नायिका साम्राज्ञीकाे १५ लाख पारिश्रमिक, चलचित्रले ब्यापार गर्ला त ?

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

नेपाली चलचित्र भित्र यतिबेला कलाकारको पारिश्रमिकको चर्चा खुबै छ । विशेषगरि, कलाकारले महंगो पारिश्रमिक लिएका कारण चलचित्र बन्न कम भएको हो भन्ने चर्चा पनि सुनिन्छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख पारिश्रमिक लिइन् । निर्मात्री पूनम गौतम पनि साम्राज्ञीको ब्रान्ड हेरेरै आफूले यति रकम दिएको बताउँछिन् ।

पछिल्लो समयमा कलाकारले पारिश्रमिक महंगो लिएपछि त्यसको केही गुणा बढी निर्मातालाई फिर्ता गर्न सक्नुपर्छ भन्ने खालका चर्चा पनि भएका छन् । के साम्राज्ञीलाई पनि यस्तै लाग्छ त । ‘१५ लाख लिएपछि मेरै नामबाट त्यो रकम फिर्ता हुनुपर्छ गर्नुपर्छ भन्ने सोच त मलाई आउँदैन’ उनी भन्छिन् । तर, कुनै चलचित्रमा मैले संझौता गरिसकेपछि राम्रो काम गर्छु भन्ने प्रतिवद्धता मैले दिन सक्नुपर्छ । मलाई साइन गर्ने टिमले पनि राम्रो काम निकाल्न सक्छु भन्ने प्रतिवद्धता लिनुपर्छ । हामीले राम्रो चलचित्र दर्शकमाझ प्रस्तुत गर्ने प्रतिवद्धता मिलेर गरेका हौं । हामीले प्रस्तुत गरेको चलचित्र दर्शकलाई मन पर्नुपर्यो ।’

साम्राज्ञीले महंगो पारिश्रमिक लिएपछि त्यसलाई फिर्ता गर्नुपर्छ भनेर आफूले कहिले नसोच्ने तर राम्रो काम गर्न सधै नै लागिपर्ने बताइन् । उनले चलचित्र ‘मारुनी’को कथा सुन्दा अरुको आँखा लाग्छ कि भनेर डर लागेको समेत बताइन् । उनले भनिन्–‘यो चलचित्रको कथा सुन्दा मलाई यति राम्रो स्क्रिप्टमा अरुको आँखा लाग्छ कि भनेर डर समेत लागेको थियो । यसैले, आफैले पनि यो भूमिका गर्न सक्छु या सक्दिनँ भनेर मैले केही समय लिएँ ।’ के साच्चै पारिश्रम दिए अनुसारकाे निमार्ताले प्रतिफल पाउलान त ?