बलात्कार र हत्याका दोषीलाई आजीवन जेल राख्न आदेश

प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

दस वर्षीया बालिकाको सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको छ ।

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको हो ।

२०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई स्थानीय मुखिया र पण्डितले प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । मुलुक अपराध (संहिता) ऐन २०७४ ले बलात्कार र हत्या गर्नेविरुद्ध कडा सजायँको व्यवस्था गरेको छ ।