बिजय गच्छदार भन्छन् : कांग्रेस समायोजन नभइ जागरण अभियान हुदैन

प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६

काठमाडाैंः नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु हुन अगाडि नै पार्टी समायोजनको काम पूरा गर्नुपर्ने माग गरेका छन् । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार नेपाली कांग्रेसले जागरण अभियानको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपसभापति गच्छदारले तत्कालीन लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरूलाई समायोजन गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टी समायोजनका विषयमा सभापति शेरबहादुर देउवा आफू गम्भीर रहेको बताउँदै छलफलका लागि बोलाएको जानकारी दिए । सभापति देउवाले तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसको दोस्रो चरणको अभियानमा घुलमिल बनाउन गृहकार्य गर्दै आएका छन् ।

‘सभापतिज्यूले नै आजै पार्टी समायोजनका बारेमा छलफल गर्न बैठक बोलाउनुभएको छ’, उनले भने, ‘सहमतिबाट सबै कुराहरू अगाडि बढेका छन् । लोकतान्त्रिक फोरमलाई पनि अभियान शुरु हुनुभन्दा अगाडि समायोजन गरिनेछ ।’उपसभापति गच्छदारले अहिलेको तयारी हेर्दा छिट्टै समायोजन प्रक्रिया टुंगिने आफूले देखेको बताए । दोस्रो चरणको अभियानलाई सफल बनाउने सबैको दायित्व रहेको बताएका गच्छदारले भने, ‘पार्टीलाई एक ढिक्का र समायाजन गरेर अगाडि बढ्दा नै एकताको सन्देश जान्छ ।’

महामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवाले दोस्रो चरणको कार्यक्रमका लागि प्रतिनिधि बनाउन तत्कालीन लोकतान्त्रिकका नेताहरूको नाम माग गरेको जानकारी दिए ।

‘तत्कालीन लोकतान्त्रिक पार्टीका साथीहरूको नाम सभापतिज्यूले माग्नुभएको छ’, महामन्त्री खड्काले भने, ‘दोस्रो चरणको जागरण अभियानमा प्रतिनिधिका रुपमा खटाइनेछ ।’

०७४ को प्रतिनिधि सभा निर्वाचनका बेला तत्कालीन लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा समायोजन गर्ने सहमति भएको थियो । तर, लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरूलाई दुई वर्ष भइसक्दा पनि नेपाली कांग्रेसमा समायोजन गरिएको छैन । लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरूलाई समायोजन गरेर नेपाली कांग्रेसमा काम दिनुपर्ने माग उठ्दै आएको छ ।