कविता : अलच्छिनी धरहरा लडोस्

बाँस्कोटा धनञ्जय प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

मैले बारबार भनेकै हुँ नि
धरहरा
यसरी नउभ
र नदेख परसम्म
र नदेख आफ्नै गोडामुनि पनि
बरु लडिजाऊ गर्ल्याम्मै।
र नहेर बन्दै, बिल्कुलै
बलत्कार पछि हत्या गरिएका
किशोरीका पटकथाका हरफहरु,
नदेख बिल्कुलै
आफ्नै आमा बेचेर
रक्सीमा रमाउनेहरु,
अनि नहेर तिनलाई
बिदेशीलाई आशिर्वाद थाप्दा
देशको मायाँ गर्या भन्नेहरु
तर
आफ्नै देशका दाजुभाई भेट्दा
अराष्ट्रिय भन्नेहरु ।
अनि भनेकै त हो नि
मान्छेको शिकार खेल्नेहरु
मान्छेको प्रेमको गीत गाउँछन्
तिमीले त देख्यौं नि
कुर्सीमा देश साट्नेहरुको मुस्कान
पैसामा पद किन्नेहरुको मुस्कान
बलमा मान्छे फाँड्नेहरुको मुस्कान ।
अनि देख्यौ
पौरखी मान्छेका हातहरु
क्रमश काटिन थालेको,
याे कुरूप समयको
मधुर धुन निकाल्ने
सुमधुर आवाजहरु
क्रमश थुनिन थालेको,
कतै अरिङ्गाल खन्याइदिएको
कतै बैशाखी बिनै
हिड्न थालेका यस माटोका
लुइरे खुट्टाहरु
धमाधम हिरासत धाउँदै गरेको ।
जे देख्नु पर्थ्याे तिम्ले
त्यो देख्दै देखिनौं
जे नदेख्नु पर्थ्याे तिम्ले
त्यो त्यो मात्रै देख्याै
र यो समयको श्रीपेचलाई
हल्लाउने दुष्प्रयास गर्यौ
त्यसैले
तिमी अलिच्छिनी धरहरा
लडेकै राम्रो
पहिल्यै लड्नु पर्थ्याे ।

 

बाँस्कोटा धनञ्जय