शालिकराम पुडासैनीकाे भिडियो प्रसारणबारे नेपाल आजले दियाे स्पष्टिकरण यस्ताे

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

नेपाल आजले प्रसारण गरेको शालिकराम पुडासैनी मृत्यु प्रकरणको भिडियोबारे स्पष्टिकरण दिएकाे छ । जाे यसप्रकार रहेकाे छः

आदरणीय दर्शकवृन्द, पाठक एवं शुभचिन्तकहरु,

नेपाल आजले गत श्रावण २९ गते प्रसारण गरेको शालिकराम पुडासैनी मृत्यु प्रकरणको भिडियोबारे हाम्रा दर्शक, पाठकहरुले पठाउनुभएका सकारात्मक र नकारात्मक प्रतिक्रिया र आवश्यक जिज्ञासाबारे हाम्रो ध्यानाकर्षण भएको छ ।

सबैभन्दा पहिले हामी के स्पष्ट पार्न चाहन्छौँ भने नेपाल आज कुनै व्यक्ति, राजनीतिक दल, व्यापारिक वा कुनै अमूक शक्तिको पक्षपोषक नभएर विगत चार वर्षदेखि व्यावसायिक पत्रकारिता गरिरहेको संस्था हो । हामीमाथि लगाइएका आरोप निराधार र कपोलकल्पित छन् ।

संसारभरका सञ्चार संस्थाले भोग्नुपर्ने र पत्रकारिताका सन्दर्भमा सबैभन्दा खाँटी पक्ष के हो भने जोकोहीले पनि आफ्ना पक्षमा समाचार आए ठीक अन्यथा आए बेठीक भनेर आरोपको सामना गरेका छन् । यसअघि पनि हामीले पटक पटक यस्ता आरोपको सामना गरेका थियौं । अहिले पनि त्यस्तै खाले ताली र गालीको अग्निपरीक्षामा छौं ।

नेपाल आज त्यस्तो सञ्चारसंस्था हो जसमा कार्यरत पत्रकारहरु कुनै पार्टी विशेषको झण्डामुनि छैनन् र कुनै व्यक्तिविशेषको पक्षपोषक होइनन् । समाजमा भएका हरेक घटनामा नजर राखी जनताको सूसूचित हुने हक र अधिकारको सम्मान गर्दै यथार्थ जानकारी पस्कनुलाई हामीले दायित्व सम्झिएका छौं ।

हामी त्यो दायित्वबाट कदापि विचलित भएका छैनौँ र हुन्नौँ पनि । यसले समाचार, विचार वा भिडियो रिपोर्ट प्रकाशन र प्रसारण गर्दा कुनै पक्षविशेषलाई ठीक लाग्नु वा अन्यलाई बेठीक लाग्नु व्यक्तिको सोचाईमा भर पर्ने कुरा हो ।

भिडियोको स्रोतबारे

नेपाल आजले गत श्रावण २९ गते दिउँसो पारिवारिक श्रोतबाट भिडियो प्राप्त गरेको हो । भिडियो प्राप्त गरेपछि भिडियो सार्वजनिक गर्ने वा नगर्ने भन्नेबारे आवश्यक छलफल गर्यौं । संसारभरका पत्रकारहरुको पहिलो दायित्व कुनै पनि सामग्री प्राप्त गरेपछि त्यसको गाम्भीर्य हेरेर सार्वजनिक गर्ने भन्ने हुन्छ ।

पत्रकार पुडासैनीको मृत्यु हत्या वा आत्महत्या भन्ने टुंगो नलागेको सन्दर्भमा हामीले कुनै व्यक्ति विशेष फसाउने वा निजलाई समस्यामा पार्ने कुनै कुत्सित मनसाय नराखी भिडियो सार्वजनिक गरेको जानकारी गराउँछौँ ।

हामीलाई प्राप्त दुई ओटा भिडियो क्लिप्सहरुमा एउटा ४ मिनेट ५८ सेकेण्डको भिडियो छ भने अर्को ८ मिनेट २७ सेकेण्डको भिडियो छ । हामीले ८ मिनेट २७ सेकेण्डको भिडियोलाई पूरै प्रसारण गरेका छौँ । ४ मिनेट ५८ सेकेण्डको भिडियोमा ३ मिनेट १६ सेकेण्डपछि सिरानी देखिन्छ । हामीले भिडियो एडिट गरेका होइनाैँ, छैनौँ ।

भिडियोबारे यथार्थ जानकारी

भिडियोका विषयवस्तुमा कुनै काँटछाँट, तोडमोड नगरी सार्वजनिक गरिएको हो । भिडियो बीचबाट सार्वजनिक भएको कतिपयले आलोचना गर्नुभएको छ । यसबारे हामी के प्रष्ट पार्न चाहन्छौँ भने भिडियोका अगाडिका भागमा नितान्त पारिवारिक र व्यक्तिगत कुरामात्र भएकाले हामीले पारिवारिक र व्यक्तिगत कुरा सार्वजनिक नगरिदिएका हौँ ।

रवि लामिछानेको खेदो खनेको आरोपबारे

कसैको खेदो खन्ने वा कसैलाई अनावश्यक गालीगलौज गर्ने भन्ने हाम्रो नीति छैन । हामी त्यस प्रकृतिको सञ्चार संस्था होइनौँ । कसैलाई खेदो खन्न पनि कुनै न कुनै कारण चाहिएला । सर्वप्रथम अहिले आरोप लागेको सञ्चार संस्थाको प्रकृति नै हामीसँग मिल्दैन ।

पत्रकार रवि लामिछाने निजी क्षेत्रको एक टेलिभिजनका प्रस्तोता हुन् । उनको आफ्नो कार्यक्रम छ । २०७२ सालदेखि स्थापित नेपाल आज आफ्नै छुट्टै विशेषता बोकेको संस्था हो । यो सामाजिक सञ्जाल र अनलाइन केन्द्रीत मिडिया हो ।

टेलिभिजन यसको प्रतिस्पर्धी होइन न त अन्य कुनैलाई प्रतिस्पर्धी मानेर हामीले त्यस्तो गरेका छौँ । गर्ने पनि छैनौँ । प्राप्त सामाग्री प्रसारण गरिदिने बाहेक हाम्रो लामिछाने वा अन्यसँग कुनै पनि प्रकृतिको सम्बन्ध छैन ।

यसअघि वा यसपटक प्राप्त सामग्रीमा हामीले जे पायौँ त्यसलाई प्रकाशन/प्रसारण गरेका हौँ किनभने कुनै पनि सार्वजनिक महत्वको सामाग्री पाएपछि जो सुकै भएपनि प्रकाशन वा प्रसारण हुन्थ्यो । कोही व्यक्ति भए नगर्ने कोही व्यक्ति भए प्रसारण गर्ने भन्ने हुन्न ।

हाम्रो भन्नु

र, अन्त्यमा हामी के आग्रह गर्न चाहन्छौँ भने हामी कुनै खहरे खोलाझैँ क्षणिक बाढी आएर हराउने पत्रकारिताको अभ्यासमा छैनौँ । घटना हत्या वा आत्महत्या हामीलाई थाहा छैन । भिडियो सार्वजनिक भएपछि त्यसको यथार्थबारे छानबिन हुनुपर्छ भन्ने हामो मान्यता हो । धन्यवाद ।