रवि लामिछानेको जीवनको आरोह अवरोह

प्रकाशित मिति : बुधबार, भदौ ११, २०७६

सेप्टेम्बर ५ सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए ।

गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः

रवी लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए ।

विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।

इशा र छोरीसँग अमेरिकामा रम्दै रवि

रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।

रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए ।

रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।

२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।

निकितासँग रविको विवाह

रवि लामिछाने जोखिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।

रविले “सिधा कुरा जनता सँग” भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आएका छन् । यो कार्यक्रम लोकप्रिय छ । यस शो मार्फत, उनले समाज, देश र व्यक्तिहरू सम्बन्धी वास्तविक तथ्यहरू देखाएर सरकारी निकाय र मानिसहरूलाई सचेत र सतर्क गराउँदछन् । कार्यक्रमका कतिपय विषयवस्तु विवादमा पनि आउने गर्छ ।

जासुसी तरिकाले खोजी समाचार पस्केर रविले धेरैको ध्यानाकर्षण गराए । मूलधारको पत्रकारिताभन्दा भिन्न शो चलाएर रवि धेरैका प्रीय भए । बहुमुखी प्रतिभा भएका रवि गीत लेखनमा पनि सुनिएको नाम हो । उनको लोकप्रीय गीतहरु नविन भट्टराई र रामकृष्ण चित्रकार जस्ता कलाकारले गाएका छन् ।

यो वर्ष रवि लामिछानेका लागि चुनौतीपूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आ-त्म-ह-त्या गर्नु अघि भिडियो बाहिर आयो । जसमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गरेको भनिएको छ । यसैका आधारमा प्रहरीले तीनैजनालाई आ-त्म-ह-त्याको दुरुत्साहनमा पक्राउ गर्यो । रवि लामिछाने पक्राउ घटनाले देशभित्र र बाहिर समेत चर्चा पायो । रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्न आदेश दियो । उनी नायकको शैलीमा हिरासतबाट निस्किए ।

लामिछाने लोकप्रीय रेडियो पत्रकार हरिशरण लामिछानेका दाजु हुन् । हरिशरणको आवाज धेरैका लागि परिचित नै छ । रविको नाम चर्चामा आएको केही वर्षमात्र भएको छ । हरिशरणले रवि अप्ठ्यारोमा पर्दा खुबै साथ दिए । उनले अभिभावकका रुपमा भाईका लागि योगदान पुर्याए ।

सरकार र दलहरु किन सुन्न चाहँदैनन आलोचना ?

पछिल्लो समय सरकार, राजनीतिक दल तथा शिर्ष नेताहरु आलोचनाबाट डराउन थालेका छन् । सरकारले विभिन्न विधेयकमार्फत नागरिकका अभिव्यक्ति नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लागिरहेको छ ।प्रमुख राजनितिक दलहरुले आफ्नै नेता कार्यकर्ताहरुलाई आलोचनात्मक टिप्पणी नगर्न निर्देशन दिन थालेका छन् । यसले जनता मुद्दा बोल्न मुख बन्द गराउन खोजिएको आभास मिल्न थालेको छ ।

नेपालको सविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रदान गरेको छ । संविधानको भाग तीनमा रहेको मौलिक हकमा स्वतन्त्रताको हक पनि समावेश छ । स्वतन्त्रताको हकअन्तरगतको बुँदामा विचार र अभिव्यक्तिको स्वतन्त्रता उल्लेख छ । कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनिएको छ ।

तर पछिल्ले समय संविधानको यो व्यवस्थाको ख्याल गर्न छोडेको अनुभूति हुन थालेका छ । सरकारले मिडिया काउन्सिल विधेयक र सुचना प्रविधि विधेयकमार्फत अभिव्यक्तिको स्वतन्त्रतालाई खुम्च्याउने प्रयास गरेको आरोप लागिरहेको छ ।जनताको अपेक्षाअनुसार काम गर्न नसकेपछि आलोचना त बढ्ने नै भयो । त्यही आलोचना सुन्न नचाहेर कडा नियम लाद्न खोजिएको आरोप नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको छ ।

सत्तारुढ दल नेकपाको मंगलबार बसेको सचिवालय बैठकले पार्टीभित्रका नेता कार्यकर्ताका बारेमा सार्वजनिक टिका टिप्पणी नगर्न कडा निर्देशन दिएको छ । त्यसो गरे तत्काल स्पष्टीकरण लिएर कारवाही गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

यसअघि नेपाली कांग्रेसले पनि पार्टीको आन्तरिक किचलो बढाई चढाई गरी बाहिर सार्वजनिक हुने गरेको भन्दै जथाभावी अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिएको थियो । यसरी सरकार, सत्तारुढ दल र प्रतिपक्षी दल नै आलोचनाबाट टाढा हुन चाहनु अलोकप्रियताको नतिजा मान्छन् फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल ।

जनताको हितमा काम गर्न नसक्ने तर त्यसैको नतिजा स्वरुप देखिन थालेको आलोचना भने नियन्त्रण गर्ने सरकार तथा दलहरुको यो प्रवृत्ति अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणसम्म नपुग्ला भन्न सकिन्न ।न संविधानको मर्म न व्यवहारिक पाटो । केवल आफ्नो आलोचना सुन्न नचाहने प्रवृत्तिले जनताको अधिकार खोसिने त होइन ?प्रश्न उठेको छ ।