जनसंचारका सम्पादक हमाललाई गिरफ्तार

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

कास्कीः कास्की प्रहरीले जनसंचार डटकमका सम्पादक ओम हमाललाई गिरफ्तार गरेको छ । हमाललाई शुक्रबार बिहान पोखराको शिशुवा बजारबाट गिरफ्तार गरेको परिवार स्रोतले जनायो ।

हमाल निरन्तर रुपमा भ्रष्टाचार, दलाली र असामाजिक गतिविधिविरुद्ध कलम चलाउँदै आइरहेका पत्रकार हुन् । समाचारकै विषय लिएर गिरफ्तार गरिएको स्रोत दाबी छ ।

सम्पादक हमाल जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबं गण्डकी धौलागिरीका संयोजक रहेका हुन् । उनको तत्काल निसर्त रिहा गर्न संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र हिम विष्टले फेसबुक पेजमा स्टाटस पोष्ट गर्दै सरकारसँग माग गरेका छन् ।

आजै नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार हमाललाई तत्काल निसर्त स–सम्मान रिहा गर्न माग गरेका छन् ।

पछिल्ल्लो समयमा सरकारले संचारकर्मीमाथि धरपकड बढाउँदै लगेको छ । जसको सडकदेखि सदनसम्म चर्को विरोध भइरहेको छ ।