त्रिभुवन विमानस्थलमा नयाँ नीति

नहकुल खड्का प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६

काठमाडाैंः अब त्रिभुवन विमानस्थलभित्र सम्माननीयहरुका लागि मात्र सवारी साधन लिएर जान सक्ने सुविधा राखिने भएको छ । भीआइपी मुभमेन्टमा रहेको अस्तव्यस्ततालाई हटाउन नयाँ मापदण्ड बनाउने घोषणा पनि मन्त्रालयले गरेको छ । २ महिनाभित्र नयाँ मापदण्ड बनाएर लागु गर्ने बताइएको छ ।

विमानस्थल भित्रका पसलबाट उपलब्ध हुने फूड एण्ड वेभरेजको मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गर्ने समेत निर्णय मन्त्रालयले गरेको छ । त्रिभुवन विमानस्थलमा ३० मिनेटभित्रै ब्यागेज क्लियरेन्सको व्यवस्था मिलाउने र विमानस्थलभित्रका भद्दा विज्ञापन हटाउने निर्णयसमेत मन्त्रालयको छ । त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालनको घोषणासमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका छन् । यसका लागि वायुसेवा कम्पनीहरुसँग छलफल गरिने उनको भनाइ रहेको छ ।

नेपाल एयरलाइन्सको समग्र व्यवस्थापन सुधारलाई तिब्रता दिने बताएको मन्त्रालयले निगमको सुधारका लागि के गर्ने भन्ने चाहीँ खुलाएको छैन । यसैवर्ष निगमको उडान चीनको ग्वाङझाउ र साउदी अरेवियाको रियादमा गर्ने योजना सार्वजनिक गरिएको छ । निगमका सबै जहाज संचालनमा ल्याउने, कार्यक्षेत्र बढाउने, सबै प्रकारका टिकट अनलाइनबाटै बिक्रि गर्न सक्ने बनाउने योजना समेत समेटिएको छ ।

निगमलाई ५ वटा नयाँ सटल बस खरीद गरी विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवालाई स्तरीय बनाउने योजना रहेको छ । उडान रद्द वा ढिलाइ हुने भए कम्तीमा २ घण्टा अगाडी नै यात्रुलाई त्यसको जानकारी गराउने योजना समेटिएको छ ।