मेलम्चीमा झडप, चार प्रहरी घाइते

प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदुर र प्रहरीबीच झडप भएको छ । बिहिबारदेखि मुहानमा धर्ना र आन्दोलनको शुरु गरेका मजदुरहरुलाई हटाउने क्रममा झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ ।

झडपमा दुई प्रहरी र दुई आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए । झडपमा प्रहरीबाट ६ राउण्ड अश्रु ग्यास तथा २ राउण्ड हवाइ फायर भएको छ ।

आन्दोलनकारीले सुरक्षाकर्मीतर्फ ढुङ्गामुढा प्रहार गरेका छन् । उनीहरुले मेलम्ची आयोजनाको सवारी साधनमा क्षति पुर्याउन थालेपछि नियन्त्रण गर्ने क्रममा अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए । तोकेको घेरा नाघ्न खोजेपछि भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरिएको हो ।

अम्बाथानमा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी, प्रदेशसभा सदस्य लगायतको टोलीसहित एकैपल्ट जाने भनिएपनि आन्दोलनकारीले पर्खन नसक्ने भन्दै ढुङ्गामुढा प्रहार गर्न शुरु गरेपछि झडप भएको हो । ढुङ्गा प्रहारबाट चार प्रहरी घाइते भएका छन् ।