‘कोपिला’ को काव्यिक बासना र अन्जनाको वांगमयिक तिर्सना

डा. देवी क्षेत्री दुलाल प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६

डा. देवी क्षेत्री दुलाल

कृतिः काेपिला
बिधाः रूवाइ महाकाव्य
लेखकः एन बी अन्जान

‘कोपिला’ को काव्यिक बासना र अन्जनाको वांगमयिक तिर्सना

थालनी

कोपिल रुवाई महाकाव्य स्रष्टाको चौथो कृति हो । यसभन्दा अघि मरुभूमिको साहित्य यात्रा ( गजलसंग्रह), आहुति (गजल संग्रह) र आधा इन्च (हाइकु संग्रह) प्रकाशित छन् । पाँचथरको  रानीटारमा जन्मिएर, रानीटारलाई नै कर्मथलो बनाइ साहित्य सिर्जनामा क्रियाशिल एन बी अन्जान युवापुस्ताको सशक्त हस्ताक्षर हुन् । अन्जान प्रयोगकर्मी स्रष्टा हुन् । नेपालकै सानाे हाइकु संग्रह आधा इन्च यसको प्रमाण हो भने कोपिला रूवाइ महाकाव्य त्यसैको निरन्तरता हो । स्रष्टाको पछिल्लो प्रयोगपरक कृति रुवाइ महाकाव्यलाई काव्यिक विवचेतना गरिनु आवश्य हुन्छ । रुवाइको जनक उमर खैयाम (१०३८–११३१) सन् पर्सिया÷ इरान) हुन् । उनले प्रतिपादन गरेको रुवाइलाई पछि आएर प्रोफेशर Edward FitzGerald (१८०९–१८८३) ले व्यापकता दिलाए । प्रोफेशर Edward FitzGerald फारसी भाषाका विद्वान थिए । उनको अनुवाइ र प्रकाशनबाट खैयामको एकाइ लोकप्रिय बन्यो । क्रमशः पश्चिमी साहित्यमा एउटा महत्वपूर्ण साहित्यिक विधाको रुपमा स्थापित भयो । यता नेपाली साहित्यिक फेरीमा भने यो विधाको बीउ धेरै पछि रोपियो । पछिल्लो समयमा कस्सीएर लागेको स्रष्टा हुन्, एन वी अन्जान । यिनले रुवाइमा महाकाव्य सृर्जेर हस्तक्षेपकारी भूमिका खेलेका छन् । यसलाई स्रष्टाकै ममतामयि आमा चन्द्रमाया भट्टराईले प्रकाशन गरिदिएर स्तुत्य काम गरेको देखिन्छ ।

अध्याय संयोजन कथावस्तु

कोपिला महाकाव्य उन्नाइस अध्यायमा संयोजित छ । जम्मा १ सय पेजमा अँटाएको काव्यलाई महाकाव्य लेखन संरचना सूत्रमा तुलना गर्दा आकार तथा पृष्ठगत रुपमा मध्यम खालको मान्नु उपयुक्त हुन्छ । रुवाइ लेखनको सास्त्रीय सूत्रलाई औसत आत्मसात गरीएको प्रस्तुत महाकाव्यको कथावस्तु सरल, सरस एवं मार्मिक रहेको देखिन्छ । यस मकहाकव्यको नायक नायिका क्रमशः संयोग र कोपिला हुन् । शीर्ष मात्र कोपिलाकै नामबाट महाकाव्यको नामाकरण गरिएको छ । संयोग रानीटारको दलित समुदायको छोरा हो भने कोपिला पनि रानिटारकै मुखियाकी छोरी हुन् । यी दुई पात्रविच १० वर्ष पहिल्यै अन्जानमा आकर्षण बढेको थियो । रातमाटे डाँडाको भेटमा यसको रहस्य खुल्छ । उनिहरुविचमा प्रेमप्रणय झागिँदै जान्छ । सँगै जीउने मर्ने प्रण हुन्छ । केही पैसा कमाएर गुजारा चलाउने सोचले संयोग विदेश जान्छ । कान्छी दोकान सुन्मिना चोकबाट कोपिलसाँग विदा भएर जान्छ । मेची राजमार्गको राके बजारमा प्रक्राउ पर्छ । माओवादी आतंककारी आरोपमा संयोग प्रहरी खोरमा पर्छ । यता गाउँमा मुखियाले आतकंकारी त्यसमा पनि आफ्नै छोरीमाथि आँखा लाउने संयोग पक्राउ परेकोमा उत्सव मनाउँछ भने उनकै छोरी कोपिला आक्रोस र विरहमा जीवउन वाध्य हुन्छिन् । अनेकन संका हल्ला र भ्रमका विच कोपिला संयोगको आगमन पर्खिरहेकै अवस्थामा एकवर्षे नेल सजाय भोगेर संयोग आइपुग्छन् । दुवैको भेट हुन्छ । निर्दोष संयोगले एक वर्षे सजाय भोग्न वाध्य हुन्छ भने अनेकन शारिरीक यातना पाउँछ ।

सो भेटपछि उनीहरु बीचमा हुर्किएको प्रेम शारिरीक सम्पर्कमा रुपान्तरण हुन्छ । कोपिला गर्मिणी हुन्छे । यो विषयले मुखियालाई पिरोल्छ । तल्लो जातको संयोगसँगको लसपसबाट आफ्नो कुल जातको अपमान भएको ठान्छ । रातेगुण्डा प्रयोग गरी संयोगलाई मार्न लाउँछ । योजना अनूरुप हेवा खोलामा रातेगुण्डाले संयोगलाई मारेर फाल्छ । संयोग बस साथीको सहयोगमा संयोग बाच्छ मर्दैन, यता मुखियाले संयोग मरिसक्यो अव अर्कै केटासँग छोरीको विहे गर्ने निधो गर्छ । कोपिला मान्दिन, प्रेमिकाको साथ दिँदै आत्महत्या गर्ने निधो गर्दै सुसाइड नोट लेखेर भुन्टिलाई दिन्छ । कोपिला पनि विरहमा बहकिएर आत्महत्या गर्न हेवाखोला पुग्छे । खोलामा हाम फाल्छे । बग्दै जाँदा संयोगले देख्छ कोपिलालाई । उसको उद्धार गर्छ । सपनामै अर्को संयोग सृजना हुन्छ । यता मुखियाको घरमा जन्तिकासाथ बेहुलाे आइपुग्छ । कोपिला हुन्न । भुन्टिले पत्र दिन्छे । हररहस्य थाहा पाउँछन् घरगाउले र जन्तीले मुखियालाई कारवाही गर्छन् । साथै संयोग र कोपिलाको खोजिमा हिवा खोला पुग्छन् । उनीहरु भेटिन्छन् । गाउलेहरुले ल्याउँछन् , कोपिला र संयोगको भव्य विवाह गरिदिन्छन् । मुखियाले पश्चाताप गर्छ । आफ्नो गल्ती स्वीकार्दै संयोगलाई ज्वाईँ स्वीकार्छ । यसरी संयोग र कोपिलाको प्रेमले पूर्णता पाउँछ । महाकाव्यको कथा अन्त्य यहिनिर पुरा हुन्छ । यस विचमा दर्जनौं पात्रको जीवन्त उपस्थिति हुन्छ । प्रस्तुत महाकाव्यको कथा सार यति नै देखिन्छ ।

पात्र चयन र चरित्र निर्माण

रुवाइ महाकाव्यको मुख्य पात्र कोपिला र संयोग हुन् । यी दुई पात्रकै वरिपरी काव्यको कथानक विकसित भएको छ । मइते, पुँवाले, रिठ्ठे, पास्हाङ, भावना, मंगली, जम्दार माइलो, बाटुली, अनिता, विर्खे, बुधराज, चाउरे, जुठे साइलो, काशी, भुन्टी, चमेली, नरमाया, पाकेली, टुल्की, प्रदिप, झाँकी कान्छो, पुवाले, गुमाने, भुपाल, भुषण, पासाङ, मकरे, फुर्वा, गम्भिरमान, रेश्मा , नेप्टी, डोल्मा, महम्मद, थुप्री, भ्यामदास, लादुपा, कालुराम, अब्दुल, मुखिया, मुखियाकी श्रीमति, पुलिस, हुलाकी, रातेगुण्डा र माझी यसको अन्य मुख्य पात्र हुन् । यस अतिरिक्त घर गाउँलेहरु र जन्ती पक्षकाहरु पनि यस महाकाव्यको सहायक पात्र हुन् । यस्तै कथानक विकासको सूत्रधारको रुपमा भनाइ (उद्घोष) पात्रको सामेल भएको देखिन्छ । लिंगीय र नश्लीय रुपले समान पात्र चयन भएको पाइन्छ भने हिन्दी भाषी पात्रलाई समेत उभ्याइएको छ । अधिकांश पात्रको नाम मौलिक गाउले प्रकारका छन् । तिनको नामले हाम्रै गाउवेसीको सुवासना मगमगाउँछ पाठकको प्राण अंगमार राते गुण्डा, मुखिया, मुखियाकी श्रीमति र पुलिस बाहेकका सबै पात्र समेत छन् । उनीहरुले अग्रगतिको साधना बोकेका छन् । सबैलाई स्रष्टाले रुवाइको बक्ता बनाएका छन् । स्रष्टाले यस मानेमा पात्र चयन र चरित्र निर्माणमा न्याय गरेको पाइन्छ ।

परिवेश

कथावस्तु जसरी सरल, सहस र मार्मिक छ त्यसरी नै महाकाव्यको काव्यिक परिवेश पनि सामान्य र सहस छ । रानिटार गाविसको चारदिशा, आन्तावा, फेमे खोलाको शिरदेखि हवाको तिर सम्म काव्यका पात्रहरु खेल्छन् । रानिटारको चारसीमा नाघेर फिदिम र राँकेसम्म पुग्छ संयोग । विदेश गएर पैसा कमाउने धुन पूरा हुँदैन संयोगको । रानिटारको सुरम्य गाउँले वातावरण, त्यहाँको सामाजिक, साँस्कृति, धार्मिक, साहित्यिक एवं राजनीतिक चित्र नै काव्य सृजनाको मूल परिवेश हो । अन्तर जातीय प्रमेप्रसंगबाट उठान भएर त्यसको पूर्णतामा कथानक सद्धि……… लागे पनि नेपालमा भएको ससस्त्र जनयुद्धको विम्वचित्र पनि यसमा प्रष्टिएका छन् । काव्यका पात्रहरुले द्वन्द्वजन्य घात अविघातबाट आहान भउका छन् । यसरी एउटा गाउँको परिवेशलाई उठान गरिएका काव्य सृजना भए पनि यसले नेपालको आम पहाडि परिवेश र त्यहाँको जनजीवनलाई प्रतिनिधित्व गरेको छ । स्रष्टा स्वयंले भोगेको सामयिक परिवेशलाई काव्यमा सरल रुपमा आत्मासाथ गरिएको छ । यसलाई स्रष्टा परिवेश निर्माणमा अपनाएको सचेतनाको रुपमा बुझ्नु उपयुक्त हुन्छ ।

सैद्धान्तिक पक्ष

महाकाव्य लेखनको शास्त्रीय सूत्रका आधारमा हेर्दा प्रस्तुत महाकाव्य अपनाइएको काव्य सूत्रमा खासै भन्निता देखिदैन । महाकाव्य हुनैपर्ने तथ्य हो अनुप्रासका प्रयोग मिलन र सरल समरुपता । अर्थात महाकाव्य अनुप्रासयुक्त हुनुपर्छ । छर, कोपिला महाकाव्य रुवाइ महाकाव्य हो । रुवाइका हरेक पंक्ति चारहरफ या चार पंक्तिमा सीमावद्ध हुन्छ । तर, रुवाइको तेश्रो पंक्तिमा अनुप्रास भत्किएको हुन्छ । पहिलो, दोश्रो र चौथो पंक्तिामा मात्रै अनुप्रास मिलेको हुन्छ । यस दृष्टिले हेर्दा सनातन महाकाव्य लेखनको सामेलीमा यो अपवाद हुनसक्छ । तथापी रुवाइ लेखन संरचना र सिद्धान्तको दृष्टिले सही हुन्छ । सबै अध्यायको हरेक पंक्तिको तेश्रो पंक्तिमा अनुप्रास मिलेको छैन, भत्किएको छ । यस अतिरिक्त साहित्यका थुप्रैवाद स्थापित छन् । प्रगतिवाद, विसंगतिवाद, अस्तित्ववाद अनेकानेक । त्यस्ता बादको आलोकमा राखेर हेर्दा कोपिला रुवाइ महाकाव्य निसंगतिपरक अस्तित्व वादमा आधारित छ । हरेक वस्तु र व्यक्तिको अस्तित्वलाई साहित्य लेखनमा अस्तित्ववादले मानेको हुन्छ । यसको साथसाथै काव्यले, समानता, अग्रगति र परिवर्तनको अवकालत गरेकाले, जातीय, लिंगीय समानताको पक्षमा अधिकांश चरित्र रहेकाले र अन्त्यमा काव्यका नायक नायिकको लक्ष्य पुरा भएका कारणले प्रगतिवादले प्रगतिवादको चरित्र समेत मिसिएको छ । यस दृष्टिले यो महाकाव्य प्रगतिवादी सृजना हो र प्रगतिवादी स्रष्टाको कित्तामा स्रष्टा स्वयं उभिन पुगेका छन् ।

विसंगती र कमजोरी पक्ष

हरेक सृजनाको सवलपक्ष सँगै त्यसका दोस र कमजोरी पक्ष अन्तरनीकृत हुन्छन् । केही विसंगति र आलोच्य पक्षहरु रहेका हुन्छन् । त्यसलाई स्रष्टाको सृजनागत व्रुटीको रुपमा भन्दा द्रष्टाको दृष्टिले सुधार गर्नु आवश्यक हुन्छ । अर्थात् सकारात्मक सोचका साथ खोट देखाउनु समालोचकीय धर्म ठहरिन्छ ।

यहाँ कथाको सूत्रधारलाई उद्घोष भनिएको छ । भाषिक सुद्धताको दृष्टिले उद्घोषक भन्नु उपयुक्त हुन्छ हाेला । अर्को आलोच्य पक्ष भनेको कथानकमा नाटकीयता हावी हुनु हो । कथानक अघि बढ्दै जाँदा कोपिला र संयोगको विचमा थुप्रै नाटकीयता सृजना हुन्छ । महाकाव्यमा नाटकीयता थोरै र विषयको गम्भीरयता धेरै भएको देखिन्छ । यस अतिरिक्त सय वर्ष पहिले दलित र गैर दलित विचको विवाह एउटा क्रान्ति हुन्थ्यो, त्यस्तै तत्कालिन मुल्यमान्यताको उलंघन पनि । काव्यकारले यसलाइ सरल र सहज रूपमा प्रस्तुत गरेका छन् । सारतः यस महाकाव्यको विसंगति र कमजोरी यज्ञ यस्तै भेटिन्छ ।

निश्कर्ष

प्रस्तुत कोपिला रुवाइ महाकाव्यलाई नेपाली साहित्यको काव्य भण्डारमा थपिएको एउटा दरीलो इटाको रुपमा मान्नुपर्छ । रुवाइमा लेखिएको महाकाव्यको हिसाबले सायदै छचल्किएको हुन्छ । फेमे र आन्तावाको खोला जस्तै सुसाउँदै, हल्ला गर्दै नरिन्तर तिमोरनदी भेट्न दौडिइरहेको भान हुन्छ । सृजनागत सामिप्यतामा हेर्दा कोपिला रुवाइ महाकाव्य अटल बहादुर नाटक र मुनामदन खण्डकाव्यसँग नजिक देखिन्छ । सारतः कमजोरी भन्दा सबल पक्ष धेरै भएको काव्य हो कोपिला । काव्य पढ्ने हरेक पाठकको मनमस्तिस्कमा केही प्रभाव छाड्न सक्ने सामर्थ्र्य राख्छ काव्यले । यो काव्यकारको काव्यिक सौर्य र सौन्दर्य दुवै हो । प्रस्तुत काव्यको साथ उभिएको एन वी अन्जान वर्तमान समयको आसलाग्दो स्रष्टा हुन् यो पनि सत्य हो ।