आइजीपी सर्बेन्द्रले रविलाई हिरासतमा भेटे, ‘सिधै यस्ताे भने

प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

काठमाडाैं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे । भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए । साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए । सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले बाध्य पारेको बताएका छन्। साेही भिडियाेकाे आधारमा रविसहित तीनै जनालाई प्रहरीले साउन ३० गते पक्राउ गरी चितवन लगेकाे थियाे।

पुडासैनीको देहत्याग र रविको पक्राउ पछि नेपालमा के कुरा बढ्यो ? प्रहरीले गरायो ध्यानकर्षण !

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेपछि बाराको सिमराका सागर मैनालीले हातमा खुकुरी बोकेर प्रमुख दलका तीन शीर्ष नेतालाई सिध्याउने भन्दै भिडियो फेसबुकमा हाले । उनले प्रयोग गरेका शब्द सार्वजनिक रुपमा उल्लेख गर्न लायक छैन । उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट भर्खरै फर्किएर पुनः विदेश जाने तयारीमा थिए । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाका अनुसार भिडियो सार्वजनिक भएलगत्तै उनलाई पक्राउ गरी विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत कारवाही चलाएको छ ।

लक्ष्मण बोहरा शीतल नामको फेसबुकमा रविलाई फसाउने प्रहरी दानबहादुर मल्ल नै हत्या गर्ने व्यक्ति भन्दै पोखराका प्रहरी उपरीक्षकको फोटो राखेर फेसबुकमा राखेर सामाजिक सञ्जालको दुरुपयोग गरिएको छ । कतिपय फेसबुकमा उल्लेख भएका विषय अ श्लील खालका छन्, परिवारसँगै बसेर हेर्न र बोल्नसमेत नसकिने खालका छन् । यसअघि निर्मला पन्तको घ टनामा पनि यसैगरी सामाजिक सञ्जालको दुरुपयोग गरिएको थियो । प्रधानमन्त्री, राष्ट्रपतिदेखि शीर्ष नेतालाई गाली गर्ने, प्रविधिको दुरुपयोग गरी अर्कैको ज्यान वा टाउको जोडेर उडाउनेजस्ता विकृति फेसबुकमा देखिँदै आएको छ ।

मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आ त्मह त्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । गत साउन २० मा चितवनस्थित होटलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनको मृत्युकालीन घोषणामा किटिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना सोही दफाअन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।