रबिलाइ केहि भए फेसबुक लाइभमा नाङ्गो खुकुरी देखाएर नेतालाइ काट्ने धम्की दिने पक्राउ

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

काठमाडौं : प्रधानमन्त्री सहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन् ।

ती व्यक्तिले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिएका थिए । प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने धम्की दिएका थिए ।

फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई काट्छु, मार्छु भन्दै नाङ्गो खुकुरी देखाएका थिए । अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई पक्राउ गर्न टोली खटाइएको छ । शनिबार मात्रै अछामबाट एकजना युवा प्रहरी अधिकारीको फोटो बिगारेर फेसबुकमा हालेकाले पक्राउ परेका थिए ।