के भन्छ त अब सर्वाेच्च अदालतले ? अन्ततः शिल्पा सर्वाेच्च पुगिन्

प्रकाशित मिति : आइतवार, भदौ १, २०७६

काठमाडाैंः वहुविवाहका फरार अभियुक्त नायिका सिल्पा पोखरेल पक्राउ नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेकी छन् ।

फरार सूचीमा राखिएको २४ दिनपछि उनी आफूलाई पक्राउ नगर्न उत्प्रेषण परमादेश माग गर्दै निवेदनसहित सर्वोच्च अदालत पुगेकी हुन् । उनले साउन २९ गते कानून व्यवसायीमार्फत निवेदन दर्ता गराएकी थिइन् । निवेदनमा उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, टेकु प्रहरीलगायतलाई विपक्षी बनाइएको छ ।

निवेदनमाथि आइतबार बहस सुनुवाई लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर ज.ब.रा.को इजलासबाट पेशी चढेकाे छ ।

शिल्पा चलचित्र निर्माता छबि ओझाकी कान्छी श्रीमती हुन् । उनी र श्रीमान् छबिविरुद्ध जेठी श्रीमती ओझाले बहुविवाहको कसुरमा प्रहरीमा उजुरी दिएपछि गत साउन ८ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गर्न अनुमति दिएको थियो । सोही बेलादेखि फरार भएकी पोखरेलले आफूलाई पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा आदेश पाउन साउन १६ गते कानून व्यसवसायी रमेश गुराँगाईमार्फत उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन् ।

निवेदनमाथिको बहसपछि सुनुवाई गर्दै उच्च अदालत पाटनले साउन २४ गते काठमाडौं जिल्ला अदालतको आदेशलाई नै निरन्तरता दिन आदेश दिएको थियो । उक्त आदेशले पनि उनलाई पक्राउ गर्न बाटो खुला गरिदियो ।

उच्च अदालतको उक्त आदेशपछि उनी अहिले उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च पुगेकी हुन् । अब सर्वोच्चबाट हुने आदेश सबैको प्रतिक्षाको विषय बनेको छ ।