण्डिएकै कारण मृत्यु भएको देखिने कँडेलको अनुभव छ ।

‘आत्महत्याका विवाद हुने भनेको बढीजसो महिलाकै केसमा हो’, उनले सुनाए, ‘कुनै २५ वर्षकी महिलालाई बेहोसीकै अवस्थामा झुण्ड्याउनुपरे पनि कम्तिमा ३/४ जनाले समात्नुपर्छ ।’

त्यसक्रममा प्रतिकार गरिएको कुनै न कुनै तरिकाको निशान हुने उनी बताउँछन् । जसको परीक्षण गरेर पोष्टमार्टम रिपोर्टमा लेख्ने गरिन्छ ।

फरेन्सिक विज्ञका अनुसार झुण्ड्याइएको र आत्महत्या गरिएको घटनामा झुण्डिँदा प्रयोग गरिएको वस्तुको डाम(लिगेचर मार्क) पनि फरक हुन्छ । जस्तैः कपडा वा सल बेरिएको छ भने नरम दाग बन्छ । सनपाट, नाइलनको डोरी, फलामको तार आदि प्रयोग गरेर झुण्डिँदा कडा डाम बस्छ ।

आफैं झुण्डिने व्यक्तिले पातलो सलको प्रयोग प्रायः नगर्ने फरेन्सिक विज्ञ बताउँछन् । किनकि, मृतकको शरीरको वजनलाई त्यो सलले नथेग्न सक्छ । कतिपय अवस्थामा पातलो सलको प्रयोगबाट हाम्फाल्दा पासो चुँडिन सक्ने सम्भावना पनि हुन्छ । त्यति मात्र होइन, मृत्युअघि र पछिको डाम चिकित्सकीय परीक्षणबाट छुट्टयाउन सकिने विज्ञ बताउँछन् ।

अर्ध झुण्डिएको किसिमको आत्महत्यामा मानिसको शवले जमिन छोएको, घुँडा टेकेको, अढेस लागेको वा निहुरिएको जस्तो अवस्थामा भेटिन सक्ने फरेन्सिक विज्ञ बताउँछन्

घुँडा टेकेर आत्महत्या हुन्छ त ?

वसुन्धराको घटनामा घुँडा टेकेर आत्महत्या हुन सक्छ कि सक्दैन ? भन्ने प्रश्न उठ्यो । फरेन्सिक विज्ञ कँडेलको अनुभवमा ओछ्यानमा सुतेको अवस्थामा पनि आत्महत्या भएको देखिएको छ ।

‘सुतेकै बेला झ्यालमा सानो रुमालले घाँटीमा बेरेर तान्दा मृत्यु भएको घटना पनि छ’, उनले सुनाए ।

फरेन्सिक विज्ञानका अनुसार झुण्डिएर हुने मृत्यु दुई प्रकृतिको हुन्छ ।

पहिलो, पूर्ण झुण्डिएको अवस्था, जसमा कुनै अग्लो स्थान वा विन्दुबाट पासो लगाएर झुण्डिने गरिन्छ । यो प्रकारको घटनामा खुट्टाले जमिन छोएको हुँदैन । छोए पनि थोरै मात्र हुन्छ ।

दोस्रो प्रकार भनेको अर्ध झुण्डिएको अवस्था हो । विज्ञका अनुसार यो प्रकारको आत्महत्यामा व्यक्तिले छोटो स्थानको प्रयोग गरेर पासो लगाउने गर्छन् ।

अर्ध झण्डिएको घटनामा ४/५ केजीको कुनै वस्तुले थिचिँदा घाँटीमा रहेको रगतको नसा बन्द हुने चिकित्सक बताउँछन् । जसका कारण कम्तिमा ४ मिनेटभित्र मृत्यु हुने गरेको भेटिन्छ ।

यो किसिमको आत्महत्यामा मानिसको शवले जमिन छोएको, घुँडा टेकेको, अढेस लागेको वा निहुरिएको जस्तो अवस्थामा भेटिन सक्ने फरेन्सिक विज्ञ बताउँछन् । डा. कँडेलका अनुसार आत्महत्याको घटनामा प्रायः मुटुबाट मतिष्कमा जाने रक्तनली बन्द भएर मृत्यु हुने गरेको छ ।

अनुसन्धान अधिकृतले ध्यान दिनु पर्ने कुरा

विज्ञहरु भन्छन् आत्महत्याको अनुसन्धान लागि खटिने अधिृकतले ध्यान दिनुपर्ने केही विषय धेरै छन् । पहिलो कुरा झुण्डिन प्रयोग गरिएको पासो र भुइँभन्दा व्यक्तिको उचाइ कम छ भने गाँठो पार्ने ठाउँमा कुनै कुरा प्रयोग गरिएको छ/छैन भन्ने हेर्नु आवश्यक हुन्छ ।

खुला ठाउँमा घटनास्थल छ भने त्यहाँ जाने बाटोमा हिलो, धुलो छ/छैन भन्ने हेर्नु आवश्यक हुने विज्ञ बताउँछन् । किनकि, शवको शरीरको खुट्टा वा चप्पलमा धुलो, हिलो लागेको छैन भने हत्यापछि झुण्ड्याइएको हुनसक्ने सम्भावना प्रबल हुन्छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको पिल्लर १ का एक अधिकृतका अनुसार हत्यापछि झुण्ड्याइएको कतिपय अवस्थामा डोरीबाट बन्न सक्ने डोब र मृतकको घाँटीमा भएको दाग फरक–फरक हुन सक्छ । त्यो कुरामा अनुसन्धान अधिकारीले ख्याल पुर्‍याउनुपर्ने उनी बताउँछन् ।