स्वागत नेपालले शालिकराम पुडासैनीकाे परिवारकाे पक्षबाट बहस गर्दै, यी हुन् बहसका बिषय

प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६

काठमाडौं : पत्रकार समेत रहेका अधिवक्ता स्वागत नेपाल रवि लामिछानेविरुद्ध अदालतमा वहस गर्दैछन् । उनी शालिकराम पुडासैनीको परिवारका पक्षवाट कानूनी वहस गर्ने भएका छन् । पुडासैनीको हत्या हो वा आत्म हत्या हो भन्ने कुराको निर्णय अदालतले गर्ने उनको भनाई छ । उनले आफु कानुन र न्यायका लागि वहसमा जान लागेको बताएका छन् । उनले पुडासैनीको तर्फवाट कानुनी वहस गर्दा रविलाई अन्यायमा पार्ने आफ्नो उद्देश्य भने नभएको बताएका छन् । आफु घटनाको सत्य तथ्य वाहिर ल्याउन र न्यायका लागि आफ्नो वहस पैरवी गर्ने बताए ।

पुडासैनीको परिवार आफुसंग न्यायका लागि लडिदिन आग्रह गर्न आएका कारण आफुले यो मुद्दा लिएको बताए । पुडासैनीको परिवारले अन्य केही अधिवक्तालाई पनि आग्रह गरेको तर अरुले उनको मुद्दा हेर्न नमानेको कुरा आफुलाई बताएको नेपालले बताए । उनले रवि लामिछानेलाई फसाउने आफ्नो कुनै उद्देश्य नभएको बताए । यो घटनामा पुडासैनीले आत्महत्या गरेको प्रमाणीत भए झन रवि लामिछाने नफस्ने उनको भनाई छ । रवि लामिछानेले कति पैसा कमाए, कतावाट पैसा ल्याए भन्ने कुरा यो मुद्दामा नपर्ने नेपालको तर्क छ ।

आत्महत्यामा रविले दुरुत्साहन गरेको हो वा होइन भन्ने कुरामा वहस हुने बताए । उनले पहिलो वहस पुडासैनीको हत्या हो वा आत्महत्या हो भन्ने कुरामा हुने र त्यसपछि त्यसका लागि रविले दुरुत्साहन गरेको हो कि होइन भन्ने कुरामा वहस हुने बताए । नेपालले आफु पुडासैनीको आत्महत्या नै हो भन्ने कुरा प्रमाणीत गर्ने बताए ।

पुडासैनीको पक्षवाट वहस पैरवी गर्ने निर्णय गरेपछि अधिवक्ता स्वागत नेपालले आफ्नो सामाजिक सञ्जालमा सो मुद्दा आफुले किन लिएको हो भन्ने कुरा खुलाएका छन् । सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै उनले पुडासैनीको पक्षवाट कानुनी पैरवी गर्ने निर्णय गरेको भएपनि रवि लामिछानेलाई फसाउने आफ्नो कुनै उद्देश्य नभएको बताएका छन् । यस्तो छ उनले लेखेको स्टाटसः

मैले स्व.शालिकराम पुडासैनीको पक्षबाट बहस पैरवी गर्न स्वीकार गरेको रवी जीलाई जे ल हाल्न होइन, स्व.पुडासैनीको देहान्त कसरी भयो भन्ने सत्य सबै वीचको बहस पैरवीबाट स्थापित गर्न हो, नेपालमा अहिलेसम्म भएका शंकाष्पद जीवनान्त्य सरह पर्दाभित्रै नरहोस् भनेर हो । मेरो वहस पैरवी रवी जीलाई पनि न्याय दिलाउनको लागि हो, कानुनको शासनको लागि हो । रवी जि मात्र किन ? सँगै अरु पक्राउ परेका अरु साथीहरुका लागि चाहिँ चाहिँदैन न्याय ?

के ती चेलीलाई न्याय चाहिँदैन जसको म्यासेजको गोप्यता सार्वजनिक गरेर उनको बाँकी जीवन पनि अप्ठ्यारो बन्दैछ ? विषय त उनीहरु वीचको च्याट म्यासेज घुमाई घुमाई सेभ गरेर एकअर्कामा डिस्सिमिनेट गरिएको चाहिँ हो । कसले कति कमाउँथ्यो, कसले कति कमाउँथ्यो भन्ने विषय आत्म हत्या दुरुत्साहनको विषय हुन सक्दैन भनेर मैले अन्तरवार्ताहरुमा भनेको छु । र, उहाँको म्यासेज रवीजीले नै डिस्सिमिनेट गरेको हो भन्ने मलाई लाग्दैन भनेर पनि भनेको छु । अहिलेको सबैभन्दा मुख्य कुरा नै शालिकराम जीको जीवना न्त्यको कारण पत्ता लाग्नु नै उनको आत्मालाई, रवी जीलाई र अरु साथीहरुलाई पनि न्याय प्राप्त हुनु हो । त्यसैले म न्यायका लागि बहस पैरवी गर्दैछु । कसैमाथि आरोप हुने छैन । तथ्यको प्रस्तुति र मिमांसा हुने छ मेरो तर्फबाट ।