श्रीमती, सासु र सालामाथि खुकुरी प्रहार गरी अभियुत्त फरार

प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

पाँचथरः कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन्। झापा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू ५० वर्षकी भीमकला दमाई घाइते भएका छन् ।

माइतबाट घर लैजान आएका दर्नालले श्रीमती घर जान नमानेपछि खुकरी प्रहार गरेको पौडेलले जानकारी दिए । पाँच दिन अगाडि श्रीमती लिन दर्लान ससुराली आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट भीमकलाको बायाँ हात, बायाँ गालामा र सीताको बायाँ हातमा गम्भीर चोट लागेको छ ।

सीताको अवस्था गम्भीर रहेको पौडेले जानकारी दिए । घाइते दुवैको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको उनले बताए ।शुक्रबार बिहान करीब ९ बजेको समयमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर दर्नाल फरार भएको पौडेलले बताए । फरार दर्नालको खोजी कार्य भइरहेको बताए ।