पत्रकार हमालको रिहाइको माग गर्दै कास्की शाखाद्वारा प्रशासन कार्यालयमा धर्ना

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६

कास्की : पोखराबाट संचालित जनसंचार डटकमका सम्पादक ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।

शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ नेतृत्वमा गएका पाेखरामा क्रियाशील पत्रकारहरुले बुधबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि सीडीओलाई ज्ञापनपत्र बुझाएका छन् । पत्रकार हमाललाई सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरेको र झुठा आरोव लगाएर फसाउने नियत राखेको भन्दै आपत्ति जनाएका छन् । सम्पादक हमाललाई तत्काल रिहाईको माग गरेका छन् ।

राज्यले प्रेस स्वतन्त्रमाथि निरन्तर हस्तक्षेप र हतोत्साहितका कदम चालिरहेको भन्दै खेद व्यक्त गरिएको छ । ज्ञापन पत्रमा सर्वोच्च अदालतको आदेश पालना गर्न र पत्रकार ओम हमाललाई रिहा गर्न आग्रह गरिएको छ । हमाल नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य हुन् । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डकी–धौलागिरी संयोजक समेत हुन् ।

पत्रकार हमाललाई समाचार संकलनकै क्रममा भदौ ६ गते पोखराको शिशुवा बजारबाट गिरफ्तार गरेर राजद्रोहको अभियोग लगाइएको छ । तर सो अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि सुनुवाई गर्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र केदारप्रसाद चालिसेलेको संयुक्त इजलासले आदेश दिएको थियो ।

तर आदेशमा रिहा भएलगत्तै सर्वोच्च गेटबाटै पत्रकार हमाललाई बेलुका साढे पाँच बजेतिर पुनः गिरफ्तार गरेको थियो । गिरफ्तारपछि संचार क्षेत्र आन्दोलित हुने क्रम जारी छ । जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले मंगलबारै एकप्रेस विज्ञप्ति जारी गर्दै गिरप्mतारीको निन्दा गरेका छन् । संविधान प्रदत्त प्रेस स्वतन्त्रलाई कुण्ठित गर्ने कार्य सरकारबाटै भएको भन्दै त्यसलाई रोकेर संविधानको सम्मान गर्न र पत्रकार हमाललाई ससम्मान तुरुन्त रिहा गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेका छन् ।

तस्बिर: इआदर्श