रविको बयान भएन, रवि आज पनि प्रहरी हिरासतमै

प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६

काठमाडौं : बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

शालिग्रामको भिडियो काटकुट नभएको ल्याबको रिपोर्ट

यसैवीच पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा बरामद भएको भिडियो क्लीपमाथि कुनै काटकुट वा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्ट दिएको खुलेको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा अनुसन्धान प्रतिवेदन बुझाइएपछि जिल्ला प्रहरी कार्यालय, चितवनले प्रयोगशालाको रिपोर्टबारे औपचारिकरुपमा बोलेको हो ।

अनुसन्धानलाई सघाउन चितवन पुगेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीका अनुसार, ३२ साउनमा काठमाडौंबाट टोली चितवन पुग्दा रिपोर्ट आइसकेको थियो ।

‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छ/छैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो’, रेग्मीले अनलाइनखबरसँग भने, ‘ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ, हामीले त्यहीअनुसार अनुसन्धान प्रतिवेदन बुझाएका छौं ।’

उनी भिडियो कसरी बाहिरिएको थियो भन्ने विषयमा चाहिँ बोल्न चाहेनन् । ‘यो प्रशासनिक कुरा हो, छानविन हुन सक्छ’, उनी भन्छन्, ‘हामी घटनाको गाम्भीयर्ता र प्रहरी महानिरीक्षकज्यूको निर्देशनअनुसार चितवन गएका थियौं, सुरुमा हाम्रो अनुसन्धान पुडासैनीको आत्महत्या हो कि कर्तव्य ज्यान भन्ने विषयमा केन्द्रित थियो ।’

उनले पुडासैनीका साथबाट बरामद मोबाइल परीक्षणका क्रममा केही शंकास्पद सबूत फेला परेको र आत्महत्यामा कुनै दुरुत्साहन छ कि भन्ने देखिएकाले अनुसन्धान गरिएको बताए । मोबाइलबाट पुडासैनीको भिडियो वयानसहित अन्य के–के प्रमाणहरु बरामद भएका थिए भन्ने विषयमा चाहिँ रेग्मी खुलेनन् ।

आरोपित र मृतकको डिजिटल कनेक्सनको खोजी

अनुसन्धानका क्रममा अधिकृतले मृतक पुडासैनी र दुत्साहन गरेको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन पनि खोतलेको थियो । पुडासैनीको भिडियो बाहिरिएलगत्तै दुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पक्राउ परेका थिए ।

ब्युरोको टोलीले लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), लोकेशन, घटना भएको समयको डिजिटल उपस्थिति लगायतका विषयमा विस्तृत विवरण केलाएको थियो । त्यसक्रममा लामिछानेको भनाइसँग रुकुको बयान भने मेल नखाएको अनुसन्धान अधिकृत बताउँछन् ।

ती अधिकृतका अनुसार, रविले अस्मितालाई नचिनेको दाबी गरेका थिए । तर, अस्मिताले भने रविसँग चिनजान भएको वयान दिएकी छन् । ‘लामिछानेजीलाई अप्ठ्यारो पर्ने खालका अन्य विषय पनि आएका छन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

यति मात्र होइन, पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत् संस्था न्यूज २४ टेलिभिजनबाट पनि अस्मितालाई पटक–पटक सम्पर्क गरेको देखिएको जनाइएको छ ।

यो प्रकरणको अनुसन्धानका क्रममा देशैभर लामिछाने समर्थकले प्रदर्शन चर्काएका थिए । जसले अनुसन्धानमा पनि बाधा पुर्याएको प्रहरी अधिकृत बताउँछन् ।

एसपी रेग्मी भन्छन्, ‘भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरेर न्यायलयबाट न्याय खोज्ने परम्परालाई कायम गर्नु आवश्यक छ ।’