शालिकरामकी श्रीमतीले दिइन् , रवि लामिछाने विरुद्ध यस्ताे किटानी जाहेरी

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

काठमाडौं: पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता एवं पत्रकार रवि लामिछाने विरुद्ध किटानी जाहेरी परेको छ ।

पुडासैनीकी श्रीमती सम्झना घिमिरेले आइतबार लामिछाने विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भई परिसरमार्फत चितवन प्रहरीमा जाहेरी दिएकी हुन् ।

घिमिरेले सोहि प्रकरणमा पक्राउ परेका अर्का पत्रकार युवराज कँडेल र ओखलढुंगा घर भएकी अस्मिता कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध संहिता अनुसार कारवाही गर्न माग गरेको प्रहरीले जानकारी दिएको छ ।

गत साउन २० गते चितवनको नारायणगढ स्थित एक होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनी शव भेटिएको थियो । उनको साथबाट उनले मृत्यु अघि मोबाइलमा रेकड गरेको भिडियो समेत भेटिएको थियो । उक्त भिडियो केहि दिन अघि संचारमाध्यम मार्फत सार्वजनिक भएको थियो ।

उक्त भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले पत्रकार लामिछाने र कँडेललाई न्युज २४ को कार्यालय र नर्स कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको थियो ।

अहिले अदालतबाट पाँच दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेकाे छ ।