प्रमाणबिना नै आफूलाई प्रहरीले हिरासतमा राखेको, हिरासतबाट रबिकाे आक्राेस

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

प्रहरीको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको पत्रकार टेकनारायण भट्टराईले अन्तर्वार्ता लिएर युट्युबमा राखेका छन् । पत्रकार भट्टराईले युट्युबमा राखेको सो अन्तर्वार्तामा रविले आफू असुरक्षित रहेको बताएका छन् । आफूलाई नियोजित रुपमा फसाउन खोजेको र चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले गर्ने अनुसन्धानमा अविश्वसनीय रहेको हिरासतमा रहेका रविले बताएका छन् ।

कुनै कारण र प्रमाणबिना नै आफूलाई म्याद थपेर प्रहरीले हिरासतमा राखेको रविले बताएका छन् । करिब २० मिनेटको रहेको अडियो अन्तर्वार्तामा रवि लामिछानेले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै प्रहरीको अनुसन्धानमाथि शंका व्यक्त गरेका छन् । ‘मेरो कारणले शालिकरामले आत्महत्यागरेको भन्ने कुनै प्रमाण छैन, रविले भनेका छन्, ‘शालिकरामसँग सम्पर्क भएको नदेखिएपछि मलाई किन हिरासतमा राखे ?’ बिना कानुन आफूलाई म्याद थपेर हिरासतमा राखेको भन्दै उनले आफ्नो हत्याहुन सक्ने पनि बताए ।

शालिकराम पुडासैनीको परिवारप्रति कुनै गुनासो रहेको भन्दै उनले पुडासैनीको श्रीमतीलाई उजुरी दिन दबाब दिइएको बताएका छन् । दीपक बोहराको बयान लिनुपर्ने भनेपछि आफूलाई हिरासतमा राख्न म्याद थप्न भनेको बताएका उनले सरकारी प्रमाण चोर्ने एसपी दानबहादुर मल्लले गरेको अनुसन्धानमा आफू असुरक्षित रहेको बताए ।

आफू प्रहरी हिरासतमुक्त भएको तीन मिनेटमा सत्यतथ्य बाहिर ल्याउने दाबी गर्दै रविले कसरी आफूलाई फसाउन सकिन्छ भनेर काम भइरहेको बताए । शालिकरामले लगाएको आरोप अदालतको इजलाशमा एक मिनेटमै गलत सावित भएको भन्दै रविले शालिकरामले बदलाको भावनामा आत्महत्यागरेको जिकीर गरे ।

रबि बाहिर जति प्रसंसित थिए त्यसको चौगुना प्रसंसित र सबैले चिन्ने पात्र बनेका छन् । समस्या आफ्नो ठाउमा होला तर आफ्ना समर्थकले कति माया गर्छन भनेर यो अग्निपरीक्षा समेत बनेको रविको लागि ।