अत्याधुनिक ट्राफिक बत्ती, नेपाली विशेषज्ञबाटै तयार पारे

प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६

काठमाडौं : राजधानीमा नेपाली विशेषज्ञद्वारा तयार पारिएको अत्याधुनिक ट्राफिक बत्ती जडान गर्न थालिएको छ । ११ इन्जिनियरले लामो प्रयासपछि ट्राफिक लाइट तयार पारेका हुन् ।
अहिले यस्तो प्रविधिको लाइट काठमाडौंका टंकेश्वर, परोकार क्षेत्र र ललिपुरको महापाल क्षेत्रमा जडान गरिएको छ ।

निर्माता संस्था तन्त्र भेन्चर्सका प्रदीप श्रेष्ठ यस्तो ट्राफिक लाइटमा हालसम्मको नयाँ प्रविधिको प्रयोग गरिएको बताउँछन् । उनका अनुसार नेपालमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स प्रयुक्त सो ट्राफिक लाइटमा एडभान्स इन्टिग्रेटेड सिस्टम जडान गरिएको छ ।

अहिलेसमेम नेपालका सडकमा विदेशीले निर्माण गरेका ट्राफिक लाइट राखिएकाले ती लाइट मर्मत गर्न विदेशी नै आउनुपर्दा खर्चिलो हुन्छ। तर नेपालमा तयार पारेको लाइट यहीं मर्मत गर्न सकिन्छ ।

‘यसमा ट्राफिक लाइट मात्र नभएर सवारीको संख्या गणना गर्ने तथा सवारीको वर्गीकरण गर्ने सिस्टम पनि जडान गर्न सकिन्छ,’ श्रेष्ठ भन्छन्, ‘कन्ट्रोल रुपमै बसेर सडकमा कतिवटा गाडी छन् । कुन प्रकारका गाडी छन् थाहा पाउन सकिन्छ ।’

निश्चित दूरीसम्म सवारीको गति थाहा पाउने सिस्टम तथा रेड लाइट उल्लंघन गर्नेको पहिचान गर्ने सिस्टम पनि यसमा थप गर्न मिल्ने श्रेष्ठ बताउँछन् । ‘रिमोट कन्ट्रोलबाट सञ्चालन गर्न मिल्ने यो लाइटको प्रणालीमा आएका डाटालाई अनलाइनबाटै सर्भरमा सेभ गर्न सकिन्छ,’ उनी भन्छन्।

नयाँ नेपाली ट्राफिक लाइट भित्री सडकको ट्राफिक समस्या न्यूनीकरण गर्न विभिन्न स्थानमा ट्राफिक लाइट राखिने भएको छ।

राजधानीको सदैव जाम हुने स्थान मध्ये एक हो, भीमसेनस्थान–टंकेश्वर चोक। कालीमाटी, छाउनी, डल्लु तथा भित्री काठमाडौंबाट आउने सवारीको सो स्थानमा भेट हुन्छ।

सवारी चापले जाम भइरहने सो सडकको ट्राफिक समस्या न्यूनीकरण गर्न भीमसेनस्थान–टंकेश्वर चोकमा ट्राफिक लाइट जडान गरिएको छ। सौर्य ऊर्जाले चल्ने यो लाइट आगामी केही दिनमा ट्राफिक प्रहरीलाई हस्तान्तरण हुनासाथ सञ्चालनमा आउनेछ।

परोपकारतर्फ २० वटा तथा टंकेश्वरतर्फ २० वटा गरी ४० वटा ट्राफिक लाइटका पोल गाडिएका छन्। तीनमा ४ वटा मुख्य ट्राफिक लाइट हुन् भने ६ वटा जेब्रा क्रसिङका संकेत लाइट हुन्।
ट्राफिक लाइट राख्न प्रदेश सांसद विराजभक्त श्रेष्ठले प्रदेशस्तरबाट पहल गरेका हुन्।

‘मैले संसद्मा ट्राफिक लाइट राख्ने कुरा गर्दा सबैजना हाँसे,’ उनी भन्छन्, ‘व्यवस्थापन पनि विकास हो भन्ने बुझाइ विकास भएको छैन। सडक दुर्घटनाका कारणले दैनिक मान्छे मरिरहेका छन् तर कसैले यसतर्फ ध्यान दिएकै छैनन्। सडकको असुरक्षाले गर्दा बेथिति बढिरहेको छ। सडक सुरक्षा पनि त विकास हो।’

उनले संघीय सरकारले यस्ता विषयलाई सानोतिनो भनेर वास्ता नगरिरहेको र स्थानीय सरकार आफ्नै नियमित काममा अल्झिरहँदा यो समस्यालाई हेर्ने निकाय नै नभएसरह भएको बताए।
टंकेश्वर क्षेत्र सडक व्यवस्थापन उपभोक्ता समितिका संयोजक तेजेन्द्र श्रेष्ठले प्रदेश सांसद विराजभक्त श्रेष्ठको विशेष पहलमा ट्राफिक लाइट जडान गरिएको बताए।

उनका अनुसार तन्त्र भेन्चर्सको प्रविधि र नेपाल सरकारको लागतमा बनेको अत्याधुनिक ट्राफिक प्रणालीले सडक अनुशासन कायम बन्नेछ।

महापालमा पिपिपी मोडेलमा

तन्त्र भेन्चर्सले ललितपुरको महापालमा पनि ट्राफिक लाइट राख्न ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ।

साँघुरो सडक तथा कार्यालय समयमा व्यापक सवारी चाप हुँदा महापालमा बिहानबेलुका जाम हुन्छ। ‘ट्राफिक लाइट राखेपछि पक्कै पनि अवस्थामा सुधार आउनेछ,’ श्रेष्ठले भन्छन्।
महापालमा सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडेलमा ट्राफिक लाइट राखिन लागेको हो।

यस मोडेलमा पहिलोपटक लाइट राख्ने काम हुन लागेको श्रेष्ठले बताए। यसका लागि ललितपुर महानगरपालिकाको वडा नम्बर १६ सँग सम्झौता भइसकेको छ।
ललितपुर महानगरपालिका वडा– १६ का अध्यक्ष निर्मलरत्न शाक्ले महापाल क्षेत्रमा सवारी व्यवस्थापन सहज बनाउन यन्त्र भेन्चर्ससँगको सहकार्यमा ट्राफिक लाइट जडान गर्न लागिएको बताए।

उनले अत्याधुनिक सिस्टमको ट्राफिक लाइटका कारण सडक अनुशासन कायम हुने विश्वास व्यक्त गरे।

दुर्घटना न्यूनीकरणको आशा

राजधानी उपत्यकाका मुख्य सडकमा नै सडक सुरक्षाका लागि अनिवार्य मानिने ट्राफिक बत्ती तथा ट्राफिक संकेत रेखा तथा चिह्न राखिएको पाइँदैन। भित्री सडकमा ट्राफिक लाइट राखिए पनि प्रभावकारी कार्यान्वयन हुनेमा शंका रहेको स्थानीय बताउँछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेलका राजधानीमा दैनिक ट्राफिक उल्लंघनका दुई हजार घटना हुने गरेका छन्।

आइतबार र शुक्रबार बढी उल्लंघनका घटना हुने गरेको उनले बताए। सार्वजनिक बिदाका दिन भने ट्राफिक उल्लंघनका घटना ५० प्रतिशतले कमी हुन्छ।

ट्राफिक लाइटको व्यवस्थापन नहुँदा पनि सवारी नियम उल्लंघनका घटना बढेको ट्राफिक प्रहरीको तथ्यांक छ।

देशभर दैनिक हुने सडक दुर्घटनामा आठ जनाको मृत्यु हुने गरेको छ। उपत्यकामा पनि दुर्घटनाको संख्या बढ्दैछ।

के हो इन्टिलिजेन्ट ट्राफिक सिस्टम

लामो अनुसन्धानपछि स्वदेशी सडकलाई सुहाउँदो अन्तर्राष्ट्रिय स्तरको इन्टिलिजेन्ट ट्राफिक सिस्टम विकास गरिएको हो। जसमा विभिन्न किसिमका अत्याधुनिक सेन्सर इन्टिग्रेट गरी सञ्चालन गर्न सकिन्छ।

सडकमा रहेका सवारी साधन गणना गर्न सकिने
सवारीको गति पत्ता लगाउन सकिने
रेड लाइट ट्राफिक नियम उल्लंघन पहिचान
गाडीको चापको पहिचान
गाडीको संख्याका आधारमा लाइट सञ्चालन
रिमोट कन्ट्रोलबाट सञ्चालन
अनलाइन अनुगमन गर्न मिल्ने

​​​​​​​यो सिस्टम ट्राफिक कन्ट्रोल रुमबाट सहज रूपमा सञ्चालन गर्न सकिने तन्त्र भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई छ । यो प्रविधिलाई सहरका हरेक चोकमा राख्ने तयारी भेन्चर्सको छ ।