ऐतराज केरुङ पुरस्कार प्रेम ओझालाइ

नरेन्द्र भट्टराइ प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

पाँचथर : १५४ औं मोतीजयन्ती, सातौं ऐतराज केरुङ स्मृति गजल पुरस्कार वितरण समारोह, गजल लेखनबारे विमर्श तथा ‘शब्द श्रृङ्खला–८’ (गजल मेहेफिल) भब्यतापूर्वक सम्पन्न भएको छ । सातौं ऐतराज केरुङ गजल पुरस्कारद्वारा कवि तथा गजलकार प्रेम ओझा पुरस्कृत भएका छन ।

शुक्रबार फिदिम स्थित उधोगवाणिज्य संघको सभाहलमा सन्देश सुब्बाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमविच प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले पुरस्कार वितरण गरेका थिए । पाँचथर गजल मञ्चले वार्षिक रुपले वितरण गर्दै आएको गजल पुरस्कार पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ, लेखक सागर केरुङ,श्रीमती बिष्णुमाया आङ्देम्बे,छोराहरु बिमल, बीरबल, सागर, मधु, र छोरीहरु निर्मला, गंगा, रोनि लगायत स–परिवारले आफ्ना दिवांगत पिताको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरेका हुन् ।

पुरस्कारको राशि सम्मान–पत्र सहित पाँच हजार पाँच सय ५५ रुपैंयाँ रहेको छ । उक्त कार्यक्रम संगै १५४ औं मोतीजयन्तीको अवसरमा “नेपाली गजल लेखन हिजो, आज भोली” बिमर्श र शब्द श्रृङ्खला–८ बिशेष गजल वाचन श्रृङ्खला समेत सम्पन्न भएको छ । बहसमा सह-प्राध्यापक लक्ष्मी ढुंगाना,कवि सगुन सुसारा र मधु केरुङ थिए भने राज दिलाञ्जलीले सहजीकरण गरेका थिए । गजल मेहेफिलमा तिर्थकुमारी वाइबा,राधा स्मृति,रेशन त्यागी,गजेन दासी,अनिल त्रीखत्री,नारायण तुम्बापो,गणेस साम्पाङ र बिनोद चौहान रहेका थिए । उक्त समाराेहमा गजलकार धनपति कङगालको गजल कृति “कलमको युद्ध” र शान्ता गाैतमकाे वालकथा संग्रह ‘पानी र जमीन’ समेत विमाेचन भएको गजल मञ्चकी सचिव जुनु खतिवडाले बताइन् ।