वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६

काठमाडौं : वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको असनमा वि.सं.२००३ सालमा गायिका नूरा देवीको कोखबाट जन्मिएकी उनको शनिबार निधन भएको हो। अधिकारीको शनिबार बिहान ८ बजे निजी निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । उनको निधन पनि गाइजात्राको एक दिनपछि भएको छ ।

२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ हो । यसपछि उनले नाट्य अभिनयमा लामो समय बिताएकी थिइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटक उनले अभिनय गरिन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ हो । निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनित उनको पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालकी पत्नीको भूमिका खेलेकी थिइन् । यो फिल्ममा अभिनय गर्दा उनी २२ वर्षकी थिइन् ।

शुभद्राले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसूत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत चलचित्रमा अभिनय गरेकी छन् । उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले जनाको छ ।